सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
'मर्ने कसैलाई रहर हुँदैन' भन्ने बोलको गीत हाम्रा साथीले विद्यालयको वार्षिक कार्यक्रममा स्टेजमा गाउँदा म फ्यान भएको थिएँ। त्यो प्रस्तुति हेरेर म र कार्यक्रममा सहभागी मेरा बाबा-मम्मी पनि लठ्ठ मात्र भएनौं घर गएर युट्युबमा खोजेर धेरै पटक सँगै हेर्यौं, सुन्यौं।
२०७६ चैत्रतिर नेपाल पसेको कोरोनाले फेरि एकपटक त्यही 'मर्ने कसैलाई रहर हुँदैन' भन्ने गीत सुन्न धेरैलाई बाध्य बनाएको छ। यसले मेरो र स्कूलको, मेरो र साथीहरूको अनि मेरो र गुरूहरू बीचको सम्बन्धमा नचाहेरै दूरी बढाइदिएको छ। साथीहरू र आफन्तलाई भेट्न पाउँदा खुशी हुने मलाई अहिले कसैसँग भेट्नुपर्दा चिन्तित तुल्याउन थालेको छ। कोरोनाबाट भाग्दा-भाग्दा कहाँ-कहाँसम्म पुगे होलान् मानिसहरू?
जहाँ भागे पनि गीतमा भनेजस्तै मान्छे नमर्ने त कुनै सहर हुँदैन। भागेर भन्दा सचेत र अनुसासित भएर पो जित्नुपर्छ कोरोनालाई।
त्यसैले, जहाँ छौं, जोसँग छौं सुरक्षित बसौं। पढ्न-लेख्न नछाडौं। परिवारसँग बसेर रमाइलो गरौं। आमाबाबाले पनि मोबाइललाई होइन छोराछोरीलाई माया दिऔं र छोराछोरीले पनि अभिभावकका कुरा सुनौं, उपदेश गुनौं, परिवारमा घुलमिल हौऔं। किनकि 'कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको'।
अनलाइन क्लास हुने भएपछि स्कूल जाने र आउने समय हाम्रो फाइदामा छ। यसलाई हाम्रो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्ने तर्फ लगाऔं। यो मौकाको लागि कोरोनालाई धन्यवाद भनौं। अनुसासित बनौं, स्वस्थ रहने प्रयत्न गरौं, रोग प्रतिरोधी क्षमता विकास गर्ने उपाय अपनाऔं। र यो सबै गरेर कोरोनाको चाँडै विदाई गरेर जिन्दगीलाई पूर्ववत रुपमा फर्काऔं।
(विपुल रिजाल, जेम्स स्कूलमा कक्षा १० मा अध्ययनरत छन्।)