सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
नेपाल पृथ्वीको सबैभन्दा ठूलो महादेश एशियाको मध्यभागस्थित एक भूपरिवेष्ठित राज्य हो। यसलाई तीन तर्फबाट भारत र उत्तरतर्फबाट चीनले घेरेको छ। नेपालले विश्वको ०.०३ प्रतिशत र एशियाको ०.३ प्रतिशत भू-भाग ओगटेको छ।
नेपाल भूगोलको हिसाबबाट ९३ औं स्थानमा र जनसंख्याको हिसाबले ४२ औं स्थानमा छ। यो देश भूगर्भीय रूपले इण्डिएन र तिब्बतीयन प्लेटमाथि छ। जसले गर्दा यो भूगोल अत्यन्तै चलायमान र कमजोरसमेत छ। यसरी चलायनमान हुनाले नेपाल भूकम्पीय उच्च जोखिमयुक्त क्षेत्रमा छ।
आजभन्दा करिब ३५ सय वर्षअघि प्रसिद्ध दार्शनिक कौटिल्य (चाणक्य, विष्णुगुप्त) ले आफ्नो अर्थशास्त्र नामक पुस्तकमा नेपालको नाम उल्लेख गर्नुले यसको ऐतिहासिकतालाई प्रष्ट्याउँछ। नेपालमा गोपालवंश (गाई पाल्ने), महिषपाल बंश (भैसी पाल्ने), किरात बंश, लिच्छवी बंश, मल्ल बंश र शाह बंशले विभिन्न समयमा राजकाज गरेको इतिहास पाइन्छ।
विभिन्न समयमा भएका क्रान्तिहरू जस्तै २००७, २०४७, २०६२ र ६३ पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रमक राज्य बनेको छ।
नेपाललाई भौगोलिक रूपमा हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको छ: १४ अञ्चल, ७७ जिल्ला र ७ वटा प्रदेश। साथै नेपालको प्रदेश नं १ मा १४ जिल्ला, प्रदेश नं २ मा ८ जिल्ला, प्रदेश नं ३ (बागमती प्रदेश) मा १३ जिल्ला, प्रदेश नं ४ (गण्डकी) मा ११ जिल्ला, प्रदेश नं ५ (लुम्बिनि) मा १२ जिल्ला, प्रदेश नं ६ (कर्णाली) मा १० जिल्ला र प्रदेश नं ७ (सुदूरपश्चिम) मा ९ जिल्ला रहेका छन्।
त्यसैगरी ४६० वटा गाउँपालिका, २७६ वटा नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिका छन्।
नेपालको कूल क्षेत्रफल १४७,५१६ वर्गकिलोमिटर छ। नेपालमा हिमाली भागले १७ प्रतिशत, पहाडी भागले ६८ प्रतिशत र तराइले १५ प्रतिशत भूभाग ओगटेको छ। वि.सं २०६८ सालको ११ औं जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ। जसमध्ये १ करोड २८ लाख ४९ हजार ४१ पुरूष र १ करोड ३८ लाख ४५ हजार ४ सय ६३ महिला छन्। नेपालको जंगलले कूल क्षेत्रफलको ४४.७४ प्रतिशत क्षेत्र ओगटेको छ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँ १२५ भन्दा बढी जातजाती र १२३ भन्दा बढी भाषाभाषीहरू छन् र तीमध्ये राष्ट्रिय भाषा नेपाली हो। करिब ४४ प्रतिशत जनसंख्या नेपाली भाषा बोल्छन् भने दोश्रोमा मैथिली र तेश्रोमा भोजपुरी भाषा बोल्ने गरिन्छ।
करिब १२ औं शताब्दीदेखि हाम्रो झण्डा प्रयोगमा आएको मानिन्छ। साथै, यो झण्डा संसारकै एक मात्र त्रिकोणात्मक आकारमा रहेको झण्डा हो। त्यसैले नेपालको झण्डा पनि एक इतिहास नै हो।
नेपाल १४ डिसेम्बर सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो। सार्कको संस्थापकका रूपमा ८ डिसेम्बर सन् १९८५ मा प्रवेश गरेको थियो। त्यसैगरी विमस्टेकमा ८ फेब्रुअरी २००४ मा सदस्य भएको हो। विश्व बैंकमा ६ सेप्टेम्बर १९६१ मा सदस्य बनेको हो।
नेपालको राष्ट्रिय फुल लालीगुराँस हो। यसलाई लालीगुरासँ अर्बोरियम पनि भनिन्छ। लालीगुरासँ प्रायजसो तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमा तिनजुरे-मिल्ले-जलजले क्षेत्रमा अनुपम रूपले फुल्छ। नेपालमा पाइने ३० थरिका लालीगुरासँमध्ये २५ थरिका लालीगुरासँ त यही क्षेत्रमा पाइन्छ। त्यसैले यो क्षेत्रलाई गुरासँको राजधानी भनिएको हो।
यहाँको हावापानी र जैविक विविधताका कारण यहाँ पाइने हरेक जडिबुटीमा औषधीय गुण हुन्छ। जस्तैः यार्सागुम्वा, पाँचऔले, चिराइतो, काउलो, सर्पगन्दा, लोठसल्लो आदि।
नेपालको अर्को महत्वपूर्ण सम्पदा अन्तर्गत हिमालहरू पर्छन्। देशको उत्तरी सीमा क्षेत्रमा करिब १४ सय किलोमिटर लम्बाईमा लमतन्न सुतेर बसेका हिमालहरू हेर्न र चढ्नका लागि पर्यटकहरू ठूलो मात्रामा नेपाल आउँछन्। त्यसो त विश्वको ८ हजार मिटर माथिका १४ वटा हिमालमध्ये ८ वटा त नेपालमै छन्। ३५ सय मिटरभन्दा उच्च भूभागमा अवस्थित हिमाल पनि २३२३ वटा नेपालमा छन्।
डा. तिर्थबहादुर श्रेष्ठका अनुसार ७ हजार मिटर भन्दा अग्ला ७८ वटा हिमशिखरहरू अझै नाम बिहिन छन्। हिमालहरूले हामीलाई चाहिने अत्यन्त महत्वपूर्ण पानीको श्रोतका रूपमा पनि काम गर्छ। नेपाल प्रशस्त पानीको श्रोत भएको देश हो।
त्यसैगरी पानीको श्रोताका रूपमा रहेको सिमसार क्षेत्रमध्ये १० वटा कोशीटप्पु वन्यजन्तु आरक्ष (सुनसरी), बिसहजारी ताल (चितवन), घोडाघोडी ताल (कैलाली), जगदिशपुर ताल (कपिलवस्तु), गोक्यो र वरपरका ताल (सोलुखुम्बु), रारा ताल र राष्ट्रिय निकुञ्ज (मुगु), फोक्सुण्डो ताल (डोल्पा), गोसाइकुण्ड र वरपरका ताल (रसुवा), माइपोखरी (इलाम), पोखराका ९ वटा तालहरू (फेवा, वेगनास, रूपा, कमलपोखरी, खेष्टे, गुडे, मैदी, निउरेनी र दिपाङ) रामसार सूचिमा सूचिकृत छन्।
नेपालको राष्ट्रिय चरा डाँफे हो र राष्ट्रिय जनावर गाई। हाम्रो देश जनावर र चराचुरुङ्गीहरूको आश्रयस्थलको रूपमा परिचित छ। यहाँ ८५० प्रजातीभन्दा बढी चराहरू पाइन्छन्। त्यसैगरी साइबेरियादेखि चाचर चरा, मलाया र इन्डोनेशियादेखि आउने चिवे चरा, मलेशिया र दक्षिण एशियाको गर्मी छल्न विभिन्न प्रजातिका पन्छीहरू अरूण नदी र कोशी नदी छेउछाउमा आउने गर्छन्। काँडेभ्याकुर नामक चराको प्रजाती नेपालमा मात्र पाइन्छ। कोशी टप्पुमा मात्र करिब ४६४ प्रजातीका चरा पाइन्छन्।
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मकालु बरूण राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज गरी १२ वटा राष्ट्रिय निकुञ्ज छन्।
कोशीटप्पुमा १ वटा बन्यजन्तु आरक्ष छ। त्यसैगरी ढोरपाटन शिकार आरक्ष, सहित जैविक विविधतालाई संरक्षण गर्न ६ वटा आरक्ष क्षेत्रहरू रहेका छन्। साथै अन्नपूर्ण र धवलागिरी हिमाल चिरेर बग्ने कालीगण्डकी नदीले विश्वको सबभन्दा गहिरो गल्छी निर्माण गरेको छ।
त्यसो त नेपालमा सबैभन्दा अग्लो सगरमाथादेखि सबैभन्दा होचो धनुषाको मुखियापट्टी मुसहरनिया छ। नेपालको जानकी मन्दिर, लुम्बिनी, स्वयम्भुनाथ, पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ, हलेसी महादेव आदि जस्ता धार्मिक स्थलहरूले मुख्यगरी हिन्दु र बौद्ध धर्मालम्बीलाई आकर्षित गर्छन्।
त्यसैगरी यस भूमिमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध, अरनिको, राजा जनक, सिता, भृकुटी जस्ता व्यक्तिहरू पनि हाम्रा अमूल्य निधिहरू हुन्।
(रोमहर्षण ढुंगेल एभरेष्ट इङलिश स्कूल ब्यासी, भक्तपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)