सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मेरो गाउँको नाम माझफाल हो। यो डोल्पा जिल्लामा पर्छ। त्यहाँ धेरै जाडो हुन्छ। हेर्दा सुन्दर छ तर दु:ख छ।
बालबालिकाको सानै उमेरमा बालविवाह हुन्छ। म त्यसबेला पाँच वर्षकी थिएँ। मेरो घर परिवारमा आमा, बाबा, बहिनी र दुई दादा हुनुहुन्छ। ८ बर्षकी हुँदा बाबाआमाले मलाई पढ्न काठमाडौं पठाउने कुरा गर्दै हुनुहुन्थ्यो। बाबा र आमाको कुरा म सुनिरहन्थेँ।
मलाई त काठमाडौं कता हो भन्ने पनि थाहा थिएन। आमाबाबाले भनुहुन्थ्यो, 'काठमाडौं भनेको एउटा ठूलो सहर हो।'
काठमाडौंमा चिनेजानेको कोही मान्छे थिएनन। म काठमाडौं गएर कोसँग बस्ने हो मलाई थाहा थिएन। म सानै थिए। पढ्न जाने भए भनेर अलिअलि खुसी र अलिकति दुखी पनि थिएँ।
दुई महिनापछि मेरो काठमाडौं जाने दिन आयो। म र बाबा माझफलबाट सदरमुकाम गयौँ। बाबाले हवाइजहाजको पहिल्यै टिकट काटिसक्नु भएको थियो। नेपालगञ्जसम्म म र मामा जाने थियौँ। मैले हवाइजहाज पहिलोपल्ट देखेँ। हवाइजहाजभित्र सारै राम्रो थियो।
हवाइजहाज नेपालगन्ज जान उडयो। मलाई लाग्यो त्यस दिनदेखि म आफ्नो आमा, बाबा, दाई, बहिनी र साथीबाट छुटिए। हामी नेपालगन्ज पुग्यौँ । म र मामा हवाइजहाजबाट तल उत्रियौँ। नेपालगन्ज सारै राम्रो थियो। नेपालगन्जमा मामाले मलाई एकजना अंकलसँग भेटाउनु भयो। मलाई काठमाडौं लैजान आउँनुभएको उहाँ नै हुनुहुँदो रहेछ। मामाले मलाई अंकलसग छोडेर जानुभयो।
अंकले मलाई एक जोर लुगा किनेर दिनुभयो। म फुरुङ्ङ पर्दै त्यो लुगा लगाएँ। अंकलले काठमाडौं जाने गाडी टिकट काट्नुभयो। रातको टिकट थियो। म अंकलसँग गाडीको सिटमा बसेँ। अंकलले खानेकुरा किनेर ल्याउनुभयो। राति गाडीमा जाँदा सारै मजा आयो। बाहिर झिलिमिली थियो। मिठो हावा आएको थियो।
बिहान ८ बजे हामी काठमाडौं पुग्यौ। काठमाडौंमा विभिन्न थरीका सामान थिए। गाडी, ठूलाठूला पसल, बाइक, स्कुटर र रङ्गीबिरङ्गी घरहरू। ती सबै देखेर म दङ्ग भएँ। मैले यी सबै कुरा देखेकै थिइनँ।
काठमाडौं आएर मलाई मेरो जीवन नै बदलेको जस्तो लाग्यो। स्कुटरमा आन्टी आउनुभयो। हामी वहाँसग काठमाडौं अनामनगर आयौँ। अंकल र आन्टी एउटा फ्ल्याटमा बस्नु हुँदो रहेछ। अंकलको नाम कृष्ण प्रसाद आचार्य र अन्टीको नाम कल्पना काफ्ले। उहाँहरूकी एउटी छोरी रहेछिन्। म भन्दा अलिकति सानी। मलाई खेल्ने साथी भयो।
गाउँको र सहरको घर कोठा फरक हुँदो रहेछ। कोठा सारै राम्रो थियो। ठूलाठूला खाट, दराज, राम्रा सामान थिएँ। खाना पनि मेरो गाउँको भन्दा फरक र मीठो लाग्यो।
जुन दिन म काठमाडौं आए त्यो दिनदेखि मलाई अंकल र आन्टीले छोरी बनाएर राख्नु भयो। मलाई विद्यलयमा भर्ना गर्नुभयो। मलाई पढ्न लेख्न आउँदैन थियो। क, ख र ए, बी, सी लगायत अक्षरहरु अन्टी अंकलले सिकाउनु भयो। मलाई बिस्तारै पढ्न लेख्न आउन थाल्यो।
म विद्यालयको जाँचमा प्रथम हुन थालेँ। हुँदाहुँदै म कक्षा ५ मा पुगेँ। ५ कक्षामा पनि प्रथम भएँ र पुरस्कार पाए। त्यो विद्यालय ५ सम्म थियो। त्यसपछि म ६ कक्षामा श्री रत्नराज्य माध्यमिक विद्यालय पढ्न थालेँ। ६ कक्षा पनि पास भएर अहिले कक्षा ७ मा पढ्छु।
म ठूली भएपछि सबै कुरा जान्न थालेँ। आफ्नो काम आफैँ गर्न थालेँ। बाबाआमाले जन्माए पनि मलाई अंकल-आन्टीले स्याँहार-सुसार गरेर ठूलो बनाउनु भयो, पढाउनु भयो। मेरो सम्पूर्ण रेखदेख पालन पोषण सबै गर्नु भयो। बच्चालाई जन्माएर मात्र आमाबाबा बन्न सकिँदैन। बच्चाले आमाबाट पाउनुपर्ने माया, व्यवहार र स्याहार-सुसार पाउँनुपर्छ। उनीहरुको भविष्य बनाउने जिम्मा आमाबाबा कै हो। त्यही भएर मेरा लागि मेरा आमाबाबा अंकल र आन्टी हुनुहुन्छ।
म भाग्यमानी रहेछु त्यसैले उहाँहरू जस्तो आमाबाबा भेटेकी छु। अहिले म कक्षा ८ मा पुगेकी छु। मेरो भविष्यको मलाई भन्दा बढी अंकल-आन्टीलाई चिन्ता छ। मेरो भविष्य बनाएरै छाड्छु भन्ने मैले पनि मनमनै सोचेकी छु। मेरो साथमा मेरा भगवान जस्ता अंकल-अन्टी हुनुहुन्छ।
मानिस कर्मले ठूलो हुन्छ र उहाँहरूभन्दा ठूलो मेरो लागि यो संसारमा कोही छैन।
(कविता रोकाया श्री रत्नराज्य माध्यमिक विद्यालय मध्य बानेश्वर,काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छिन्।)