सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
काठमाडौँमा जन्मे म त गाउँ कस्तो थाहा छैन
जाने रहर हुँदा पनि जान पाएको छैन
गाउँघरको हावापानी कति राम्रो हुन्छ रे
वनजंगल, हरियाली मनै छुन्छ रे।
गाइभैँसी पालिन्छ रे दुध-दही खानलाई
मन धेरै लागेको छ गाउँ जानलाई
मेरा बाबाममी पनि जन्मनु भो गाउँमा
पुग्न मलाई रहर छ त्यस्तो ठाउँमा।
धान, गहुँ, मकै, तोरी फल्छ मेरो गाउँमा
सफा पानी बग्छ अरे मेरो ठाउँमा
फोन गर्छु कहिलेकाहीँ माया लाग्छ त्यताको
मैले पनि भन्ने गर्छु खबर यताको।
गौतम बुद्ध जन्मेहुर्के मेरै गाउँठाउँमा
कपिलवस्तु भनियो रे उनकै नाउँमा
मेरो गाउँ नेपालको तराईमा पर्छ
पहाडबाट आएको खोला त्यतै झर्छ।
लामो बिदा हुँदाखेरि गाउँघर हेर्न छ
ठूलो भई विकासगरी मुहार फेर्न छ
साथीहरू तिम्रो पनि गाउँ कुन हो बताऊ है
सेतोपाटी साथी हाम्रो त्यही पठाऊ है।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, ललितपुरमा कक्षा २ मा अध्ययनरत छिन्।)