सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कोरोना महामारी फैलिएसँगै काठमाडौंका सबै विद्यालय बन्द भए। म पढने श्री नेपाल पुष्पान्जली शिक्षालय पनि बन्द भयो। त्यसपछि हामी पर्वत जिल्लामा पर्ने फलेबासमा आयौं।
फलेबास पर्वत जिल्लाको कालिगण्डकी नदि छेउमा रहेको समतल उपत्यका हो। फलेबास नगरपालिका भए पनि हामी यसलाई गाउँ भन्छौं। वरिपरी डाँडाले घेरिएको यो स्थानमा कतै समतल त कतै भिरालो छ।
काठमाडौंको मध्य-बानेश्वर बस्दाजस्तो भीडभाड यहाँ छैन। ठूला-ठूला घर पनि छैनन्। धेरैजसो घर ढुँगा र माटोले बनेको हुन्छ। छाना जस्ता पाताले छाएका छन्। घरहरू पनि टाढा-टाढा छन्। यतिबेला त खेतमा मकै पनि हुर्किसकेका छन्। मकै गोड्ने बेला भएको छ। चारैतिर हरियाली छ। विभिन्न प्रजातिका रूख र बिरूवाहरूले गाउँलाई हरियाली बनाएको छ।
काठमाडौंमा छँदा हामी पानी तताएर मात्र खाने गर्थ्यौं। अहिले गाउँमा चिसै खान्छौं। पानीको स्वाद पनि बेग्लै लाग्छ।
हाम्रो घरमा विभिन्न फलफूलका बिरूवा छन्। बारीमा आँप र लिचीको साना-साना फल लागेका छन्। केराको घारीमा केरा पाकेका छन्। काठमाडौं भन्दा मलाई यतिबेला फलेबास नै रमाइलो लागिरहेको छ।
यहाँ हामी बिहान-बिहान मर्निङ वाकको लागि लमाये खोला अनि लिमिठानाको जंगलसम्म पुग्छौं। मेरो गाउँमा साथीहरू पनि छन्। तर अहिले उनीहरूसँग पनि खेल्न पाएको छैन।
कोरोना भाइरसको डर यहाँ पनि उत्तिकै छ। बाबाहरूले यहाँ पनि कोरोना संक्रमित बिरामीहरू बढेको कुरा गर्नुभएको सुनेकी छु। हामी दिउँसोको समय अनावश्यक कामका लागि बाहिर निस्केका छैनौं। केही काम परे बाहिर निस्कदा मास्क लगाएर मात्र निस्कन्छौं। कतै जाँदा सेनिटाइजरको प्रयोग गर्छौं। र बाहिरबाट फर्कदा साबुन-पानीले राम्ररी हात धुन्छौं।
घरमा मैले सबैलाई मास्क अनिवार्य प्रयोग गर्न र कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सावधनी अपनाउन अनुरोध गरेकी छु।
हामी सबै जना सुरक्षित हुनुपर्छ है!
(आन्भी पोखरेल श्री नेपाल पुष्पान्जली शिक्षालयमा कक्षा ५ मा अध्ययनरत छिन्।)