सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कोरोना भाइरसको कारण भएको लकडाउनले हाम्रो विद्यालय १ वर्ष नै बन्द भयो। जसकारण हाम्रो अनलाइनबाट पढाइ सञ्चालन भयो।
वि.सं २०७७ को चैत्र महिनामा विद्यालयले हामीलाई अब विद्यालयमा नै पढाउने भन्ने सूचना पठायो। मोबाइलमा आएको त्यो सूचना देखेर १ वर्षसम्म घरमै थुनिएर बसेका हामी निकै खुशी भयौ।
विद्यालयमा जाँदा पालना गर्नुपर्ने नियमका बारेमा विद्यालयको वेभसाइटमा राखिएको थियो। विद्यालयमा प्रवेश गर्नको लागि अड्चालीस घण्टाभित्र गरिएको पिसीआर रिपोर्ट चाहिने भयो। म आमासँग पिसीआर रिपोर्टको लागि हेटौंडा हस्पिटल गएँ। त्यो दिनको पर्सिपल्ट विद्यालय खुल्ने दिन थियो।
तर कस्तो संयोग भने नेपाल सरकारले वायु प्रदुषणका कारण नेपालभरका विद्यालय ४ दिनको लागि बन्द गर्ने निर्णय गर्यो।हामी विद्यालय जान पाएनौं जसले हामीलाई निकै निराश बनायो। फेरि चैत्र २३ गते विद्यालय खोल्ने सूचना आयो। अनि हामी विद्यालय जाने तयारी गर्न थाल्यौं।
विद्यालय भित्रै बसेर पढ्ने भएको हुँदा हामी धेरै खुशी थियौं। परिवारलाई छोडेर जानुपर्ने भएको हुँदा कता-कता नरमाइलो पनि लाग्दै थियो। म मेरो बाबासँग विद्यालय पुगेँ। पहिलेजस्तो साथीहरूसँग नजिक भएर बस्न अनि खेल्न नपाउँदा नरमाइलो लाग्न थाल्यो।
विद्यालय गएको भोलिपल्टदेखि पढाइ सुरू भयो। हामीले मास्क, सेनिटाइजरका साथ पढाइ सुरू गर्यौं। २ महिना जति पढाइ भएर परिक्षा होला भनेको त २ हप्ता मात्र पढाइ भएर परीक्षा हुने सूचना आयो। हामी त दंग पर्यौं, परीक्षाको लागि तयारी नै थिएन। जे भए पनि परीक्षा त दिनैपर्ने भयो। हामी तयारीमा लाग्यौ।
यही वैशाख १६ गतेदेखि भनिएको परीक्षा पनि अगाडी नै हुने भयो। परीक्षा त वैशाखको ९ गतेदेखि सुरू हुने भयो। हामीलाई त अचम्मै लाग्यो। तर पनि तयारीमा जुटिराख्यौं। ९ गतेदेखि परीक्षा सुरू भयो। फेरी परीक्षा पूरै सकिन नपाउँदै स्कुल छुट्टी हुने सूचना आयो। निकै अलमलमा पर्यौं हामी।
१५ गते परीक्षा सकिने भने पनि हामी १४ गतेसम्मको भयो। बाँकी रहेको विषयको बारेमा केही थाहा छैन। तीन महिना पढाइ होला भनेको त तीन हप्ता मात्रै भयो। कस्तो अन्योलमा पार्यो कोरोनाले हामीलाई।
कहिले मुक्ति मिल्छ होला यो कोरोनाबाट?
(रुबिआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छिन्।)