सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
यात्रा संस्मरण:
यात्रामा रमाउनु मेरो रूचिको विषय हो। देशभित्र होस् वा देशबाहिर, यात्रामा निस्किँदा मन निकै प्रफुल्लित हुन्छ। स्कुल पढ्दा अरू बेला हामी प्रायः अध्ययनमै व्यस्त हुन्छौँ। खासगरी दसैँ र तिहर बेला लामो बिदा हुने भएकाले हामी स्वच्छन्द भएर यात्रामा निस्किने गर्छौ।
यसरी फुर्सदमा गरिएको यात्राले नयाँ अनुभूति गराउँछ, नयाँ-नयाँ स्थानको चिनारी दिन्छ। देश दर्शन गराउँछ। चाडबाडको छुट्टिमा परिवारसँग निस्किन पाउँदाको आनन्द झन् बेग्लै हुन्छ।
असोज महिनाको समय। नेपालीहरूको महान चाड विजया दशमी पनि नजिकिँदै आइरहेको थियो। दसैँमा झापा जाने कि पोखरा भन्ने विषयमा निर्णय भएको थिएन। परिस्थिति अनुकूल नभएकाले यसपालिको दसैँ काठमाडौँमै मनाउने भइयो भनेर म निराश भएको थिएँ।
दसैँको बेला सहरमा भन्दा गाउँमा धेरै रमाइलो हुने कुरा मलाई राम्ररी बोध भएको थियो। यस वर्ष त्यो अविष्मरणीय रमाइलो अनुभव गर्न पाउदिनँ होला भनेर उदास भएर बसेको थिएँ। तर आमाले महाअष्टमीको दिन बिहानै झापाको लागि काठमाडौँबाट छुट्ने भन्ने कुरा सुनाउनु हुँदा म मक्ख परेँ। झापामा हुनुभएको आमा मलाई देखेपछि हुरूक्क हुनुहुन्छ। धेरै समयपछि हजुरआमाको हातको टिका निधारमा टल्लक टल्काउन पाइयो भनेर म प्रसन्न भएँ।
तीब्र प्रतीक्षा गरिएको महाअष्टमीको दिन पनि आयो। हामी झापाको यात्रा प्रारम्भ गर्न थाल्यौँ। यात्रा गर्न म निकै उत्साहित थिएँ। खासमा म घरबाट यात्राका लागि जता निस्किँदा पनि उत्साहित हुन्छु। यो उत्साह अलि फरक खालको थियो। बिहानको ८ बजे म, मेरी दिदी र आमा झापाका लागि छुट्यौँ। हामी सिन्धुलीको रमाइलो बाटो हुँदै झापा जान लागेका थियौँ। यस बाटोबाट झापा पुग्न सामान्यतया १४–१५ घन्टा लाग्छ। हाम्रो यस यात्रालाई भने लगभग १९ घन्टा नै लाग्यो।
महाअष्टमीको दिन त बाटोमा ट्राफिक जाम त्यति नहोला भनेको त कोटेश्वरको जामले नै हामीलाई रोकिदियो। कोटेश्वरको जाम त सुरूवात मात्र रहेछ। त्यसको असर त बनेपा र धुलिखेलसम्मै परेको रहेछ। हामी घरबाट कोटेश्वर लगभग ४० मिनेटमा पुग्यौँ। हामीलाई कोटेश्वरबाट बनेपासम्म पुग्न २–३ घन्टा नै लाग्यो।
गाडी अगाडिको सिटमा बसेकाले घाम मेरो छाती र मुखमा पर्यो। २–३ घन्टा त्यसरी बस्दा त मलाई पसिनाले फिटफिटी पार्यो। गाडि बिस्तारै गुड्दै धुलिखेल पुग्यो। धुलिखेलसम्म पुग्दा त जाम हल्का खुलेको थियो। बिहानै ८ बजे चिया र बिस्कुट खाएर हिँडेको धुलिखेलसम्म पुग्दा त हामी साह्रै भोकाइसकेका थियौँ। धुलिखेलको एउटा होटलमा हामी रोकियौँ र पेटपूजा गर्न थाल्यौँ। तातो भात र मासु खाएपछि बल्ल शरीरमा ताकत भरिएजस्तै भयो।
धुलिखेलबाट हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो। धुलिखेलबाट छुट्दा सायद एक बजेको थियो होला। धुलिखेलबाट त जाम खुल्यो होला भनेको त थोरै अगाडि मात्र जाँदा जाम फेरि सुरू भयो। काभ्रे भञ्जयाङसम्म हाम्रो गाडी बिस्तारै गुड्दै पुग्यौँ। काभ्रे भञ्जयाङको बाटोमा सेल्फी डाँडा भन्ने ठाँउ रहेछ। धेरैले फोटो खिच्ने भाइरल ठाउँमा हामी पनि एकछिन नरोकिने कुरै भएन। केहीबेर आराम गरेर हामीले यात्रा कायम राख्यौँ। त्यहाँबाट छुट्दा लगभग तीन बजेको थियो होला।
काभ्रे भञ्जयाङबाट रमाइलो स्थान पात्लेखेत हुँदै हामी भकुण्डेबेसीको एउटा पेट्रोल पम्पमा रोकियौँ। त्यहाँ गाडीमा डिजेल हाल्यौँ। फेरि बाटै बाटो अगाडि सुइकियौँ। ४ बजिसक्दा पनि हामी पहाडमै थियौँ। सिन्धुली पुगिसकेका थिएनौँ। यात्राका दौरान देखिएका प्राकृतिक सौन्दर्य र विभिन्न मानिससँगको संवादले हाम्रो यात्रालाई बल्ल रोमाञ्चक र उत्साहपूर्ण बनाउँदै लगेको थियो।
तलतल कोशी र तामाकोशीको सुन्दर दृश्य आँखामा आएर ठोकियो। ती दुई नदी एक आपसमा मिसिँदा रहेछन्। हामी त्यो बाटो छिचोलेर बल्ल सिन्धुली आइपुग्यौँ। माथिबाट हेर्दा नागबेलीजस्तै देखिने सिन्धुलीको त्यो रमणीय घुमाउरो बाटो सुरू भयो। हामी त्यो बाटो घुम्दै, उकालो चढ्दै, ओरालो ओर्लदै र फोटो खिच्दै बर्दिबास हुँदै रातीको ९ बजेतिर तराइ झर्यौँ।
सिन्धुलीको बाटो आफैँमा अचम्म र साहसिक छ। यदि यो बाटो नभएको भए तराई जान निकै समय लाग्ने थियो होला। तराईका सिधा र चेप्टा बाटा पहाडका बाटाभन्दा निकै भिन्न छन्। तराईको सिधा र सोझो बाटोमा पुगेपछि मात्र मलाई मिठो निद्राले छोयो। लहान पुगेपछि आमाले मलाई उठाउनु भयो। लहानको एउटा होटलमा हामी रातको भोजनका लागि रोकियौँ। खाना खाँदा १२ बजिसकेको थियो। होटल छिट्टै बन्द हुन्छ होला भनेर हामी छिटोछिटो खाना खाएर बाटो लाग्यौँ।
तराईका बाटाहरू धेरैजसो जंगलको बीचबाट बनाइएका हुन्छन्। रातको बेला चोर-डाँकु र जनावरको डर हुन्छ। त्यसैले हामीले गाडी रफ्तारमा चलायौँ। राजमार्गमा गुडिरहँदा बाटोमा २–३ वटा स्याल देखा परे तर गाडीको आवाज र हर्नले गर्दा नजिक आउने हिम्मत गरेनन्। तराई पुगेपछि मात्र जाम हरायो। रात परेका कारण बाटो पनि सुनसान थियो। हामी चाँडै कोशी ब्यारेज पुग्यौँ। कोशी निकै विशाल र सुन्दर छ तर रातको १ बजे हामीले अन्धकारबाहेक केही पनि देखेनौँ।
हामी ब्यारेज कटेपछि उर्लाबारी हुँदै दमक-झापा बिहानको लगभग ४ बजे पुग्यौँ। लामो समयपछि झापा पुग्दा मलाई त्यो ठाँउ नौलो लाग्यो। त्यस्तो अन्धकारमा हामीले घर जाने बाटो पत्तै लगाउन सकेनौँ। घरमा हजुरआमा र हजुरबा बिहानै उठेर पूँजा गर्नुहुन्छ। त्यसैले हामीले उहाँहरूलाई फोन गर्यौँ। त्यस्तो अँध्यारोमा गाडीको बत्ती र बाटोको बत्तीले जे-जे देख्यौँ, त्यसको जानकारी हजुरबालाई दिँदा उहाँले हामीलाई बाटो भन्नुभयो। लगभग आधा घन्टापछि हामीले घर फेला पार्यौँ। घर पुगेर खाटमा पल्टँदा त साँच्चै स्वर्गमा पुगेजस्तो आनन्दको अनुभव भयो।
झापा पुगेपछि मेरो बेग्लै दैनिकी सुरू भयो। धेरैपछि मैले गाउँको काखमा रमाउन पाए। सबैतिर नियाल्दा गाउँघरले अझैं आफ्नो मौलिकता गुमाएको रहेनछ भन्ने लाग्यो। गाउँको स्वच्छ वातावरण र त्यहाँको अर्गानिक खानेकुराको स्वादले मेरो मनमा अमिट छाप छाड्यो। त्यसबेला भएको परिवार तथा आफन्तसँगको रमाइलोले मेरो जीवनमा विशेष महत्व राख्छन्।
(प्रतीक खड्का बृहस्पति विद्यासदन, नक्साल, काठमाडौँमा अध्ययनरत छन्।)