सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सन् २०२० को जनवरी ३० मा विश्व स्वास्थ संगठनले कोरोना भाइसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गर्यो। पहिलो पटक यो सन् २०१९ को अन्तिम सातामा चीनको वुहान शहरमा देखिएको थियो। कोराना भाइरस स्वास प्रश्वासको माध्यमबाट सर्ने एक प्रकारको संक्रमणात्मक रोग हो।
यो भाइरस हाल विश्वको प्रायः राष्ट्रमा फैलिसकेको छ। यसले हरेक देशको राजनीतिक तथा सामाजिक जनजीवन अस्तव्यस्त बनाएको छ। यो भाइरस निकै घातक छ। नेपाल पहिलो चरणको भाइरसबाट जोगिन केही हदसम्म सफल भयो। तर यसको दोस्रो लहर निकै भयानक तरिकाले फैलिरहेको छ। सन् २०२० को जनवरी २४ मा नेपालमा कोरोना भाइरस संक्रमित केस पुष्टि भएको थियो। अहिलेको अवस्था हेर्ने हो भने संक्रमित संख्या दिनहुँ बढिरहेको छ।
हामी विद्यार्थीको नजरबाट हेर्ने हो भने यो महामारीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा बढी प्रभाव पारेको देख्छौं। महामारीबाट जोगिन गत वर्षको चैत्र ११ देखि सरकारले लकडाउन जारी गरिदियो। जसले गर्दा विद्यालय बन्द भए। हाम्रो सम्पूर्ण परीक्षा स्थगित भए।
परीक्षा मात्र स्थगित भएको होइन। लामो समयसम्म विद्यालयहरू नै संचालन हुन सकेनन्। आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीलाई कक्षा उर्तिण गराइयो।
लकडाउनका कारण लामो समयसम्म विद्यालयका ढोका नखुल्दा मन्दिर जस्तो हाम्रो विद्यालय धरमशालामा परिणत भएका छन्। कति विद्यालयलाई क्वारेन्टाइन सेन्टर बनाइयो। थुप्रै विद्यालयको वरिपरि घाँस पलाएर घाँसे मैदान जस्तो देखिन थाले। काठमाडौं लगायत सहरी क्षेत्रका विद्यालयमा पढाइ अनलाइन हुँदैछ।
तर हामी त दुर्गमका विद्यार्थी। हाम्रो सिकाई नै विद्यालय हो। घरमा अध्ययन गर्ने वातावरण हुँदैन। कहिले बत्ति हुँदैन त कहिले समय मिल्दैन। न हाम्रो नयाँ सूचना प्रविधिमा पहुँच नै पुग्छ।
दुर्गम भेगमा पनि जहाँ रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच छ, ति क्षेत्रमा पढाई-सिकाई भए होलान्। तर विद्यालय बन्द रहेको समयमा हाम्रो सिकाई दिनभरीको गोठालो अनि बिहान-बेलुकी घरायसी काम रह्यो।
सहरी बजार र पहुँच पुग्ने ठाउँका साथीहरूले मोबाइल र इन्टरनेटसँग मित्रता गाँसिरहेको बेला हाम्रो मित्रता भने रूख र चराचुरूङ्गीसँग गाँसिन पुग्यो। बिहान चराको आवाजसँगै बिउझन्छौं अनि बेलुकी झ्याउँकिरीको आवजसँगै वनपाखाबाट घर फर्कन्छौं।
सरकारले वैकल्पिक माध्यमबाट पठन-पाठनलाई निरन्तरता दिने प्रयास गरिरहेको भए पनि हामी दुर्गमका विद्यार्थीहरूको लागि यो प्रभावकारी हुन सकेको छैन। फोन गर्नकै लागि एक घण्टा हिँडेर नेटवर्क खोज्दै जानुपर्छ। अग्लो रूखमा मोबाइल झुन्ड्याएर आफन्तसँग कुरा गर्नुपर्ने हाम्रो बाध्यता छ। त्यसमा पनि कुरा गर्दा-गर्दै नेटवर्क नटिपेर पूरा कुरा गर्न पाउदैनौं।
यस्तोमा हामीले अनलाइन कक्षा कसरी लिने? वैकल्पिक माध्यमबाट पढाई भनियो तर हामीलाई यो कसरी प्रभावकारी हुन्छ?
गत वर्ष यसैगरी बित्यो। पढाई राम्रोसँग गर्न पाएनौं। यो वर्ष त अवस्था सामान्य होला र पहिले जस्तै विद्यालय गएर पढौंला भन्ने थियो। तर अहिलेको अवस्था पनि पोहोर सालझैं छ। विद्यालयहरू बन्द छन्। यसो हेर्दा यो वर्ष पनि परीक्षा समयमै हुने सम्भावना देख्दिनँ। आन्तरिक मूल्यांकनको भरमा कक्षा उत्तीर्ण गराउँदै गए कसरी हुन्छ गुणस्तरीय शिक्षा?
मैले समाचारहरूमा सुनेको छु। कोरोना महामारीसँग जुद्धन विद्यालयहरूलाई क्वारेन्टाइन र आइसोलेसनको रूपमा परिणत गर्दा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर देखिएका छन्। हुन पनि क्वारेन्टाइन बनाइएका कक्षाकोठामा अध्ययन गर्ने बालबालिकाको मनमा त्रास भइरहन्छ। यसो भित्ताहरूमा हेरे कोरोनाकै चित्र देखिन थाल्छ।
कोरोना भाइरसको लहरले विद्यार्थीहरूमा निकै त्रास सिर्जना गरेको छ। यसले गर्दा म जस्ता थुप्रै बालबालिकाहरूमा लामो समयसम्म नकारात्मक असर पर्ने सम्भावना देखिन्छ।
दीर्घकालिन समस्याको कुरा परै ढकेलेर अहिलेको अवस्था हेर्दा पनि भयावह छ। गत वर्ष लकडाउनको अवधिमा धेरै साथीहरूले उमेरै नपुगी विवाह गरे। त्यो उनीहरूको बाध्यता थियो। विद्यालय बन्द थिए। पढाइलाई निरन्तरता दिन पाएनन्। उनीहरूको रुची र मन पढाइभन्दा अन्यत्र डुल्न थाल्यो। गाउँ-घरमा राम्रो सल्लाह दिनेहरूको पनि कमी छ। विद्यालय जान नपर्ने भएपछि धेरैको परिवारले भनेर र केही ऐच्छिक रूपमा वैकल्पिक बाटो खोज्दै बाल-विवाह गरे।
कति जना त घरेलु हिंसामा परेको खबरहरू पनि सुन्नमा आयो। घरमै पनि कस्तो असुरक्षित!
यसो हेर्ने हो भने अहिले धेरै विद्यार्थीहरूमा अध्ययन प्रति रूची घट्दो छ। गाउँका साथीभाइसँग घुलमिल हुने, रमाइलो गर्ने तर्फ ध्यान पुगेको छ। केही बहिर्गमन भएका छन् भने कोही अन्तर्मुखी हुन थालेका छन्। त्यसैले होला केही मानिसले आत्महत्याको प्रयास गरेको जस्तो खबरहरू बढ्न थालेको।
भनिन्छ, हामी बालबालिका भविष्यका कर्णदार हौं। भविष्यका कर्णदारले भोग्नु परेको अहिलेको समस्याको निवारणका लागि सरकार जवाफदेही बन्नु पर्ने होइन र?
शिक्षा बिना हरेक व्यक्ति असक्षम र असक्त हुन्छ। भन्ने नै हो भने अहिले एउटा सिङ्गो पुस्ता नै बिग्रदैछ।
भौतिक संरचना निर्माण वर्तमान युगको लागि महत्वपूर्ण पूर्वाधार हो। समयमै राज्यले पूर्वाधार निर्माणमा लगानी गरेको भए आज हामीलाई अहिलेको अवस्थासँग जुद्ध हम्मेहम्मे पर्दैन थिय। बिरामीको उपचारदेखि हरेक क्षेत्रमा राम्रो पूर्वाधार र दक्ष जनशक्ति भए हामी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छौं।
अझ समयमै दुर्गम भेगका विद्यार्थीसम्म नयाँ सूचना प्रविधि पहुँच गराइएको भए हामी पनि अहिलेको अवस्थामा सहरी क्षेत्रका विद्यार्थी सरह पाठ्यक्रम अघि बढाइहेका हुन्थ्यौ होला। तर संकटको समयमा हामी जस्ता दुर्गम भेगका विद्यार्थीसँग अरू कुनै विकल्प छैन।
(शन्दिप भण्डारी दैलेखको गुराँस गाउँपालिकामा पर्ने पार्वती मा. विद्यालय, गोगनपानीको कक्षा ९ मा अध्ययनरत छन्।)