सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
हाम्रो घर अलिक संस्कारी छ। धर्म, कर्म, पूजा-पाठ टुट्दैन। वर्षमा एकपटक जुनसुकै भए पनि तिर्थ जानुपर्छ भन्ने भावनाले गत वर्ष हलेसी महादेव, खोटाङ्ग, र कालिञ्चोक भगवगतीको दर्शन गर्न परिवार नै गएका थियौ। लकडाउन हुने दिन रातको समयमा घर आइपुग्यौ।
यात्रामा समयमा खाजा, खाना, पानी र शौचालय जान नपाउँदाको कष्ट सम्झदा कुनै यात्रामा फेरी जान मन नलाग्ने पनि हुन्छ। केटा-केटी, हजुरबा, हजुरआमा लगायत सबै उमेर समूहको यात्रामा केही सहज त थियो नै। फेरी हजुरबा विरामी र केटाकेटी भएको नाताले हुने फाइदा यात्रामा हुने सबैले लिन पाउँथे।
विरामीको आधारमा हुने सवारीको चाल, भाइले हरेक घुम्तीमा गर्ने वान्ताले केही खुट्टा तन्काउने र ढाड सोझ्याउने अवसर सबैलाई मिल्थ्यो र धन्यवाद भन्थे। तर विचरा वान्ता गर्दा-गर्दा उसको आवाज नै सुन्न कान तिखो पारेर छेउमै जानु पर्ने अवस्था थियो। त्यसपछिको लकडाउनले पूरै वर्ष टिभि, मोबाइल र गेम खेल्दै बित्यो।
गत वर्ष पढाइमा ए प्लस आउथ्यो यस वर्ष ए प्लस खोज्न चस्मा लगाउनुपर्ने भयो। सबै कुरा बिग्रियो। साथीभाइसँग नभटेको पन्ध्र महिना बितेछ। कतिले स्कुल नै परिवर्तन गरेछन्। सबै साथी स्कुलको ढोकाबाट सजिलै नछिर्ने भएछन्। विचरा स्कुलले समेत ढोका मर्मत गर्ने दिन नजिकै होला।
फेरी कोरोनाको कहर पुनः बढ्न थाल्यो। छर छिमेक, साथीभाई, कार्यालय, सबै विराना हुँदै गए। दैनिक संक्रमित र मृत्युदर सगरमाथा छुने गरी दौडदै छ। अब फेरी कस्तो दिन आउने हो? कसरी पुरानो संसारमा फर्कने हो धेरैले सोच्न नै छाडीसके। सोचेर दिमागी रोग बढाउनु शिवाय केही छैन।
यसपटक फागु पुर्णिमाको बिदा पारेर पश्चिम नेपालको तिर्थ यात्रामा निस्कियौं। त्यो बेला त कोरोना सबैले बिर्सन लागेका थिए। संक्रमित पनि न्यून हुँदा उपचार पद्धतीले सबैलाई सहज नै बनाएको थियो। यस पटकको यात्रामा ठाकुरद्वारा, स्वर्गद्वारी, देउती बज्यै मन्दिर, काक्रे विहार लगायत पश्चिमम नेपालका केही तिर्थस्थलमा पुग्ने अवसर भयो।
यात्रामा बोनस पाएको रारा तालको यात्रा सााह्रै दुःखपूर्ण थियो। तर त्यहाँ पुग्दाको आनन्दले सबै दुःख बिर्सायो। सानो ट्विनअटर प्लेन हल्लिदाको डर बिर्सने हो भने यात्रा गाडीमा भन्दा हवाइजाहजमा सस्तो र सरल हुँदो रहेछ। अनकन्टार डरलाग्दा र उजाड डाँडाहरू माथिबाट जाने हवाइजहाज गाडीभन्दा सहज नै लाग्यो।
एक डाँडा र अर्को डाँडा बीचको खोचमा हवाइजहाज हल्लिएको सम्झिने हो भने त किन जानु रारा? रत्नपार्क गएर रानी पोखरी हेरेकै राम्रो। तर हाम्रा नेपाली पाईलट सहासी हुन्। हामीलाई एक पटक ओहोरदोहोर गर्दा यस्तो छ। उनीहरू त दिनमा चार-पाँच पटक आउने जाने गर्छन्। हैट! सम्झिदै डर लाग्ने।
हवाइजहाजमा हामीलाई मात्र ६ घण्टा लाग्यो। घोडाको सुविधासमेत रहेछ। प्रति व्यक्ति पन्ध्र सय। मान्छे नपाए पाँच-सात सयमा समेत लैजादा रहेछन्। बाटो टाढा छ, उकालो छ भनेर घोडा चढीको व्यापार गर्नेलाई समेत तह लगाइयो।
हामी हिँड्दै जाने भने पछि पाँच सयमा एउटा घोडाले भाई र झोला लग्यो। टोलीमा गफिँदै र तालको किनार पुग्न एक, सवा घण्टा लाग्यो होला। त्यसपछि सबैले भनेको स्वर्गको टुक्रा राराको किनार भेटेपछी बासस्थान पुग्न झण्डै पाँच घण्टा लाग्यो तर हिँड्न सक्ने मानिसको लागि सवा घण्टाको बाटो भनेर बाटामा भेटेका मान्छेले सुनाएका थिए।
रारा राम्रो ठाँउ हो तर राज्यको नियन्त्रणले साह्रै गाह्रो बनाएको छ। बाटो राम्रो बनाए, होटल खोले, मोटरबोट चलाउन सके रारालाई नराम्रो भन्न मिल्दैन। हामी राराको किनार पुग्दा करिब दिउँसोको एक बजेको हुनुपर्छ। साना कदका मानिसलाई त राराको छालले तानेरै लैजाने जस्तो हुने रहेछ।
राराको छालसँग जिस्कँदै बेलुका बास बस्ने ठाँउ पुगियो। गलेर लखतरान भएको शरीरमा किनारको होटलले दिएको चाउचाउको झोल कम्ति स्वादिलो भएन। त्यसको कुरै नगरौं। बस्नको लागि भनेको होटलमा कुनै कोठा खाली पाइएन। टेन्ट लिनुपर्ने अवस्था आउन लाग्यो। धेरै मानिस टेन्टमा बस्नुपर्ने भएपछि हामी पनि त्यही टेन्ट रिजर्भ गर्न लाग्यौ।
फोनको नेटवर्क खोज्न राराको डुङ्गा चढ्ने ठाउँमै पुग्नु पर्दो रहेछ। डुङ्गा चढ्ने ठाँउबाट काठमाडौंमा भएका आफन्तलाई फोन गर्यौ। धेरै अनुनय विनय गरेर त्यहाँका नेपाली सेनाका मेजरलाई भनेपछि एउटा होटल मिल्यो। जम्मा एउटा कोठा पाइयो। बिचरा न छानो छ। पानी कति बेला छिर्छ जस्तो। सुत्ने र ओड्ने समानको त कुरै नगरौं। अनि मनमनै सोचे, 'किन आएछु रारा?' मजाले नेपालगञ्ज घुमेको भए काइदा हुन्थ्यो।
रात कट्यो। बिहान डुङ्गा चढ्ने ठाउँमा आर्मी सरले भनेको सुन्दा डुङ्गा नचढी हिँडेरै जाउ जस्तो लाग्यो। एक्लै भए पो आफ्नो निर्णय हुन्छ। अरूसँग जाँदा डर जति सबै गाठो पारेर राख्नुपर्ने। 'थप होटल खोल्न, सुरक्षित जलयात्रा चलाउन पाए कति पर्यटक आउँथे होला मेजरसाप' भनेर के मात्र सोध्नुभएको थियो बुबाले आर्मी सरको कुराले राराको भित्र रहस्य थाहा भो।
'होटल खोल्दा फोहोर हुन्छ रे, निकुञ्जले अनुमति दिँदैन। सुरक्षित जलयात्राका साधन चलाउँदा विश्वमै नपाइने माछा मर्छन् रे,' मेजरसापले भने।
राराको विशेषता भनेको सूर्यको किरणसँगै पानीको रंग परिवर्तन हुनु हो जसलाई आफ्नै आँखाले हेर्न पाए। डुङ्गामा एक फन्को लगाउँदा करिब आठ घण्टा लाग्छ। चौध किलोमिटरभन्दा अलिक बढी रहेछ रारा। अर्को भनेको किनारादेखि नै अति गहिरो छ। गहिराई कति भन्ने यकिन गर्नै ग्राहो छ। किताबमा पढेको राराको गहिराई विश्वास नै लाग्दैन।
बिहानको नौ बजेपछि डुङ्गा चलाउने अनुमति हुँदैन। अति नै छाल आउँछ। वरिपरी जंगल भए पनि पोखरीमा रूखका पातहरू देखिँदैन। दिनभरको छालले किनारमा लैजान्छ। प्रकृति आफैँले सफा गर्छ रारालाई। डुङ्गा चलाउने समिति छन्। दश वर्षभन्दा कम उमेरकालाई डुंगामा शुल्क लाग्दैन। वारपार गर्दा पैतालिस मिनेटभन्दा बढी लाग्छ।
एयरपोर्ट जानेतिर जाँदा डेढ घण्टाभन्दा बढी लाग्छ। डुंगामा चढेपछि स्थिर बसेकै राम्रो। तल-माथी केही भएमा 'रेस्क्यु' टिम पुग्दा धेरै ढिला भइसक्छ। हातले खियाएर जाने हो। घटना घटिरहन्छन्, समाचारमा आउँदैन।
केही वर्षअघि हेलिकप्टर नै गायब भएछ। आर्मी सरले सचेत गराएको हो की डर देखाएको बुझ्नै सकिएन। जसोतसो डेढ घण्टामा डुंगाबाट किनारमा उत्रदा संसार जितेजस्तो खुसी लाग्यो। बिस्तारै हिँडाई सुरू भयो। आधा घण्टा मात्र के हिँडिएको थियो एयरलाइन्सको दाइले फोन गरेर 'नेपालगञ्जबाट जहाज उड्यो। छिटो गर्नुस्' भने।
केटाकेटीसँगको हिँडाइलाई छिटो-छिटो दौडाउनु पर्ने अवस्था आयो। डाडाको टुप्पोमा आइपुग्दा जहाज आएको देखियो। छिटो गर्नु आफ्नो पनि स्वार्थ थियो। ढिलो भए एक घण्टाभन्दा बढी कुर्नुपर्ने र हावाको गति बढ्ने। कि त हजाज क्यान्सिल कि त चरा जत्तिकै हल्लिदै उड्नु पर्ने। जहाज हल्लिदाको डर अझ बाँकी नै छ।
दु:ख-सुख जहाज भएको ठाउँमा आइपुगेको, सास फेर्न समेत नपाई सिटबेल्ट बाँध्नु पर्दाको हतार सम्झन लायक छ। जहाजले ताल माथीबाट ल्यायो। पूरै ताल वारपार भयो जहाजबाट। हतार-हतारको हिँडाइ र डाँडाबाट झर्ने बित्तिकै जहाज चढ्दा यात्रामा कान दुखेर करिब बीस मिनेट रोएरै बिते। नेपालगञ्जमा जहाजबाट झर्ने बित्तिकै अब सित्तैमा लान्छु भने पनि रारा नजाने निधो गरे।
अनि बेलुका होटलको दाइले भनेको सम्झे, 'एक पटक आएको मान्छे फेरी आउँदैन रारा।'
किन भनेको होला भन्ठानेको त बल्ल बुझें।
(सविश्रेष न्यौपाने जेम्स स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)