सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पुस्तक परिचयः टेकनाथ रिजालद्वारा लेखिएको 'निर्वासन' किताब उहाँको राजनीतिक जीवनमा आधारित आत्मकथा हो। वि.सं २०७५ सालमा छैठौँ संस्करण प्रकाशित भएको यस पुस्तकमा ४१ वटा शिर्षक छन्। यस पुस्तकको मुल्य ४५० रुपैंया हो।
लेखक परिचयः सन् १९४७ मार्च २७ मा भुटानको लामीडाँडामा विष्णुमाया रिजाल र दीनानाथ रिजालको कोखबाट पाँचौँ सन्तानका रूपमा टेकनाथ रिजाल जन्मिएका हुन्। उनी सन् १९७३ को राज्यसभा निर्वाचनमा भारी मतअन्तरले २५ वर्षको उमेरमा दक्षिण भुटानबाट जनप्रतिनिधि भए। त्यसैगरी, उनी राजाको विश्वास जित्दै राजकीय सल्लाहकार परिषद्को सदस्यमा निर्वाचित भए। भ्रष्टाचार छानबिन समितिको सदस्यमा पनि मनोनित भए।
सन् १९८८मा दक्षिण भुटानलाई मात्र लक्षित गरि जनगणनाका नाममा नेपाली भाषीमाथि विभेद गर्न थालेपछि जनप्रतिनिधिका हैसियतले आवाज उठाउँदा उनलाई पदच्युत गरी जेलमा थुनेर कठोर यातना दिइयो। हाल निर्वासित भएर नेपालमा शरण लिइबसेका उनले प्रकाश काफ्ले मानवअधिकार पुरस्कार, एम्बेसडर फर पिस, द इन्टरिलिजियस एन्ड इन्टरनेशनल फेडरेशन फर वर्ल्ड पिस (साउथ कोरिया) लगायतका पुरस्कार पाएका छन्। सन् १९९२ मा एम्नेसटी इन्टरनेशनलद्वारा आस्थाको बन्दि घोषणा गरिएका उनले दश वर्ष लामो जेलजीवन बिताए।
कथावस्तुः हिमालय क्षेत्रमा पर्ने एउटा सानो देश हो भुटान। यो देश एसियाको दक्षिण भागमा पर्छ। भुटानको दक्षिण भागमा बस्ने नेपाली भाषा बोल्ने जातिलाई 'ल्होत्साम्पा' भनिन्छ। नेपाली भाषीहरू यहाँ भुटानमा निकै पहिल्यै मुख्य तीन कारणले गएका रहेछन्:
- भुटानी राजाले देश विकाशका लागि नेपालबाट लगेकाहरू,
- कामको खोजिमा भौँतारिदा भौतारिदै पसेकाहरू,
-आफन्तहरू भुटान गएर समृद्ध भएको देखेर गएकाहरू।
दक्षिण भुटानको मलिलो माटोले गर्दा कृषि र पशुपालन गर्दै ल्होत्साम्पाहरू समृद्ध हुँदै गए। सन् १९८४ मा राजकीय सल्लाहकार परिषद्को सदस्यमा निर्वाचित भएसँगै उनले दक्षिण भुटानको उत्पादनलाई भारतमा उचित मूल्यका साथ बजार दिलाउने व्यवस्था मिलाइदिए। यसका साथ उनले भ्रष्टाचार छानबिनका क्रममा राजपरिवारका नातेदारहरू संलग्न रहेको उजागर गर्दा दरबार त्रसित भई, ऊनी माथि मित्थ्या फत्तुरतहरू लगाउन थाल्यो।
टेकनाथ रिजाल र राजपरिवार बीच द्वन्द्व चलिरहेकै बेला अर्कापट्टि ल्होत्साम्पाहरू माथि राजतन्त्रले वक्रदृष्टि राख्न थाल्यो। त्यसैले सन् १९८८ मा जनगणनाको नाममा ल्होत्साम्पामाथि अत्याचार हुँदै थियो। सन् १९६४-७० मा भएको जनगणना जस्तो यो जनगणना थिएन। जनगणना गर्ने टोलीले ल्होत्साम्पाहरूलाई सन् १९५८ अघिदेखि भुटानमा बसेको लिखित प्रमाण माग्न थाले जबकि सन् १९५८ अघि बसेको प्रमाण सर्भाङको कमिस्नर कार्यालयमा सुरक्षित थियो। सन् १९८० मा कमिस्नर प्रथा अन्त्य भयो र ति कागजात सरकारले हडप्यो।
सन् १९८२-८८ को अवधिमा सरकारले वितरण गरेको नागरिक परिचय पत्रले नै भुटानको नागरिक हो भनि प्रमाणित गर्न पर्याप्त थियो तर षड्यन्त्रपूर्वक जनगणना कार्य थालिएको कारण जनगणना टोलि पुरानो नागरिक परिचय पत्रलाई स्वीकार्न तयार थिएन। जो-जोसँग पुराना कागजात, बेगार तिरेको, कर तिरेको रसिद लगायत प्रमाण छन्, उनिहरूबाट त्यसैका आधारमा राज्यले जमिन दिने भन्दै प्रलोभनमा पारेर ती सबै प्रमाणहरू हत्यायो। एकातिर कपटपूर्ण षड्यन्त्र गर्दै जनतासँग भएका प्रमाण लुकाइदिने र अर्कातिर प्रमाण देखाउ भन्दै अत्याचार गरिरहने। यसै क्रममा प्रहरीले टेकनाथ रिजालले राजा जिग्मेसिङ्गे वाङचुकलाई दक्षिण भुटानीमाथि भइरहेको अत्याचारका बारेमा सुनाए र राजा तत्कालै दक्षिण भुटानको भ्रमणमा गए। भ्रमणकमा जाँदा कोही जनताले राजासमक्ष कुनै उजुरी नगरेकोले टेकनाथले झुटो कुरा गरे भनि ७ दिन हिरासतमा राखियो।
यसपछि उनलाई राजाद्वारा निर्वासित गरियो र उनी सन् १९८९ मा नेपालको झापामा आएर एक शरणार्थीको रूपमा बसे। केहि समयको नेपाल बसाइका क्रममा सन् १९८९ नोभेम्बर १३ तारेखको मध्यरातमा उनलाई झापाको आफ्नै निवासबाट नेपालले पक्राउ गरेर भुटानलाई सुम्पिदियो। भुटानले उनलाई आफ्नै देशको ड्रुक एयरलाइन्समार्फत देशभित्र लगेर स्टेट गेस्ट हाउसमा राख्यो। त्यहाँ उनलाई रेडियोको तरंगजस्तो एक प्रकारको ध्वनिको प्रयोगबाट मस्तिष्क र शरीरमाथी नियन्त्रण गरियो। सो ध्वनिको प्रयोगबाट उनको मस्तिष्कमा आफ्ना मान्छेहरूको रूप आउने र विभिन्न प्रश्न गर्ने, आफ्ना परिवारको हित गर्नेहरूको नाम बोल्न लगाउने, आफन्त शुभचिन्तकहरूको स्मरण गराएपछि ती सबै मानिसलाई पनि सो ध्वनिबाट पहिचान गरी गिरफ्तार गरियो। सो ध्वनी तरंग एकोहोरो ट्वाँ......को ध्वनि गुन्जिरहने र कहिल्यै चाहिँ त्यो ध्वनि असाध्यै चर्को हुन्थ्यो। यसरी प्रविधिको माध्यमबाट चरम यातना दिइएको थियो।
त्यसपछि उनलाई राबुना जेलमा चलान गरियो। राबुना जेलचाँहि राजद्रोही बन्दिहरूलाई राख्ने जेलका रूपमा परिचित थियो। उनलाई राबुना जेलमा मोटो फलामको नेल कसियो र दुवै हात पछाडि लगेर पाता फर्काएर बाँधियो। फलामका किला, शिशाका टुक्रा, माछाका काँडा र मरेका किराहरू मिसाएर दिइएको खाना घुँडा मारेर, मुखले च्यापेर जवरजस्ती खान बाध्य पारिएको थियो भने उनी आँफैले पनि भोकको तोड र जिजीविषाले गर्दा खानै पर्ने बाध्यतालाई स्वीकारेका छन्। हातमा हतकडी, खुट्टामा नेल, र आँखामा पट्टि बाधेर साँघुरो कोठामा कैद गरेर मानसिक पीडाको चरमविन्दु यातना दिइएको थियो। प्रत्येक बिहान उनलाई गनेर ८० वटा चुरोट खान लगाइन्थ्यो र चुरोट नखाएमा खाना खान दिइदैनथ्यो।
यस्ता अनेक प्रकार र तरहका यातनाकै बीचमा अन्तर्राष्ट्रिय क्षेत्रले उनको बारेमा चासो गर्न थालेको थियो। विशेषगरी रेडक्रस, एम्नेष्टी इन्टरनेशनल जस्ता संस्थाले भुटानलाई उनको रिहाईका सम्बन्धमा दबाब बढाउन थालेसँगै सन् १९९९ मा १० वर्ष ३ महिना र तीन दिनको कठोर यातनापछि उनलाई निर्दोष रहेको भन्दै रिहाई गरियो। रिहाई पछिका केही महिना भुटानको राजधानी थिम्पुमै बसी स्वास्थ्य उपचार गरे र स्वास्थ्यमा केहि सुधार देखिएपछि उनी पुनः नेपाल निर्वासनमा आए।
अहिले पनि उनी नेपालबाटै विभिन्न संघसंस्थासँग जोडिएर ल्होत्साम्पाहरूलाई न्याय दिलाउन र स्वदेश फिर्ता हुन पाउनुपर्ने र राज्यले हडपेको श्रीसम्पत्ति फिर्ता गर्नुका लागि संघर्षरत छन्।
समय परिवेशः यो जीवन संघर्षको समय सन् १९८० को दशकमा भएको पाइन्छ। सो समयमा भुटानमा बसेका नेपाली भाषीहरूमाथि भएको अत्याचारका विरूद्ध न्यायको माग गर्दै नेपाली भाषीहरूले आवाज उठाएका थिए।
चरित्र चित्रणः एक मध्यम परिवारमा जन्मेका उनी २५ वर्षकै उमेरमा जनप्रतिनिधि भए। देशको भविष्यलाई उज्जवल पार्ने दृढ निश्चय गरेका उनी राजाको निकै निकटमा पुगे। सरकारले दक्षिण भुटानी माथि गरेको अत्याचारको विरूद्ध एक जनप्रतिनिधिको हैसियतले बुलन्द आवाज उठाए। यहि आवाज उठाएकाले उनीमाथि मित्थ्या फत्तुरहरू लगाएर जेल चलान गरियो। जेल भित्रैबाट पनि उनले सरकारविरूद्ध न्यायको आवाज उठाउँदै गरे। यसले उनको धैर्यता, शान्त स्वभाव, राष्ट्रप्रेम, राष्ट्रभक्ति, न्यायप्रतिको अटल विश्वास र सम्पूर्ण नेपाली भाषी (ल्होत्साम्पा) प्रतिको प्रेमलाई दर्शाउँछ।
भाषाशैलीः यो किताब अत्यन्त सरल भाषामा लेखिएको छ। जोकसैले पनि यसलाई सजिलै पढ्न र बुझ्न सक्छ।
सन्देशः हामीले अन्यायका विरुद्ध निडरताका साथ अडिग भएर लड्नुपर्छ र त्यसक्रममा आउने जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि नडराई सामना गर्नुपर्छ। समाजको अगुवा हुने कुरा सहज र सजिलो हुँदैन। अनेक हण्डर र ठक्कर खाँदै संघर्ष गर्नुपर्छ, संघर्ष गर्नेको एकदिन अवश्य जित हुन्छ।
(रोमहर्षण ढुंगेल एभरेष्ट इङ्लिश स्कुल, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)