सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
अनुशासन विद्यार्थी जीवनको एक महत्वपूर्ण घटक हो। विद्यार्थी जीवनको हरेक पाटामा अनुशासनको महत्वपूर्ण भुमिका हुन्छ।
अनुशासन नभएको विद्यार्थी 'छाला नभएको भकुण्डो जस्तो हुन्छ'। जसमा कुनै गति हुँदैन र अगाडि बढ्न सक्दैन। एउटै ठाउँमा भड्किने सम्भावना हुन्छ। अन्ततः परिवार बिनाको डुंगाझैं गतिहिन र लक्ष्यहीन यात्राको भुमरीमा रुमलिएर जीवनरूपी भवसागरमा डुब्ने खतरा हुन्छ।
संसारका हरेक कुराहरू नियमबाट बाँधिएका हुन्छन्। जस्तै: व्यक्ति, घर, समाज आदि। यी नियमहरूको पालना गर्नु नै अनुशासन मान्नु हो। हामीलाई आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ भनेर सानैमा सिकाएको हुन्छ। बदलाको भावना राख्न हुँदैन, खराब, आचरण र संगत गर्नु हुँदैन भनेर पनि सिकाइन्छ।
सिकेको राम्रो कुराहरूलाई व्यवहारिक जीवनमा उतार्नु नै अनुशासन पालना गर्ने कुराको पहिलो खुड्किलो टेक्नु हो। अनुशासन पालनाबाट नै एउटा नवीन समाजको निर्माण हुन्छ जसमा सबै व्यक्ति, वर्ग, धर्म आदिको आत्मसम्मानको रक्षा हुन्छ। जुन हामी र हाम्रो देशको भविष्य निर्माणको लागि आवश्यक कुरा हो।
अनुशासनमा बस्ने विद्यार्थीले मात्र सही र गलत छुट्याउन सक्ने र गलतलाई त्यागि सही कुरालाई मात्र अगाडि लिएर हिँड्न सक्छन्। जसले गर्दा हामीलाई आफ्नो लक्ष्य प्राप्ति गर्न सजिलो हुन्छ। अनुशासनले व्यक्तित्व विकास गर्नुको साथसाथै, नैतिकवान र क्षमतावान बनाउँछ।
अनुशासन पालना गर्ने विद्यार्थीले आफ्नो मस्तिष्कलाई नियन्त्रणमा राखेर सोच विचार गरेर मात्र निर्णय लिने गर्छ। मनुष्य जीवनको हरेक क्षेत्र र पक्षमा यसको ठूलो भूमिका हुन्छ। एकैछिन कल्पना गरौं यदि नियम र अनुशासन नभएमा व्यक्तिले अर्को व्यक्तिसँग पशुझैं व्यवहार गर्छ होला? जसले गर्दा अनुशासन विद्यार्थी जीवनको मात्र नभई सम्पूर्ण जीवनको अपरिहार्य नियति हो।
(बिसप चालिसे डियरवाक स्कुल, सिफलमा कक्षा ५ मा अध्ययनरत छन्।)