सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
'आमा भोक लाग्यो। खानेकुरा दिनुस् न। बाबा मलाई नयाँ लुगा किनिदिनु अनि हामी घुम्न जाने' भन्न मन छ।
उहाँहरूसँग घुम्न गएर मीठामीठा खानेकुरा खान र खेलौना किनाउन मन छ। तर कसलाई भन्नु? यी गल्लिका कुकुर या भित्ताहरूलाई?
मनमा पीडा धेरै छ तर सुनिदिने मान्छे कोही छैनन्। आमाको कोखमा लुटुपुटु हुन मन छ तर खै कहाँ छिन् मेरी आमा? बाबासँग रमाउन मन छ तर खै कहाँ हुनुहुन्छ मेरो बाबा? मेरो पहिचान के हो? मेरो नाम के हो?
कसैले अनाथ भन्छन्, कसैले टुहुरो त कसैले खाते। कसको सन्तान हुँ म? कसले जन्माएको हो मलाई? को हुन् मेरा आमाबुवा अनि कहाँ छन्? कहाँ छ मेरो घर? कोही छैनन् साथमा। न आमा न बाबा। साथ दिने साथीको पनि अभाव छ। अभावको संसारमा बाँच्ने बानी परेको मलाई माया अनि खुसी के हो केही थाहा छैन।
मलाई यति थाहा छ कि मेरो घर त्यो सानो गल्लि हो जहाँ म हरेक दिन बेलुका सुत्न जान्छु। मेरा साथीहरू गल्लिका ती भित्ता र कुकुरहरू हुन् जोसँग म मेरो एक्लोपना मेटाउनका लागि बोल्ने गर्छु। मलाई लाग्ने गर्छ म कसरी यो धर्तीमा आएँ होला? कसरी म एक्लो बने होला?
कुकुरले त आफ्नो बच्चासँगै बस्छ भने मचाहिँ किन एक्लो? यस्तै-यस्तै प्रश्नहरूले मनमा पीडा दिने गर्छ तर कसले बुझ्छ मेरो पीडा? बुझ्ने त कुरै छाडौँ। ति गल्लीका कुकुर जतिको छैन् मेरो अस्तित्व। म मेरो लागि सबथोक आफैँ हुँ जसले आफ्नो हेरचाह गर्छु र जसोतसो आफ्नो भोको पेट भर्छु। मैले मेरो भोको पेट त भर्छु तर थाहा छैन सहि तरिकाले भर्छु या गलत तरिकाले। मलाई पेट भर्न पाए पुग्छ।
कहिले कुकुरहरूको भुकाइसँग त कहिले गल्लिका पसलेहरूको पिटाइसँगै सुरू हुन्छ मेरो बिहानी। भोको पेट भर्नका लागि बाटोमा हिँड्ने मान्छेहरूका अघि हात फैलाउँछु। कसैले केही खानेकुरा दिन्छन् त कसैले पैसा। धेरैको त पिटाई पनि खाइन्छ। यसैगरी दिन बित्दै जादाँ म पनि ठूलो हुँदै गएछु अनि मलाई यसरी सधैँभरी अर्काको पिटाई खाँदै मागेर खानुभन्दा काम गरेर खाउँजस्तो पनि लाग्छ। धेरै ठाउँ काम खोजे तर अहँ! कसैले काम दिएनन्। सडक बालक भनेर होला सायद!
कति पटक त काम खोज्न जाँदा पिटाई पनि खाएको छु। पिटाई खानु त मेरो दैनिकि नै हो। त्यसैले पिटाई खाँदा न त चित्त दुख्छ न त चोट लागेको घाउ दुख्छ। शरिरभरि घाउ छन्। पिट्ने धेरै छन् तर सुम्सुम्याउने कोही छैनन्। कोही छैन मसँग एक शब्द मायाले बोलिदिने अनि आँखाको आँशु पुछिदिने। छन् त केवल चित्त दुखाउने अनि आँसु खसाउन बाध्य बनाउनेहरू।
कहिलेकाहिँ बिहानको एकछाक टार्न मान्छेहरूले पैसा दिन्छन् तर कहिले भने एकछाक टार्नका लागि फोहोरको थुप्रोमा आफ्ना कलिला हातले खानेकुरा खोज्न बाध्य हुन्छु। फोहोरको थुप्रोमा खानेकुरा खोज्दै गरेका मेरा आँखाहरूले सुकिला कपडा लगाएर विद्यालय गइरहेका विद्यार्थीहरूलाई देख्छन्।
मलाई पनि विद्यालय गई पढ्ने रहर लाग्छ। कलम समाएर लेख्न मन लाग्छ। झोलामा कापी-किताब हालेर बोक्न मन लाग्छ। ती विद्यार्थीको पछिपछि लागेर विद्यालयको गेटसम्म पुग्छु तर गेटपालेले आफ्नो नाक थुन्दै मलाई त्यहाँबाट लखेट्छ। सायद मेरो शरिरबाट नमिठो गन्ध आएर होला। गन्ध पनि किन नआओस्? ननुहाएको त महिनौं भयो होला। लुगा त वर्षौदेखि उही नै छ। पीडाको भारी बोकेर जान्छु म त्यहाँबाट।
गन्तव्यहीन यात्रामा कहिलेकाहिँ आफू जत्रै बालबालिका आफ्ना आमाबुवाको साथमा रमाएको देख्दा मेरो मन लोभिन्छ। तर म विवश छु। न त कोही मेरो कुरा सुन्नेवाला छन्, न त बुझ्ने नै। कल्पनाको सागरभित्र डुबेर एकछिन हराउँछु फेरि त्यही स्थानमा फर्किन्छु र टक्क उभिन्छु। अनि आफ्ना आमाबुवाको कल्पना गर्न थाल्छु।
यदि मेरो पनि आमाबुवा भइदिएको भए मैले यसरी गल्लीगल्लीमा भौतारिएर हिड्नु पर्दैनथ्यो होला यो समाजका मानिसहरूले मलाई कुकुरभन्दा तल्लो व्यवहार गर्दैनथे होला। तर मानव भएको कुनै अस्तित्व नै छैन्। समाजका मानव भनाउँदाहरूको यस्तो निर्दयी व्यवहार देखेर म मात्र हैन म जस्ता लाखौँ सडक बालबालिकाको अस्तित्व गुमेको छ।
मजस्तालाई माया दिन नसक्ने यो समाज हुनुको कुनै अर्थ रहँदैन। कल्पनाको संसारमा रमाइरहेको म गाडीका आवाजहरूले झसक्क झस्किन्छु र निद्राबाट बिँउझेको जस्तो भान हुन्छ। फेरि त्यहाँबाट पनि आफ्नो बाटो लाग्छु। यो गन्तव्यहीन यात्राले कहिले कुन ठाँउ पुगिन्छ पत्तै हुदैँन।
दिनभरि बरालिदैँ हिँड्दा राती जहाँ पुग्छु, त्यही मेरो बास हुन्छ। भोको पेट भर्न कहिलेकाहिँ चोरीसमेत गर्नुपर्छ। चोरी गरेपछि पिटाई नखाईने त कुरै भएन। कहिले कहिले त पिटिएको चोटको कारण दुई-तीन दिनसम्म पनि भोकभोकै हुन्छु अनि पिटिएका डामहरू छाम्दै रून्छु। रूँदारूँदा कुन बेला निदाउँछु पत्तै पाउँदिन।
एउटा झिसमिसे उज्यालोसँग सुरू भएको मेरो दैनिकी यसरी चलिरहेको हुन्छ।
(पूर्णिमा जोशी नेपाल पुलिस स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)