सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
ममीले सुनाउने कथाहरू मलाई असाध्यै मन पर्छ। त्यसैमध्येको एउटा कथा छ, जुन एउटा कुकुरको वास्तविक कथा हो। त्यो कुकुरको नाम रेन्बो हो। रेम्बोलाई देख्न नपाए पनि उसको बारेमा मैले धेरै सुनेकी छु। आज म रेम्बोको कथा भन्दैछु।
मेरो मामा पहिले कोरियन दुतावासमा काम गर्नुहुन्थ्यो। एक समय मामाको दुइ जना साथी कोरिया जानुपर्ने भएछ। त्यसैले उनीहरूसँग भएको कुकुर मामालाई दिएर जाने कुरा भएछ।
मामालाई कुकुर मन पर्छ। उहाँ साथीहरूको कुकुर पाल्नेमा सहमत हुनुभयो। कुकुरलाई डोर्याउदै मामा खुशी हुँदै घर फर्किनु भयो। उहाँले घरमा कुकुर ल्याउनु भएको देखेर एक जना छिमेकले सोधेछन्, 'होइन ए विजय, कहाँबाट कुकर बोकेर आइस्?'
मामाले त्यसमा हाँस्दै भन्नुहुभएछ, 'यो त कुकर होइन कुकुर हो।'
'त्यै भनेको हो क्या हामीले पनि। जिब्रो चिप्लेर मात्र...' छिमेकीले पनि मामालाई भनेका थिए रे।
त्यसपछि मामा कुकुर लिएर घरतिर लाग्नु भएछ। ढोकामा पस्ने बित्तिकै उहाँलाई हुजरबुवाले सोध्नुभएछ, 'ए विजय! कहाँबाट यति राम्रो कुकुर ल्याइस हँ?'
मामाले भन्नु भएछ, 'साथीहरू कोरिया जान लागेका छन् बुवा। उनीहरूले नै दिए।'
छोराले घरमा कुकुर ल्याएको देखेर हजुरबुवाले हजुरआमालाई बोलाउनु भएछ, 'ए विजयकी आमा यता आइज त! कुकुर ल्याएको छ विजयले।'
कुरा सुनेर हजुरआमा दौडिदै सोध्न आउनुभएको थियो रे, 'ठट्टा त गर्नुभएको होइन हजुरले हँ? के भन्नुभएको?'
हजुरबुवाले आफूले ठट्टा नगरेको बताउँदै भन्नुभएछ, 'होइन। साँच्चै विजयले कुकुर ल्याएको छ।' हजुरआमा पनि कुकुर भएको ठाउँसम्म पुग्नु भयो। अनि अलि निहुँरिदै भन्नुभएछ, 'ए यसले टोक्ने त होइन?'
हजुरआमाले यसरी सोध्नुभएपछि मामाले तुरुन्तै जवाफ फर्काउँदै भन्नुभयो, 'यसले टोक्दैन। हामीलाई चिनिहाल्छ नि।'
हजुरबुवा, हजुरआमा र विजय मामा कुकुरलाई हेर्दै कुराकानी गरिरहनु भएको बेला सञ्जय मामा त्यहाँ आइपुग्नु भयो। बुवाले सञ्जय मामालाई भन्नुभएछ, 'ए सञ्जय! फेरी विजयको बाइक चलाउन त गइनस् एक्लै?'
सञ्जय मामाले त्यो बेला कुरा घुमाउदै भन्नुभएको थियो रे, 'ममी यो कुकुर अब हामीले यही राख्ने है?'
त्यतिकैमा मेरो ममी र जयन्ती सानी पनि त्यहाँ पुग्नुभएछ।
'आमै कुकुर! होइन कसले ल्यायो यो कुकुर?' दुवैले त्योबेला उफ्रदै भन्नुभएको थियो रे। विजय मामाले कुकुर आफूले ल्याउनु भएको बताउनु भयो।
ममीले भने अनुसार परिवारमा कुकुर आएको भएर सबैजना खुशी हुनुहुन्थ्यो। त्यसपछि कुकुरको नाम के राख्ने भन्ने विषयमा छलफल भएछ। कुकुर केटी थियो। त्यसैले जयन्ती सानीले भन्नुभएछ, 'यसको नाम रोजी राखौं।'
हजुरआमाले फेरि भन्नुभएछ, 'होइन। यो कुकुर सेतो छ। सेती राखौं।' ममीले भने कुकुरको नाम सेती नराख्ने भन्नुभएछ। किनभने सेती नदीको नाम भन्ने तर्क दिनुभएछ। ममीले कुकुरको नाम लिली राख्ने भन्नुभएछ।
सबैको कुरा सुनेपछि सञ्जय मामाले भन्नुभएछ, 'होइन। बरू यसको नाम रक्की राखौं।' विजय मामालाई कुनै पनि नाम चित्त नबुझेपछि हजुरबुवालाई नाम राखिदिन भन्नु भएछ।
अनि हजुरबुबाले भन्नुभएछ, 'अबदेखि यसको नाम रेन्बो।'
घरका अरू सबै सदस्यले 'रेम्बो' नाम मन पराउनु भयो। त्यो दिनदेखि हजुरबुवा, हजुरआमा, मामाहरू, ममी र घरका सबैजनाले रेम्बोलाई खुबै माया गरेर राख्नुभएको थियो।
रेम्बोलाई मैले प्रत्यक्ष देखेकी त छैन। तर रेम्बोको बारेमा भने खुबै सुनेकी छु।
(सुकृति सारा शर्मा ज्ञानकुञ्ज उच्च मा.विद्यालय, रविभवनमा कक्षा ४ मा अध्ययनरत छिन्।)