सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
नेपालमा कोरोना संक्रमित संख्या दिनहुँ बढिरहेको छ। मेरो परिवारमा पनि कोरोना संक्रमित छन्। म आफैँ पनि संक्रमित भएँ।
मेरो बाबा काठमाडौंको ऱ्याडीसन होटलमा काम गर्नुहुन्छ। पर्यटन क्षेत्र भएकाले यतिबेला दुई महिनामा जम्मा १० दिन काममा जानुहुन्छ। सबै ठीकै थियो। तर सधैं सबै ठीक नहुने रहेछ।
दोस्रो लहरको कोरोना नेपालमा पनि देखाए सँगै बाबालाई पनि संक्रमण देखियो। केही समयपछि ममी, भाइ र मलाई पनि संक्रमण देखियो।
कोरोना संक्रमित हुँदा शरीर निकै दुख्ने रहेछ। मलाई कसैले मेरो शरीरमा कुटे जस्तो भयो। खोकी पनि लगातार लाग्यो। ज्वँरो पनि हनहनी आउने रहेछ। शरीरको सम्पूर्ण भाग पोल्ने रहेछ। मलाई निकै गार्ह्रो भयो। बाबाले भने पहिलो डोजको खोप लगाउनु भएकाले होला हामीलाई भन्दा कम गार्ह्रो भएको हो कि भन्नुहुन्छ।
एउटा दुःखको कुरा के भने, कोरोना संक्रमण भएपछि मैले झन्डै २० दिन अनलाइन कक्षामा हाजिर हुन पाइन। अहिले भने म परीक्षा दिँदैछु।
मैले कोरोना लागेपछि के बुझेँ भने, हामीले जति सुन्छौं त्यो भन्दा शक्तिशाली रहेछ यो भाइरस। म सबै पाठकलाई घरमै बस्न आग्रह गर्छु। पोषिलो खानेकुरा खाने, गेडागुडी र मासुको झोल खाने, सागपात र जडीबुटी खाने, पानीको बाफ लिने र तातोपानी खाने गरे हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौं।
यस्ता कुरा खाए कोरोनालाई जित्न सकिन्छ। हामीले त त्यही गर्यौं।
घरमै बसौं, कोरोना भगाऔं।
(ओजस्वी पोखरेल विद्या संस्कार विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन्।)