सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मान्छे प्रकृतिको अनुपम उपहार हो
सृष्टिको सर्वोत्तम सिर्जना हो
जो फूलजस्तै मुस्कुराउन सक्छ
जूनजस्तै मधुर प्रकाश छर्न सक्छ
घाम जस्तै उर्जा बनेर फैलिन सक्छ
नदी जस्तै प्यासीहरूको प्यास मेटाउँदै
पाखा, पखेरा र कन्दराहरूमा रमाउँन सक्छ
हो, साच्चै मान्छेले चाह्यो भने
चखेवाजस्तै प्रेम बाड्न सक्छ
परेवाजस्तै शान्ति फैल्याउन सक्छ
चाह्यो भने मान्छेले धर्तीमा
सुन्दरताको अर्को सगरमाथा ठड्याउन सक्छ
निश्चलताका अनेकौं गंगा बनाउन सक्छ
साँच्चै मान्छेले चाह्यो भने
दुनियाँमा अनेकन रंगहरू भर्न सक्छ
तर मान्छे किन बाघजस्तै अबोध नानीहरूको सिकार गर्दै हिँड्छ?
कुकुरजस्तै किन अरूको गन्ध सुघ्दै पछ्याउँछ?
किन कराउँछ, कागजस्तै कर्कश आवाजमा?
अनि किन झम्टिन्छ अरूको भाग सिनोमा सिंहजस्तै बनेर?
निर्दयी मान्छे!
कहिले एटम बनेर पड्किन्छ
हिरोसिमा र नागासाकीहरूमा
कहिले विष बनेर फैलिन्छ
सिरियाका बस्तीहरूमा
कहिले पर्खाल बनेर उभिन्छ
बर्लिन र कोरियाका आँगनहरूमा
र कहिले ताल्चा बनेर झुन्डिन्छ
रोल्पा, रुकुमका बस्तीहरूमा
खै मान्छे?
कहिले मान्छे जस्तै होला?
(बझाङका माइकल बिष्ट हाल काठमाडौंमा रहेर तरून माध्यामिक विधालयमा कक्षा १० मा अध्ययन छात्र हुन्।)