सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सन् २०२० को सुरूवात भएसँगै विश्व जटिल रोग कोभिड–१९ बाट गुज्रिरहेको छ। यस रोगले महामारीको रूप लिई विश्वका कयौँ मुलुकलाई ग्रसित पारेको छ।
कुनै मुलुकले समयमै सोच विचार पुर्याइ समयमै सावधानी अपनाएकाले यस रोगलाई नियन्त्रणमा ल्याउन सफल भएका छन्। केहीले भने अव्यवस्थित अवस्था र समयमै सावधानी नअपनाएका कारण भयावह स्थिति सामना गर्नुपरेको छ।
मै हुँ भन्ने शक्तिशाली राष्ट्रलाई पनि यस रोगले कमजोर बनाइदियो। यो रोग सजिलै एउटा मानिसबाट अर्को मानिसमा सर्ने भएकाले संक्रमण फैलन नदिनका लागि लकडाउन पनि गराइयो। लकडाउन भएपछि मानिसहरू आ–आफ्ना घरमै बस्नु प¥यो। कार्यालय, विद्यालय, कलेज, पसल, रेस्टुरेन्ट लगायत संस्थाहरु पनि बन्द भए। त्यसैले मानिसहरू घरमै बसेर सञ्चार प्रविधिका माध्यमबाट कार्यालयको काम गर्न थाले।
विद्यालय र कलेजमा पनि इन्टरनेट र जुमको माध्यमबाट कक्षा सञ्चालन हुन थाल्यो। यो रोग आएसँगै मानिसको दैनिक जीवन नै बदलियो। कोरोनाले अहिलेसम्म विभिन्न रूप फेरिसकेको छ। अर्थात् ठाँउ विशेष यस रोगका विभिन्न भेरियन्ट देखा परेका छन्। कैयौँ मुलुकहरू यस रोगको दोस्रो लहरले अहिले संक्रमित भएका छन्।
नेपालमा पनि यस रोगको दोस्रो लहरले संक्रमण बढ्दो छ। नेपालमा पनि युके भेरियन्ट र इन्डिएन भेरियन्ट आइसकेको छ। यिनीहरूले पनि विभिन्न रूप बदल्दै छन् भनेको सुनिन्छ। दोस्रो पटक लकडाउन भएपछि यसको असरले दैनिकी जीवनमा धेरै अप्ठ्यारो पार्यो।
यस रोगको सकारात्मक र नकारात्मक दुबै पक्षहरू छन्। लकडाउन भएपछि दिनदिनै काम गरेर खाने मजदुरहरूले काममा जान पाएका छैनन्। उनीहरूलाई एक छाक टार्न पनि गाह्रो पारेको छ। कैयौँ मानिस रोजगारी गुमाएर बेरोजगार हुन पुगेका छन्। आर्थिक अवस्था कमजोर भएका मानिसले छाक टार्न र आफ्नो परिवार चलाउनका लागि एकदमै गाह्रो परेको छ। भोकमारीको अवस्था देखा पर्ने संभावना छ।
बालबालिकाले रातदिन फोन र कम्प्यूटर चलाउँदा आँखा सम्बन्धि समस्याहरू भोग्नु परेको छ। दुर्गम क्षेत्रमा बस्ने कैयौँ विद्यार्थीले त शिक्षा लिन पनि पाएका छैनन्। उनीहरूसँग प्रविधिको पहुँच छैन। घर बसी धेरै खाएर व्यायाम नहुँदा मानिसहरू मोटाउन थालेका छन् जसले गर्दा भविष्यमा विभिन्न डरलाग्दा प्राणघातक रोगको सिकार बन्न पनि सक्छन्।
दिनरात घरमै थुनिएर बस्दा र कोभिडको डरले कतिपय युवा, बालबालिका र वृद्धवृद्धाहरू डिप्रेसनको शिकार बन्न पुगेका छन्। एकैपटक बिरामीहरूको चाप बढ्दा समयमै अक्सिजन सिलिन्डर नपाएका कारण ज्यान गुमाउनु परेको दुखदायी खबर सुनिन्छ। कोभिड रोगले निम्त्याएका केही नकरात्मक पक्षहरू हुन्।
एक सिक्कामा दुई पाटा भएझैँ हरेक कुराको नराम्रो पक्ष मात्रै हुदैनन्। राम्रो पक्षहरू पनि हुन्छन्। लकडाउन भएपछि मानिसहरूको जीवनमा केही सुधार र राम्रो पक्षहरू पनि देखिएका छन्।
लकडाउन भएसँगै कार्यालयहरू बन्द हुँदा मानिसहरू घरमै बस्न बाध्य भए। घरमा बस्दा उनीहरूले आफ्नो परिवारसँग समय बिताउन पाए। कहिल्यै परिवार र बालबालिकालाई समय मिलाउन नपाएका शिक्षक र कर्मचारीहरू आफ्ना बालबालिका र घर परिवारका अन्य सदस्यसँग बसेर मजाले समय बिताउन र खाना खान पाए। घरका सबै सदस्यहरू मिलेर घरको हेरचाह, कोठाको सरसफाई, खानपिन र लुगा धोइपखाली गर्न पाए।
आफ्नै घरको छत, आँगन र करेसाबारीमा तरकारी, सागपात, फलफूल र फूलहरू फुलाई स्वच्छ वातावरण बनाउन पाए। घरमै बसेर सृजनात्मक क्रियाकलाप गर्ने अवसर मिल्यो। मिलेर विभिन्न खेलहरू खेले। बालबालिकाले घरको काम पनि गर्न सिके। उनीहरू कथा, कविता, निबन्ध, चित्र कोर्ने जस्ता रचनात्मक कार्यले खुसी हुँदै सृजनात्मक कार्यमा भुले। उनीहरूले आफ्ना व्यस्त आमाबुवासँग बसेर समय बिताउने अवसर पाए। नयाँ अनुभव संगाल्न पाए।
सवारी साधन कम भएकाले धुँवा र धुलो कम भई वातावरण सफा र स्वच्छ भयो। आफ्ना आमा-बुवा, हजुरबुवा, हजुरआमा लगायत अरू परिवारको सदस्यहरूलाई पनि सकेको सहयोग गर्ने अवसर पाए। मानिसमा लुकेको उसको अदभूत क्षमता, सीप र योग्यतालाई बाहिर प्रदर्शन गर्ने समय जुटाइ अवसर दियो। मानिसको अमूल्य जीवनलाई अप्ठ्यारो परिस्थितिसँग बाच्न सिकायो। यिनै कुराहरू लकडाउनले मानिसको जीवनमा पारेको राम्रा पक्षहरू हुन्।
यसर्थ हामी यस रोगदेखि डराएर आत्तिनु हुँदैन। यस रोगसँग लड्नका लागि आफ्नो आत्मबल बलियो बनाउनु पर्छ। स्वास्थ्य मापदण्डका नियम पालना गर्नुपर्छ। यदि कोही हामीले चिनेको मानिस कोभिड १९ रोगको सिकार भए उनीहरूलाई छिछिः दुर-दुर गर्नु हुँदैन। त्यसको साटो हामीले उनीहरूको हेरविचार गरी हौसला दिनुपर्छ किनभने यो रोग हामी जो कोहीलाई जतिखेर पनि लाग्न सक्छ। त्यसैले हामी सबै एक भएर यस रोगको सामना गर्न दूरी कायम गरी सरसफाइमा ध्यान पु¥याउनका लागि चेतनामूलक अभियानमा जुट्नुपर्छ।
बेला-बेलामा यस्ता खाले नयाँ-नयाँ डरलाग्दा प्राणघातक रोग देखा पर्नुको कारण हामी स्वयम नै हौँ। मानिसका अविवेकी क्रियाकलाप जस्तै: रूख विरूवा काट्ने, बाटोघाटोमा जथाभावी फोहोर फाल्ने, खोलानालामा फोहोर र ढल मिसाइदिने, जंगलहरू मासिदिने जस्ता क्रियाकलापले प्रकृतिको विनाश हुन्छ।
प्रकृतिलाई मानिसले नबुझी जित्न खोज्दा प्रदुषण बढ्दै गयो। संसारको इकोसिस्टम खलबलियो। जनावर र जीवजन्तुहरू यस पृथ्वीबाट लोप हुँदै गए। फलस्वरूप अनावश्यक कोरोना भाइरस जस्ता नयाँ-नयाँ रोगहरू देखापरेका समाचारहरू सुनिएका छन्। यसैले हामीले हामीलाई जीवन दिने प्रकृतिको संरक्षण गरेर मात्र विकासका कार्यहरू गर्नुपर्छ। यदि हामीले समयमा सोचविचार पु¥याएर प्रकृतिको संरक्षण गर्न सफल भयौँ भने मात्र हामी मानव समुदाय स्वस्थ्य, खुसी र सुखी हुन सक्छौँ।
त्यसैले हामी सबैले आफ्नो बुद्धि र विवेक लगाएर आ–आफ्ना क्षेत्रबाट जे जति गर्न सकिन्छ प्रकृतिको संरक्षण गर्नको लागि समयमै सचेत हुनुपर्छ। हामी सबै एक साथ जुटेर प्रतिबद्ध भई प्रकृतिको संरक्षण गर्यौ भने संसारलाई स्वर्ग बनाउन सक्छौँ। विभिन्न प्रकारका भाइरसलाई पनि दबाउन सक्छौँ।
(प्रजिसा सत्याल इपिएस विद्यालय, मिनभवन, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छिन्।)