सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
२०७६ सालको अन्तिम परीक्षा चैत्रमा ११ मा हुन लागेको थियो। तर कोरोना महामारीका कारण चैत्र ३ मा सर्यो। हामीले हाम्रो परीक्षा पनि दियौँ।
मेरो जन्मदिन पनि आउन लागेको थियो। म धेरै खुसी थिएँ। तर मेरो जन्मदिनको तीन दिनअघि सरकारले लकडाउन घोषणा गर्यो। मैले एक बर्ष पहिले पनि जन्मदिन मनाउन पाएको थिइनँ र यसपाली पनि नपाउँदा म दु:खी भएँ।
बिस्तारै समय बित्दै गयो। शैक्षिक सत्र २०७७ पनि सुरू हुनै लागेको थियो। यता कोरोना महामारी बढेको बढ्यै गर्यो। यस्तो परिस्थितिमा विद्यालय खोल्ने भन्ने नै भएन। अब के हुने होला?
यसै बीच विद्यालय खोल्ने एक साताअघि विद्यालयले सरकारबाट सूचना पायो र हामीले अनलाइन कक्षा हुने भयो।
हाम्रो विद्यालयले यस कक्षालाई ‘स्टडी फ्रम होम’ भन्ने नाम दियो। सुरूमा त हामीले अनलाइन कक्षा बारेमा बुझेनौँ तर बिस्तारै धेरै यस्तो कक्षा लिँदा यसको प्रभावकारिताबारेमा सामान्य थाहा पायौँ।
स्कुलले हामीलाई ‘गुगल क्लासरूम’ मा थप्यो जहाँ हामीले हाम्रो गृहकार्य राख्न सक्थ्यौँ। हाम्रो प्रथम चौमासिक परीक्षा पनि आयो। हामीले परीक्षाका लागि गुगल फारामहरू प्रयोग गर्यौं। अनलाइन कक्षामा 'ए ग्रेड'का साथ पास भएछु।
भौतिक रूपमा स्कुल लाग्दा विद्यालयमा थुप्रै कार्यक्रम गर्थ्यो । मलाई ती कार्यक्रममा सहभागी हुन असाध्यै मन लाग्थ्यो। ती सबै कुरा अब छु्टने भए भन्ने कुराले म अलिकति दु:खि थिएँ। हुन त अनलाइन कक्षा भौतिक रूपमा हुने कक्षाजस्तो त किन हुन्थ्यो? तर पनि सिक्ने कुराचाहिँ असाध्यै धेरै हुँदा रहेछन्।
यही बीच स्कुलले हामीलाई भर्चुअल टुर गरायो। हामीले 'स्मिथसोनियन राष्ट्रिय सङ्ग्रहालयको इतिहास' को यात्रा गर्यौ। हामीले जनावरका विभिन्न प्रजातिहरूको बारेमा जानकारी हासिल गर्यौ। हामीले ठूलो आकारको डाइनासोर देख्यौं र अरू धेरै जनावरका प्रजाति पनि देख्यौँ।
हाम्रो कक्षा शिक्षक युक्ता बर्माले हामीलाई भर्चुअल टुरमा देखेका, अनुभव गरेका कुराहरू समेटेर लेख-रचना तयार पार्नका लागि 'असाइनमेन्ट' दिनुभयो। हाम्रो अंग्रेजी शिक्षक पुकार धितालले मलाई र अरू साथीलाई रूडयार्ड किप्लिङको एक सुन्दर कविता ‘इफ’ वाचन गर्न पनि लगाउनुभयो। यसका लागि धेरै पटक प्रयास गरेँ। अन्त्यमा मैले खोजिरहेको रेकर्डिङ पाएँ।
मेरो रेकर्डिङ डियरवाकको फेसबुकमा प्रकाशित भयो र धेरैलाई त्यो मन पनि पर्यो। https://www.youtube.com/watch?v=t6WlrH9x5UQ साथीहरू कस्तो भएको छ, खबर दिनू ल! अनलाइन कक्षाको क्रममा मैले धेरै लेखहरू लेखें जुन डियरवाक पत्रिकामा प्रकाशित भयो र मेरो एउटा लेख राष्ट्रिय पत्रिका ‘गोरखा पत्र’ मा प्रकाशित भयो।
यसै बीच हाम्रा अनलाइन कक्षाहरू जारी थिए। हाम्रो दोस्रो चौमासिक परीक्षाको समय पनि नजिकिँदै थियो। परीक्षा राम्रो भयो। यो टर्ममा पनि मेरो ए ग्रेड आएछ। हाम्रो दोस्रो टर्म सकियो।
यहाँसम्म आइपुग्दा माघ महिना लागिसकेको थियो। फाट्टफुट्ट स्कुलहरू खुल्न थालेको अवस्था पनि थियो। हाम्रो विद्यालयले पनि भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने योजना बनायो। म असाध्यै खुसी थिएँ। लगभग १० महिनापछि साथीहरू, शिक्षकहरूसँग प्रत्यक्ष भेट्न पाइदै थियो।
यो १० महिनाको लकडाउनमा मैले धेरै चिज सिकेँ। जस्तै, अनलाइन कक्षाबाट पनि राम्रो सिकाइ हुन सक्ने रहेछ। मैले नेपाली टाइपिङ पनि सिकेँ। पत्रपत्रिकामा लेख लेख्न र पठाउँन पनि सिकेँ। यो लकडाउनमा मैले 'Unbearable Playz' नामको युट्युब च्यानल पनि सुरू गरेँ, जहाँ म भिडियोहरू अपलोड गर्छु।
यसरी नै २०७७ साल त सकियो तर फेरि २०७८ साल लाग्दा नलाग्दै कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ। यसबाट द्रुत गतिमा संक्रमण भइरहेको छ। स्वास्थ्य मन्त्रालयले संक्रमणबाट बच्नका लागि जुन किसिममा कुराहरू गरेको छ, ती सबै कुराको पालना गर्नुले हामी सबैका लागि फाइदा हुन्छ।
आशा गरौँ सबै चाँडै नै ठीक हुनेछ।
(सौहार्द बज्राचार्य डियरवाक सिफल स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)