सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मानिसको जीवन कुमालेको चक्र जस्तै हो। सबैको आफ्नो परिवार हुन्छ। सँगै बाध्यताहरू हुन्छन्। आफ्नो परिवारको पेट पाल्न अनि उनीहरूको हरेक आवश्यकता पुरा गर्नका निम्ति आर्थिक अवस्था राम्रो हुनुपर्छ। भन्नुको अर्थ पैसा चाहिन्छ। अनि पैसा कमाउन रोजगारीको आवश्यकता पर्छ। नेपालमा रोजगारीको निक्कै खाँचो छ।
हाम्रो समाजमा बेरोजगारीको संख्या बढेको बढ्यै छ। त्यसैले, धेरै राम बहादुरहरू रोजगारको लागि विदेशिने गर्छन्।
'नेपालमा बसेर केही हुँदैन र यहाँ कुनै भविष्य छैन,' भन्ने सोच हरेक युवाको मस्तिस्कमा बसेको छ।
'खबुज' किताब पनि त्यस्तै विदेशिएका युवाको जीवन कथामा आधारित छ। यो म पात्रको भोगाइहरूको परिवेशमा लेखिएको सुन्दर रचना हो। यस कथामा म पात्र बेरोजगार हुन्छ। ऊ कामको खोजीमा हुन्छ। उसका निकै मिल्ने साथी पुलिस चौकीको वरिपरि भौतारिएर हिँडिरहेका हुन्छन्। त्यतिकैमा पुलिसले उनीहरूलाई बोलाउँछ। उनीहरू चौकीमा छिर्ना साथ उनीहरूको आँखा चौकीको भित्तामा अडिन्छन्। जहाँ थुप्रै चित्रहरू हुन्छन्।
म पात्रको आँखा तिनैमध्ये एउटा चित्रमा गएर अडिन्छ। त्यहाँको प्रहरी मुदिरले उसलाई त्यो चित्रमा भएको मान्छेको बारेमा सोध्छ। म पात्रको कारागार यात्रा त्यहीबाट सुरू हुन्छ।
कारागारमा उसको अरू पनि थुप्रै मानिससँग भेट्छ। त्यहाँ उसले विभिन्न मानिसका पीडा सुन्छ, देख्छ अनि महसुस गर्छ। ऊ कारागारबाट छुटेपछि खाडी मुलुकको यात्रा तय गर्छ।
म पात्र रोजगारीका लागि खाडी मुलुकको एयरपोर्टमा पुग्छ। उ र उसका साथीहरूको लामो पर्खाइपछि उनीहरूलाई लिन एक अरबी साँहु आइपुग्छन्। अनि म पात्र र उनका साथीहरूलाई अलग-अलग ठाउँमा लगिन्छ।
त्यहाँ म पात्रको डरलाग्दो आकृतिसँग भेट हुन्छ। म पात्र त्यहाँ संघर्षपूर्ण जीवन बाँचिरहेको हुन्छ। त्यतिकैमा साँहुको छोरीको विवाहको दिन आउँछ। यहि मौका छोपेर म पात्र र त्यहाँ भएका अन्य साथीहरू भाग्न सफल हुन्छन्। मरूभूमीको बाटोमा धेरै अफ्ठ्यारा र कष्टपुर्ण दिनहरू काट्दै, पानी पनि नपाएर प्याक-प्याक भएर यात्रालाई निरन्तरता दिन्छन्।
उनीहरू यसको लागि बाध्य थिए। कथामा उनीहरूको बाध्यता देखाइएको छ। तर अन्तिममा म पात्र मात्रै बाँच्न सफल हुन्छ। र उसले आफ्नो जीवनलाई निरन्तरता दिन्छ।
मैले यो कथाबारे सुनाउँदै गर्दा बीच-बीचमा खाली ठाउँहरू छाडिदिएको छु। म पात्रसँग भेट भएका साथीहरू को थिए? म पात्रलाई किन कारागारमा राखियो? म पात्रले कति समय र कसरी कारागारको जीवन बिताए होला? र के कस्तो अनुभव भोगे होलान्?
अन्तमा म पात्र बाच्न त सफल भयो। तर त्यो अन्जान ठाउँबाट ऊ कसरी फुत्किन सफल भयो? यी सब कुरा थाहा पाउन भने किताब नै पढ्दा राम्रो हुन्छ।
'खबुज' मलाई मनपर्ने किताबमध्येको एक हो। म कक्षा ७ मा हुँदा यो किताब नेपाली साहित्य पढ्नेक्रममा स्कुलको छनौट अन्तर्गत पढेको थिए। यसमा निकै सरल भाषाशैली प्रयोग गरिएको छ।
यसको कथामा कही रमाइलो अनुभव गर्न सकिन्छ भने कही डरलाग्दो अवस्थाहरू पनि छन्। जसलाई हामीले पढेर महशुस गर्न सक्छौं। यस रचनाले खाडी मुलुकमा गएका युवाहरूको अवस्थालाई मर्मस्पर्सी रूपमा स्पस्ट पारेको छ। त्यहाँ पैसा, इज्जतभन्दा पनि सोच्नै नसकिने दुःख, कष्ट र अमानवीय व्यावहार सहनुपर्ने रहेछ भन्ने कुरा 'खबुज' मा रहेको म पात्रको भोगाइबाट मैले थाहा पाएँ।
यो कथाले मेरो मानसपटलमा देश प्रेमको भावना जागृत गरिदिएको छ। हामीले आफ्नै भूमीमा रगत र पसिना बगाएर संघर्ष गर्नु पर्छ भन्ने सन्देश पाएको छु। यो रचना मलाई यति चाख लाग्यो कि मैले एकै दिनमा पुरै किताव पढेँ र साथीहरूलाई नसुनाइ बस्नै सकिन।
यो किताबमार्फत जीवनका संघर्षलाई सानै उमेरमा नजिकबाट बुझ्ने मौका दिनुभएकोमा म मेरो स्कुललाई समेत धन्यवाद दिन चाहन्छु।
(पृथ्वी राज चौहान अक्षरा स्कुल काडाधारीमा कक्षा ९ मा अध्ययनरत छन्।)