सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
यो घटना लकडाउनभन्दा पहिलेको हो। तर पनि मलाई मेरो जिवनमा घटेका घटनामध्ये अलिक बढी सम्झना छ।
सधैझैं मेरो साथी मेरो घरमा मलाई बोलाउन आयो। साथी र म सँगै स्कूल जान्छौं। त्यो दिन पनि त्यसैगरी मलाई बोलाउन साथी आएको थियो। हामी सँगै स्कुलतिर लाग्यौं।
हामी स्कुल गइरहेको बेला बाटोमा एउटा सानो सेतो रंगको बिरालोले बाटो काट्यो। बाटो काटेपछि हामी केही बेर रोकियौं। र एकैछिन पछि मात्र फेरि हिड्न थाल्यौं। बिरालोले बाटो काटेको त्यो घटनाले मलाई सोच्न बाध्य बनायो। वास्तवमा बिरालोले बाटो काटेको घटनाले भन्दा पनि हामी बिरालोले बाटो काटेको देखेपछि किन रोकियौं भन्ने कुरा मनमा खेल्न थालेको हो।
'हामी त्यतिखेर रोकिन जरूरी थियो र?' यस्तै कुरा मेरो मनमा खेल्न थाले।
सोचेँ, हामी मूर्ख भएकाले पनि हुन सक्छ त्यस्तो अन्धविश्वासमा विश्वास गरिरहेको। बिरालोले बाटो काट्दैमा के नै हुन्छ र?
हामीले थुप्रै सामाजिक कुरिती र अन्धविश्वासहरू जस्तै छुवाछुत, दाइँजो प्रथा, घुम्टो, छाउपडी जस्ता चलन नराम्रो भन्ने पढेका छौं। सामाजिक विषय र नेपाली विषय मै पनि पढेका छौं। यत्रो पढेलेखेका हामीले मनबाट बिरालोले बाटो काट्ने बित्तिकै आफूले काट्नु हुँदैन भन्ने अन्धविश्वासलाई तोड्न सकेनौं भने योभन्दा ठूला कुरिती र अन्धविश्वासलाई हाम्रो समाजबाट कसरी र कहिले हटाउने सक्ने?
हामीले जे गर्यौं त्यो ठिक थिएन। हामीले पढेको कुरा व्यवहारमा उतार्न सकेनौं। तर समाजमा जे देखिरह्यौं र समाजले जे सिकायो, त्यही चलनलाई निरन्तर्ता दियौं।
यस्ता खालका कुरिती र अन्धविश्वास बढ्नु र फैलिनुको प्रमुख कारण सामाजिक बनावट साथै अशिक्षा, अज्ञानता, गरिवी, बेरोजगारी र भष्ट्राचार हुन्।
मलाई मनमनै लाग्न थाल्यो, 'समाजमा हुने विभिन्न खालका यस्ता कुरिती र अन्धविश्वास हटाउन शिक्षित विद्यार्थीहरूको निकै महत्वपूर्ण भूमिका हुन्छ। तर समाजमा थुप्रै यस्ता व्यक्तिहरू छन् जो पढ्छन् एउटा कुरा तर व्यवहारमा उनीहरूले पढेको कुरा उतार्न सकिरहेका हुँदैनन्।
नेपालमा त्यस्ता व्यक्तिको कमी छैन्। तर पनि शिक्षित व्यक्ति भनेको शिक्षित नै हुन्छन्। उनीहरूमा सोच्ने र बुझ्ने क्षमता बढी हुन्छ। सायद त्यसैले होला हाम्रो सामाजिक शिक्षक बारम्बार शिक्षा व्यावहारिक हुनुपर्छ भन्ने गर्नुहुन्छ।
नेपाल यस्ता कुरामा अझैं पछाडि परेको छ। नेपालमा विभिन्न धर्म र संस्कृति पछ्याउनेहरू छन्। त्यस्तै विभिन्न संस्कृतिअनुसार चालचलन पनि फरक-फरक छन्। नेपालीहरू थुप्रै अन्धविश्वासलाई मान्छन्। देश विकास नहुनुमा यस्ता कुरिती र अन्धविश्वासहरूले पनि रोकेको हो कि भन्ने लाग्यो।
त्यो दिनको घटनामा हुन त एक किसिमले मेरो पनि गल्ती छ। बिरालोले बाटो काट्दा म पनि त रोकिएको थिएँ। आफ्नो गल्तीभन्दा अरूको गल्ती छिटै देखिन्छ भने कुराको अनुभूति पनि मलाई यसबाट भयो। त्यो बेला मेरो साथी रोकिँदा मैले उसलाई त्यसो गर्न हुँदैन भन्न सकिनँ।
हामीले सामाजिक विषयमा त्यतिका कुरा पढेको अर्थ नै रहेन। हामी विद्यार्थी सचेत र जागरूक हुनुपर्छ भनेर सम्झाउनुको सट्टा साथीले जे गर्यो मैले पनि त्यसै गर्नु ठीक थिएन।
एउटा साथीले अर्को साथीलाई सुधार्न नसके साथी पनि के साथी?
समाजको कुरिती र अन्धविश्वासलाई जरैदेखि उखेल्नु छ भने एकले अर्कालाई के सही र के गलत भन्ने सम्झाउन सक्नुपर्छ। त्यस्तै हामी विद्यार्थीहरूले पनि समाजमा घट्ने विभिन्न किसिमका घटनालाई हटाउन सचेतनाका कार्यकमहरू संचालन गर्न सक्छौं। समाजिक कुरिती र अन्धविश्वास हटाउने उपाय भनेको चेतना, ज्ञान र शिक्षा अभिवृद्धि नै हुन्। त्यसका साथै शिक्षालाई व्यावहारिक बनाउनु पर्छ।
यी सब कुरा मनन गरेपछि मैले त्यही दिन मेरो साथीलाई भने। त्यस दिनदेखि हामीले त्यस्तो कुनै पनि अन्धविश्वासमा लाग्नु हुँदैन र अरूलाई पनि लाग्नबाट सचेत गराउनु पर्छ भन्ने संकल्प गर्यौ।
(योगराज पराजुली दुलावारी माध्यामिक स्कुल, झापा कक्षा १० मा अध्ययनरत छन्।)