सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
गत सालको चैत २८ गते मेरी मामु, मामाघरको हजुरआमा र हजुरबुवासँग म बैतडी पुगे। बैतडी मेरो मामुको जन्मस्थल हो।
चैत्र ३१ गतेबाट नवरात्रि शुरू भयो। त्यो दिन मेरो हजुरआमा र हजुरबुवाले पूजा लाउनुभयो। पूजामा ठूलो हजुरबुवा पनि हुनुहुन्थ्यो। दिनभर दुबै हजुरबुवाहरू बस्नुहुन्थ्यो। म पनि मामु, सानिमा र भाइ-बहिनीसँग बसेर कथा सुने।
नवरात्रीको नवौं दिनमा मातारानीको मन्दिरमा सुत्ने कुरा भयो। म त्यो सुनेर निकै खुशी भएँ। सानैदेखि मैले हजुरबुवाको मुखबाट मातारानी त्रिपुरा सुन्दरीको शक्तिको बारेमा सुन्दै आएको थिएँ।
म त्यहाँ पुगेर निकै उत्सुक भएँ। सबै परिवार मिलेर हामीले दिनहुँ पूजा गर्यौं, पिङ् खेल्यौ, आरती गर्यौ अनि कथा सुन्यौं।
बैतडी पुगेर र पूजाका दिनमा मैले धेरै कुराहरू सिकेँ। जस्तै सधैं राम्रो काम गर्नुपर्छ, आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्छ, भगवानमा विश्वास राख्नुपर्छ, र मुख्यतयाः सबै कुराको लागि मातारानीलाई धन्यवाद दिनुपर्छ।
एकदिन मैले मन्दिरमा राँगा र बोकाहरू ल्याएको देखेँ। मलाई मामुले ती राँगा र बोकालाई के गर्न ल्याएको भन्ने हेर्न दिनुभएन। पछि थाहा पाएँ, ती जनावरहरू बली दिनका लागि ल्याइएका रहेछन्।
त्यो सुनेर मलाई मेरो स्कुलको शिक्षिकाले भन्नुभएको कुरा याद आयो। मनिला म्यामले भन्नुहुन्थ्यो, ‘बली प्रथा एउटा कुरीती हो।’
जनावरलाई बली चढाउने सन्दर्भमा मैले मामुलाई सोधेँ। मातारानीको मन्दिरमा किन यस्तो गरेको भनेर सोद्धा मामुले भन्नुभयो, ‘हजुरले कक्षामा पढेँजस्तै यो एउटा कुरीती हो। बली प्रधा राम्रो होइन। यसो गर्नुहुँदैन। तर भगवानलाई खुशी बनाउन भन्दै चेतना नभएका मानिसहरूले यसो गर्छन्। बली प्रधा एक कुःप्रथा भनेर हामीले बुझाउन सक्नुपर्छ।’
बली प्रधा राम्रो होइन भनेर सबैले बुझ्न अझै कति समय लाग्ने होला। तर मैले बुझेअनुसार भगवानहरू जनावरको बली दिएर खुशी हुदैँनन्। बरु अरूको प्राणको रक्षा गरे खुशी हुन्छन्।
यति कुरा पनि ठूला मानिसहरूले नबुझेको देख्दा मलाई निकै नरमाइलो लाग्यो।
मन्दिरबाहेक मामुले मलाई गाउँको थुप्रै ठाउँ घुमाउनु भयो। म पहाडमा पहिलो पटक गएको थिएँ। त्यहाँ पानी भर्ने कुवा पनि थियो। हरियाली पहाड अनि चिसो मौसमले मलाई लोभ्यायो। समग्रमा भन्दा बैतडी साच्चै रमणीय ठाउँ रहेछ।
मेरा लागि त्यो यात्रा एकदम रमाइलो भयो।
(प्रतिक भट्ट काठमाडौं प्रज्ञा कुञ्ज विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्।)