सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एक वर्ष पहिलेदेखि नै कोरोना महामारीको लहर चलेको थियो। तर हाम्रा नेताहरू महामारी रोक्न भन्दा सत्ताका लागि पार्टीका मिटिङ गर्न व्यस्त भए। त्यो देखेर मैले महामारीबाट नबचाउने सरकार हामीलाई किन चाहियो? भनेर एउटा लेख लेखेको थिएँ।
महामारी चलिरहेका बेला पनि मलाई हाम्रा नेताहरू जनतालाई बचाउनभन्दा पनि सत्ताका लागि नै लडाईं लडिरहेका छन् जस्तो लागेको छ।
हामी अहिले कोरोना महामारीको दोस्रो लहरको चपेटामा च्यापिएका छौं। त्यसैले, सरकारले लकडाउन घोषणा गरेको छ। तर मानिसहरूले राम्रोसँग सावधानी अपनाएका छैनन्। केही मानिस घरबाट बाहिर निस्कदा पनि राम्रोसँग मास्क नलगाई निस्केका देखिन्छन्।
मानिसहरूले बिहानको समयमा दूध, खाद्य सामग्री तथा तरकारी किन्न जाँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको देखिँदैन। पसलहरूमा धेरै मानिसहरूले भौतिक दूरी कायम गर्ने कुराको बेवास्ता गरेका छन्। यसरी भीडभाड गर्दा कोरोना महामारीको जोखिम कायमै रहेको छ।
नागरिकले मात्र होइन, सरकारमा रहेका जिम्मेवार मानिसहरू नै भीडभाड गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले भनेको कुरालाई ध्यान नदिएर सरकारले आफैं राजनीतिक गतिविधि र ठुल्ठूला सभा र जुलुस आयोजना गरे। सरकारले नै भीडभाड गर्दै कहिले धरहरा उद्घाटन त कहिले राम सीताको मूर्ति स्थापना गर्ने भन्दै ठूलो जुलुस आयोजना गरे।
सरकारका मन्त्री नै सहभागी भएर चितवनमा समेत ठूला सभा आयोजना भयो। त्यसैगरी, काठमाडौंमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि भए। रथ तान्ने काम र जात्राहरू पनि आयोजना गरिएको थियो। सरकारको आग्रह विपरित पनि जनता अटेरी गरेर यस्ता भीडभाडमा सहभागी भए।
सरकारले यस्ता जात्रा तथा भिडभाडमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नसक्दा कोरोनाको दोस्रो लहर व्यापक हुन पुग्यो। र, सरकारको नियन्त्रण भन्दा बाहिर गयो। धेरै मानिसको ज्यान गयो। यो अवस्था असाध्यै पीडादायक छ।
सरकारले कोरोनाको उपचारका लागि केही नयाँ आइसोलेसन सेन्टर र अस्पतालको व्यवस्थापन त गरेको छ। तर त्यो आवश्यकताअनुसार पर्याप्त हुन सकेको छैन। मलाई कोरोना महामारी तीब्र गतिमा फैलिनु अगाडि नै सचेत भई महामारी नियन्त्रण गर्न लागेको भए यस्तो खराब अवस्था आउँदैनथ्यो होला जस्तो लाग्छ। समयमा ध्यान दिएर काम गरेको भए अहिले यति ठूलो क्षति भोग्नु पर्दैनथ्यो होला भन्ने लाग्छ।
यस्तो महामारीमा पनि हाम्रो देशका नेता र सरकारले देश र जनताको सुरक्षाभन्दा पनि आफ्नै कुर्ची ठूलो छ भन्ने जस्तो गरेका छन्। सरकारले आफ्नो पद बचाउनका लागि ध्यान दिँदा कोरोना नियन्त्रण गर्न कमै मात्र ध्यान दिएका छन्। अस्पतालमा बेड र सुविधा बढाएको भए अहिले मनिसले बरण्डामा नै बसेर उपचार गर्नु पर्दैनथ्यो। अक्सिजनको नपाएर ज्यान गुमाउने अवस्था हुने थिएन।
मलाई अहिले यस्तो लाग्छ कि हामीले सावधानी अपनाएको भए अहिले पछुताउनु पर्ने थिएन। रोग लागेर निको हुनुभन्दा रोग लाग्नबाट बच्नु नै राम्रो हो नि!
मानिसहरूले महामारी समयमा पनि बिहे, वर्तबन्ध, भोजभतेर जस्ता कार्यक्रम गरिरहेँ। यस्तो गरियो भने पछि ठूलो पछुतो हुन सक्छ। त्यसैले, घटना घट्नुभन्दा पहिले नै सावधानी अपनाउन जरूरी छ। मानिसहरूले भोलि नै आउँदैन कि भनेजस्तो गरेर भोजभतेर गरे। यसले आफ्नो मात्र नभई आफ्ना परिवार, नातेदार, छिमेकीको पनि ज्यान लियो। बाँचे भोलि पनि आउँछ, त्यसैले अहिले घरमै सुरक्षित हुनु नै सही साबित हुन्छ।
त्यसैले, मानिसरूले स्वास्थ्यकर्मीले भनेका कुराहरू जस्तै: मास्क लगाउने, भीडभाडबाट टाढै रहने र समय-समयमा साबुनपानीले हात धुने कुराको पालना गर्नु नै उत्तम हुन्छ। मानिसले यस्तो आफैँ बुझ्नु पर्ने कुरा हो। तर मानिसहरूले यसको राम्ररी पालना गरेका छैनन्।
कोरोनाले कस्तो असर गर्छ भन्ने कुरा कोरोनाबाट ठूलो चोट पाएका मानिसहरू र स्वस्थ्यकर्मीलाई मात्र थाहा छ। जसले आफ्ना परिवारका सदस्य गुमाएका छन्, उनीहरूले कोरोना के हो भन्ने भोगेका छन्। हस्पिटलको आइसियूमा र बाहिर आँसु चुहाएका मानिसलाई देखेर थाहा हुन्छ कोरोनाले कस्तो विपत्ति पारेको छ भनेर। त्यस्तो कुरा देखेर नै सिक्नु पर्छ, कसैलाई पनि यस्तो अनुभव गर्नु नपरोस्। त्यसैले कोरोनालाई हल्का रूपमा लिनु भनेको आफैंले आफ्नो खुट्टामा बन्चरो हाने जस्तै हो।
हाम्रो देश शुरूमा भारत र चीनबाट कोरोनाको खोप ल्याउन सफल भयो। केही डोज खोप कोभ्याक्सबाट पनि प्राप्त गरेको थियो। खोप शुरूवात गर्दा हाम्रो देश पनि पहिलो ५० देश भित्र परेको थियो। धेरै स्वास्थ्यकर्मीहरूले खोप लगाएका छन्। वृद्ध-वृद्धाहरूलाई पनि सरकारले पहिलो डोज खोप दियो। यो अत्यन्त राम्रो काम भएको थियो। तर अहिले अवस्था त्यस्तै रहेन। वृद्ध-वृद्धाहरूले दोस्रो डोज खोप समयमा लगाउन पाएनन् र कहिले पाउँछन् भन्ने पनि थाहा छैन। यस्तो अवस्था हुनु लाजर्मदो भएको छ।
खोप पाउन पनि सजिलो त छैन। संसारभर खोपको माग धेरै छ। धनी देशहरूले पहिले नै धेरै खोप ओगटेका छन्। थोरै देशहरूले खोपको धेरै मात्रा लिएका छन्। यसले गर्दा धेरैजसो गरिब र महामारीको चपेटामा परेका देशहरूले खोप पाउन सकेका छैनन्। सरकारको पहल गरे पनि सजिलै खोप पाउन गाह्रो छ। त्यसैले, महामारीबाट जोगिन हामीले सावधानी अपनाउनु पर्छ। नत्र फेरि पछुताउनु पर्नेछ।
नेपालमा कोरोनाको पहिलो र दोस्रो लहर आइसक्यो। पहिलो लहरमा कोरोनाले वृद्ध-वृद्धाहरूलाई बढी असर गरेको थियो भने दोस्रो लहरमा युवाहरूलाई पनि धेरै असर गर्यो। अब तेस्रो लहरमा बालबालिकालाई ठूलो जोखिम हुनेछ भन्ने चिकित्सकहरूको भनाई छ। उनीहरूले तेस्रो लहर आउन सक्छ भनेर सचेत गराइसकेका छन्।
अहिले कोरोनाबाट संक्रमित हुनेको संख्या घट्दै गएको भए पनि तेस्रो लहरबाट बालबालिकालाई ठूलो खतरा हुनसक्छ। बालबालिका लागि खोप समेत बनेको छैन। त्यसैले, पछि केही गुमाएर पछुताउनुभन्दा अहिले नै सावधान हुनु र सुरक्षित बस्नु नै बुद्धिमानी हुन्छ।
यो संकटको बेला अस्पतालमा उपचार गर्न पनि धेरै गाह्रो छ। एक संक्रमित सामान्य हुँदा अस्पतालमा लास र छटपटिएका मानिस देख्दा मानिसको मनोबल घटेर मानिसहरू कमजोर (होपलेस) हुन पुग्छन्। त्यसैले, कोरोना लागेर अस्पताल जानुभन्दा कोरोनाबाट बच्न घरमै बसेको ठीक हुन्छ।
अघिल्लो वर्षदेखि नै सरकार राम्रो व्यवस्था मिलाउन सफल भएको थिएन। त्यही गल्तीको कारण नेपालले यति ठूलो समस्यासँग लड्नु परेको छ। हाम्रा नेताहरू र सरकार यस वर्ष पनि प्रधानमन्त्रीको लागि लडिरहेका छन् र कोरोना महामारी रोक्न त्यति ध्यान दिएका छैनन्। यस्तो लापर्वाही गर्यौं भने देशलाई झनै धेरै क्षति हुन पुग्छ।
कोरोनाले २०७२ को भुकम्पले भन्दा धेरै क्षति पुर्याइसकेको छ। यस्तै भइरह्यो भने अब कति गाह्रो हुन्छ भनेर सोच्न पनि कठिन भइसक्यो। अहिले हाम्रो देश कोरोनाले मात्र हैन, राजनीतिले पनि ध्वस्त भइसक्यो। कोरोना माहामारीमा पनि देशको चिन्ता नगरी राजनीतिमा धेरै ध्यान दिएका छन्। त्यसैले, नागरिक आफैँले नै सावधानी अपनाउनु पर्छ र कोरोना महामारीबाट जोगिनु पर्छ।
यो समय घुमफिर गर्ने समय होइन। यो समयमा महामारीबाट बचेर परिवारलाई सुरक्षित राखौं। मनका इच्छा पछि पनि पुरा गरौंला। यो सङ्कटको समयमा दैनिक मजदुरी गर्नेलाई एक छाक कसरी खाने भन्ने कुराको पीर छ। मानिसहरूलाई बिहान-बेलुका खान पनि धौ-धौ परेको छ। यस्तो अवस्थामा सरकारले उनीहरूलाई सहयोग गर्नुपर्छ। उनीहरूको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ।
हामीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं। सबै मिलेर यो संकट पार गरौं। हामीले अहिले सावधानी अपनाएनौं भने भोलि फेरि पछुताउनु पर्छ।
(सार्थक सिग्देल नाईटिङ्गेल अन्तर्रराष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।)