सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पुस्तक समिक्षा:
पुस्तक परिचयः देशदेशावर पुस्तक एक यात्रा संस्मरण हो। २० वटा फरक फरक शिर्षक रहेको उक्त पुस्तक वि.सं. २०७७ सालमा प्रथम संस्करण प्रकाशित भएको हो। पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।
लेखक परिचयः पुस्तकका लेखक जीवा लामिछाने हुन्। उनी विगत २५ वर्षदेखी राष्ट्रिय एवम् अन्तराष्ट्रिय व्यवसायमा संलग्न रहँदै आएका व्यक्ति हुन्। साथै उनी गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष हुन्। विश्वका १३० भन्दा बढी देश घुमिसकेका उनले मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। 'सरसर्ती संसार' उनको यसअघि प्रकाशित नियात्रा सङ्ग्रह हो।
विषयवस्तुः यो पुस्तकका २० वटा शिर्षक सबै रोचक र जानकारी मूलक छन्। तथापी यहाँ मैले रोचक र ज्ञानवर्द्धक केही विषयहरूलाई मात्र उल्लेख गरेको छु। सबै शिर्षकका लागि भने पुस्तकनै पढ्नु पर्ने हुन्छ।
रूवान्डाः सन् १९१६ पछि यो देश उपनिवेशमा रहँदा वेल्जियमले तुत्सीहरूलाई सबै क्षेत्रमा प्राथमिकता दिदैँ नागरिकतामा पनि हुतु र तुत्सी भनि छुट्याएर लेख्न थालेपछि बहुसंख्यक हुतुहरूले आन्दोलन गरे। जसमा १०० दिन भित्र झण्डै १० लाख मानिसको हत्या भयो। तर पछि सो संघर्ष उनीहरूकै विरूद्ध खनियो र १९६२ मा रूवान्डा स्वतन्त्र भयो। तुत्सीहरूको जनसङ्ख्या १४ प्रतिशत, हुतुहरूको ८५ प्रतिशत र तवहरूको १ प्रतिशत थियो। उक्त देश सन् २००० देखि पौल कगामेको नेतृत्वमा गरेको विकाससँगै विगतको जातीय समस्या विस्तारै ओझेलमा पर्दै गएको छ।
तान्जानियाः यो देश २६ वटा स-सना राज्य मिलेर बनेको गणतान्त्रिक राज्य हो। यस देशको कूल भुमिमध्ये ४० प्रतिशत राष्ट्रिय निकुञ्जले ढाकेको रहेछ। पोर्चुगलका अनवेषक भास्को डीगामा समुद्री किनारैकिनार बाँकी विश्वको खोजमा जाँदा दार-ए-सलामको तटमा पुगेपछि सो स्थान करिब २ सयवर्ष पोर्चुगलको अधिनमा बस्यो। समयक्रममा अरब राष्ट्र ओमनले सन् १६९९ मा आक्रमण गरी पोर्चुगली सेनालाई धपाएर झण्डै २ सयवर्ष राज गर्यो। त्यसैगरी जब जर्मनी शक्तिशाली भयो यो देश उसकै अधिनमा पर्यो। प्रथम विश्वयुद्धपछि जर्मनीको हारका कारण यो देश बेलायतको अधिनमा पुग्यो। सन् १९६१ मा ट्याङगानिकाले र १९६३ मा जान्जिवार स्वतन्त्र भए लगत्तै १९६४ मा यी दुई राष्ट्र एक भई तान्जानिया बन्यो। तान्जानियाको हिन्द महासागरको ‘बागामोया तट’ मा पहिले दासहरू निर्यात हुने बजार रहेछ।
युगान्डाः सन्की शासन इदी अमिनले सन् १९७२ मा एशियाली मूलका मानिसलाई युगान्डामा बस्न नदिने फरमान जारी गरे। सपनामा अल्लाहले एशियाली मूलका मानिसलाई बस्न नदिनु भन्ने आदेश दिए भन्दै उनले ९० दिन भित्र करिव ८० हजार मानिसलाई खाली हात देश निकाला गरे। दादा इदि अमिनले सन् १९७१ देखि १९७९ सम्म युगान्डाको सत्ता सम्हाले। भनिन्छ, उनले आफ्नो गोप्य कोठाको फ्रिजमा आफ्ना शत्रुहरूको टाउको काँचै खानका लागि राख्थे। उनले झण्डै ५ लाख विरोधीलाई मारेता पनि सत्ताच्यूत भएपछि साउदी अरब भागे। संसारको सबैभन्दा लामो नाइल नदीको उद्गमन स्थल ‘भिक्टोरिया ताल’ पनि युगान्डामै रहेछ। युगान्डाबाट नाइल नदी इथियोपिया, सुडान सहित ११ वटा देशलाई सिञ्चित पार्दै ६६५० किलोमिटको यात्रा गर्दो रहेछ।
क्यारिबियन आइल्याण्डसः भनिन्छ बर्मुडा ट्याङ्गलबाट भयावहक आवाज सुनिन्छ। यो क्षेत्रमा बितेको ७० वर्षभित्र १२० भन्दा बढी हवाईजहाज एवम् पानीजहाज सहित कैंयौ मानिस वेपत्ता भएका रहेछन्। बर्मुडा ट्रयांगललाई ‘डेभिल्स ट्रयांगल’ पनि भनिन्छ।
क्रोएसियाः सन् १९८० पछि जातियताको आधारमा स्थापित युगोस्लाभ गणराज्य ७ वटा अलग अलग राज्य बनेको रहेछ। त्यस मध्येको एक राज्य क्रोएसिया हो। यो देशको राजधानी जाग्रेबलाई बियरप्रेमीहरूको सहर भनिन्छ। सो देशमा विश्वप्रसिद्ध बैज्ञानिक निकोला टेस्लाको जन्म भएको हो। क्रोएसियाको पर्यटकीय स्थल ‘स्पलिट’ ले करिब १७ सयवर्ष लामो इतिहास बोकेको रहेछ। एक समय ग्रिसको एउटा कोलोनीमध्येको यो सहर रोमन सम्राटले सन् ३०५ मा स्थापना गरेका हुन्।
आइसल्याण्डः आइसल्यान्ड यस्तो ठाउँ हो जहाँ हिउँ पनि पर्छ र ज्वालामुखी पनि विस्फोट हुन्छ। त्यसैले यो देशलाई ‘द ल्याण्ड अफ आइस एण्ड फायर’ अर्थात ‘बरफ र आगोको देश’ भनिन्छ। झण्डै १ हजार वर्ष अघि भाइकिङ जातीहरूले अन्य जातीहरू आएर नबसुन् भनेर त्यस भूमिलाई आइसल्याण्ड नामाकरण गरेका रहेछन्। त्यतिमात्रै हैन उनीहरूले नै आइसल्याण्डभन्दा पारीपट्टीको विशाल टापुको नाम ग्रिनल्याण्ड राखिदिए। यो देशका करिब १० प्रतिशत जनताले आफ्नो जीवनमा कम्तिमा १ वटा पुस्तक प्रकाशन गर्छन्। साथै सिनेमा भनेपछि हुरूक्कै हुन्छन्।
यहाँ मानिसको जनसंख्या भन्दा बढी कारहरू छन्। यस देशमा थोरै संख्यामा रहेका प्रहरीहरूसँग पनि हतियार रहेनछ। यहाँ प्रत्येक ४ वर्षमा ज्वालामुखी फुट्ने गर्छ। यहाँको संसद सन् ९३० मा स्थापना भएको मान्यताले गर्दा उसले आफूलाई संसारको पहिलो प्रजातान्त्रिक मुलुक मान्दो रहेछ। सन् १९८९ सम्म यहाँ बियर किनबेचमा प्रतिबन्ध रहेछ, जसकारण यहाँका नागरिकलाई कोकाकोला पिउने लत बसेछ। यहाँका मानिसको परम्परागत थर हुँदैन। नामको पछाडि बाबुको पहिलो नाम राखिँदो रहेछ। यदि संसारमा आणविक युद्ध भएमा बस्नका लागि आइसल्याण्ड सबैभन्दा सुरक्षित स्थान मानिन्छ।
फिनल्याण्डः यो देशको कूल क्षेत्रफलको ७० प्रतिशत हिस्सा जंगलले ओगटेको छ। यहाँका नागरिक घरबिहिन नरहेका तथा उनीहरूको सरकारप्रति कुनै गुनासो रहेनछ। फिनिसहरू सउनाका सौखिन भएकाले हरेकजसो घरमा निजी सउना हुने गर्छ। फिनल्याण्डमा श्रीमती बोकेर दौडने प्रतियोगितामा प्रथम हुने जोडीलाई श्रीमतीको तौल बराबरको बियर उपहार दिइन्छ। यहाँ प्रतिव्यक्ति वार्षिक १२ के.जी. कफी खपत हुँदो रहेछ तथा वार्षिक रूपमा प्रतिव्यक्ति ३६५ लिटर दुधको खपत हुने गर्दोरहेछ। बालबालिकाहरू ७ वर्ष नपुगुन्जेल विद्यालय जाँदैनन्। तैपनि सतप्रतिशत साक्षरता रहेको छ। स्वास्थ्य तथा सबै तहको शिक्षा निःशुल्क रहेछ।
लसभेगसः यो अमेरिकाको नेभादा मरूभुमीमा अवस्थित एउटा सहर हो। बुट्यानबाहेक वर्षौसम्म प्रकृतिले केहि नदिएको सो क्षेत्रलाई सन् १९५०-५५ सम्म अमेरिकाले आणविक बमको परीक्षण स्थलका रूपमा विकास गर्यो। नेभादालाई ‘क्यापिटल अफ इन्टर्नेसनल इन्टरटेन्मेन्ट’ भनिन्छ। ७ लाख जनसङ्ख्या भएको लस भेगसले वर्षेनि ४ करोड भन्दा बढी पर्यटकलाई सत्कार गर्छ। भनिन्छ, यहाँका जुवा खालमा एक व्यक्तिले आधा घण्टामात्रै बिताउने हो भनेपनि सबै खालमा जुवा खेल्न १०० वर्षले पनि पुग्दैन। साथै एउटा मानिसले एक रात एउटा कोठामा बिताउने हो भने सम्पूर्ण लस भेगसका होटलका कोठामा रात बिताउन उसलाई ८८ वर्ष लाग्छ।
श्रीलंका: १६ औं शताव्दीदेखि नै युरोपियनहरूले श्रीलंकालाई व्यापारको केन्द्र बनाएसँगै कसले आफ्नो अधिनमा राख्ने भन्ने होडबाजी सुरू भयो। सन् १५०५ पछि कहिले पोर्चुगल त कहिले डच हुँदै सन् १८३० पछि ब्रिटिशहरूले आफ्नो अधिनमा राखे। ब्रिटिशको अधिनमा रहँदा श्रीलंकाको नाम फेरेर सिलोन बनाएपनि सन् १९७२ को स्वतन्त्रता पछि पहिलेकै नाम राखियो। त्यहाँ क्यान्डी सहर जाने बाटोमा हात्ती अनाथालय रहेछ। जसमा सरकारी सेना र विद्रोही तमिलबीचको युद्धको प्रभावमा परेर अंगभंग र टुहुरा भएका हात्तीहरू राखिएका रहेछन्। हात्तीको बिष्टा (मल) बाट कागज बनाई बेचेर उनीहरूको स्याहार सुसार गरिन्छ। श्रीलङ्का इतिहासदेखि हालसम्म पनि चिया, रबर, चिनी, कफी, दालचिनी र मसला उत्पादनको केन्द्र बनेको छ।
हंकङ: त्यो बेलाको शक्तिशालि राष्ट्र बेलायतसँग चीनियाँ अधिकारीले व्यापारिक सामाग्री आयात गर्न नमानेपछि दुई देशबीच शृङ्खलाबद्ध युद्ध भयो। सन् १८३९-४२ को अफिम युद्धमा चीनले हारेपछि हङकङ बेलायतको उपनिवेशमा पर्यो। हङकङलाई स्वतन्त्र बनाउन सन् १८६० मा युद्ध लडेपनि चीनको हार भयो। सोपश्चात बेलायतले हङकङलाई एशियाकै व्यापारिक केन्द्र बनायो। चीन शक्तिशाली हुँदै गएपछि दुई देशबीचको सन्धीलाई आधार बनाएर हङकङ फिर्ता लिने कुटनीति थाल्यो। फलस्वरूप सन् १९८३ मा हङकङले ब्रिटेन क्राउन कोलोनीद्वारा पराधिन भूमिको उपमा पायो। एक देश र दुई नीतिमा सहमत भई हङकङ सन् १९९७ मा चीनकै अधिनमा फिर्ता भयो।
जर्मनीः दोश्रो विश्वयुद्धमा नाजी सेनालाई हराउन अमेरिका, बेलायत, फ्रान्स र सोभियत संघ एक भएका थिए। पोर्ट ड्याम सम्झौतामा यी राष्ट्रहरूद्वारा जर्मनीलाई अमेरिकी, बेलायती, फ्रेन्च र सोभियत गरि ४ जोनमा बाँडियो। जसमा पूर्व जर्मनी सोभियत संघमा र पश्चिम जर्मनी अमेरिका सहितका अन्य ३ देशको भागमा परे। यसरी पूर्व र पश्चिम जर्मनी भएको ८ वर्षमा झण्डै ३५ लाख मानिस पूर्वी जर्मनीबाट भागेर पश्चिम जर्मनी गएपछि सोभियत संघको सहयोगमा पूर्वी जर्मनीले सन् १९६१ मा रातारात बर्लिनको पर्खाल बनायो। २८ वर्षसम्म यो पर्खालले बर्लिन सहरलाई विभाजन गर्यो। सन् १९९० को अक्टोबर ३ का दिन दुबै देशबीच एकीकरण भई बर्लिनको पर्खाल ढालियो।
बीरेन्द्र बियरः प्रत्येक वर्ष नयाँ सिजनल बियर उत्पादन गर्ने प्रचलन अनुसार टुर्बिनेन ब्रयु कम्पनीले सो बियर उत्पादन गरेको रहेछ। खास समयमा उत्पादन हुने वियरलाई जनमानसमा सकारात्मक सन्देश दिने नामाकरण गरिँदो रहेछ। सो कम्पनीले नेपाललाई ध्यानमा राखी बियर उत्पादन गर्न चाहेछ। तत्कालिन राजा बीरेन्द्रको नाम लोकप्रिय भएकाले उसले बीरेन्द्रको नाम छनौट गरेछ। राम्रो मनसायका साथ बीरेन्द्र नाम राखेपनि सामाजिक सञ्जालमा निकै विरोध चर्किएपछि उक्त उत्पादन बन्द भएछ।
नेपाल-हिमालय मण्डपः दक्षिण पूर्वी जर्मनीको ड्यानुब नदी किनारमा रहेको रेगेन्सबुर्ग सहर नजिकको ९ हेक्टर निजी बन क्षेत्रमा नेपाल-हिमालय मण्डप छ। सो मण्डप निर्माण गर्ने जर्मन नागरिक हेरिबेर्ट विर्थ ८० वर्षको उमेरमा पनि युवा जोशका साथ नेपाल चिनाउन रातदिन लागि परेका व्यक्ति हुन्। सो स्थानमा पशुपतीनाथ मन्दिरदेखि लुम्बिनी, मेचीदेखि महाकालीसहित नेपालको हुबहु चित्रण गरिएको छ। १० युरो शुल्क तिरेर जसले पनि यो मिनी नेपालको आनन्द लिन सक्छन्।
समय परिवेशः पुस्तकमा लेखकले यात्रा गर्दाको समयमा उभिएर सो स्थानको विगतलाई चियाइएको छ।
भाषाशैलीः सामान्य व्यक्तिले पनि बुझ्ने गरि लेखिएको सो पुस्तकमा एकदमै सरल भाषा छ।
सन्देशः यस पुस्तकले कुनै नौलो स्थान घुम्न जाँदा घुमेर मनोरञ्जन लिनुका साथै सो स्थानका बारेमा विभिन्न जानकारी लिई अरूलाई पनि बाँड्नु पर्छ। कुनै पनि स्थानको इतिहास हुन्छ, त्यस भित्र सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। जुन कुराहरू पछिल्ला पुस्तालाई ज्ञानमार्फत हस्तान्तरण गर्नुपर्छ।
(रोमहर्षण ढुंगेल एभरेष्ट इङलिश स्कूल ब्यासी, भक्तपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)