सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
'सोह्र पुगी सत्र लाग्दा यस्तै हुन्छ कि? चिसो-चिसो बतासले मनमा छुन्छ कि?'
यो गीत धेरैपटक सुनेको हो। श्रावण पाँच गतेपछि भने मेरो लागि यो गीतको भाव महत्वपूर्ण भएको छ।
मैले भर्खरै सोह्र वर्ष पुरा गरेर जन्मदिन मनाएँ। समय गतिशील र परिवर्तनशील रहेछ। व्यवहारवादीहरूले पनि समयअनुरुप सबै कुरा बदलिन्छ भनेर तर्क गर्छन्। मेरी आमा पहिलो पटक रजस्वला हुँदा डाको छोडेर ह्वाँ-ह्वाँ रुनुभएको थियो रे। म मेरी आमाको शिक्षाले गर्दा पहिलोपटक रजस्वला हुँदा उफ्रदै आमा नजिकै गएर 'आमा मेरो त पिरियड सुरू भयो नि' भन्न सकेँ
आमाको मुहारमा त्यतिबेला आएको खुसी म व्यक्त गर्न सक्दिन। मेरी आमाले जस्तो पिरियड भएको बेला मैले खासै कष्ट उठाउनु परेन। म पराईको घरमा गएर लुक्नु परेन। 'छोइन्छ है नानी पर बस्' भनेको डाँको खप्की खानु परेन। मात्र 'सरसफाइमा ध्यान दिनुपर्छ नानु। सेनिटरि प्याड राम्ररी लगाउन सिँक। अनि पौष्टिक खाना खानुपर्छ' भनेर आमाले सधैँ सिकाउनुभयो।
मानव जीवनको महत्वूर्ण पक्ष हो किशोरावस्ठा। यस अवस्थामा आउन सक्ने मानसिक तनाव र हर्मोन परिवर्तनका बारेमा विद्यालयमा जे जति सिकियो त्यसमा आमाले पनि केही थप कुरा सिकाउनुभयो।
हो यो उमेरमा आकर्षण हुन्छ। मन पर्छन् विभिन्न साथीहरू। यसलाई नकारात्मक रूपमा लिनु हुँदैन भन्नुहुन्छ आमा। हुन पनि हो। आफूँबारे पूरा जानकारी हुनु त राम्रो कुरा हो नि। आकर्षण हुनुपर्छ यस उमेरमा। भएन भने विदेशतिर डाक्टरसँग जचाउँन जान्छन् भनेर पनि सुनाउनुहुन्छ।
सम्बन्ध बनाउन जति सजिलो हुन्छ, त्यसलाई मजबुत र सामन्जस्यपूर्ण बनाइराख्न झन् महत्वपूर्ण कुरा हो। यस उमेरमा हामी झन् सजग र सचेत हुन जरूरी छ। हामीमा विभिन्न ज्ञानहरू हुनुपर्छ जस्तो कि प्रेम हो या आकर्षण छुट्ट्याउन सक्ने ज्ञान। राम्रो छुवाई र खराब छुवाईको अन्तर बुझ्नसक्ने ज्ञान। आखाँको हेराईलाई विश्लेषण गर्न सक्नु, डेटिङको प्रस्ताव राखेको तरिका बुझ्नु, इत्यादि।
साथी मन पर्यो भन्दैमा जसले जता बोलायो उतै गइहाल्नुचाहिँ हुँदैन। जाँच-बुझ गरेर, आफ्नो अभिभावकसँग आज म यस्तो ठाउँमा जाँदै छु है भनेर जानकारी दिएर मात्र जानुपर्छ। उमेरमा नगरेको रमाइलो कहिले गर्ने भन्ने सोच राखेर जे मन लाग्यो त्यही गर्दा नराम्ररी दलदलमा गड्न पनि सकिन्छ। साथी बनाउँदा धेरै कुरा विचार गर्नुपर्छ। चाहे त्यो आफूजस्तैं होस् वा विपरित लिंगी। आफ्नो मन र दिमाग दुबैले राम्ररी विचार गरेर मात्र अघि बढ्नु पर्छ।
अहिले हाम्रो देशभित्र घटेका घटनाहरू देखेर त्यसबाट पाठ सिकेर पनि हामीले सही निर्णय गर्न सक्ने हुनुपर्छ जस्तो लाग्छ।
अझैं किशोरावस्थाको तीन वर्ष छ म सँग। मैले त मेरी आमालाई आफ्नो मिल्ने साथी बनाएको छु। उहाँले दिने सुझाव र सल्लाहले मलाई सकारात्मक उर्जा दिने गरेको छ।
हाम्रो उमेरमा हुने हर्मोन परिवर्तनले पनि विभिन्न शारीरिक-मानसिक तनावहरू हुन्छन्। उचित परामर्श नभएमा डिप्रेसनसम्म पुगेका केशहरू हामीले दैनिक सुन्दै आइरहेका पनि हुन्छौं। यसलाई सामान्य रूपमा लिनु हुँदैन जस्तो लाग्छ। साथीसंगतीमा हुने विभिन्न ग्रुपिजमले गर्दा हाम्रो मनमा झन् ठूलो असर पर्न सक्छ।
आफ्ना छोराछोरीहरूप्रति अभिभावकले बुझ्नुपर्ने धारणाहरू विदेशको तुलनामा हाम्रो देशमा अझैं कम छ जस्तो लाग्छ मलाई।परिवारको सही सपोर्ट भएमा बालबालिकाको शारीरिक र मानसिक विकास राम्रोसँग हुन्छ। जसले भविष्यमा सही निर्णय लिन सक्ने बनाउँछ। यस उमेरमा गरिने सही वा खराब निर्णयले हाम्रो भविष्यमा सकारात्मक वा नकारात्मक असर पुर्याउँछ।
कोरोना महामारीको असरले लकडाउन हुँदा साथीहरूसँग भेट नभएको पनि करिब डेढ बर्ष हुन लाग्यो। भर्चुअल रूपमा त सबैसँग भेट हुन्छ नै तर पनि भौतिक रूपको भेटघाट मेलमिलाप अलि फरक नै हुन्छ नि। एसइइ सकिएपछि विद्यालयबाट राम्ररी बिदाई हुन पनि पाइएन। गुरूहरूलाई हार्दिक धन्यवाद भन्न नपाइकन स्कुल छोड्नुपर्ने अवस्था छ।
कोभिडले जनजीवन अस्तव्यस्त बनाएको छ। सामान्य स्थिति कहिले हुने हो पत्तो छैन। एघार पनि अनलाइन नै बित्ने पो हो कि! अनलाइनमा पनि साथीहरूमा कस्तो सम्बन्ध हुनुपर्छ, कसरी असल साथी र खराब साथी बीच फरक छुट्याउने त्यो ज्ञान पनि जरूरी छ। यसका साथै अनलाइन 'एटिकेट्स' सिक्नु आवश्यक पनि हुन्छ जसमा आमाको सहयोग एउटी छोरीका लागि अति महत्वपूर्ण हुन्छ।
हाम्रो जस्तो सामाजिक परिवेश भएको देशमा शिक्षित आमा पाउनु भाग्यमानी छोरीको लक्षण हो।