सम्पादकीय नोटः हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेलः [email protected]
डा. महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मनुभएको हो। त्यहाँको विद्यालयबाट उहाँले कक्षा ७ सम्म पढ्नु भयो।
अहिले हामीसँग पढ्नको लागि कापी, कलम, किताब जस्ता सामग्री छन्। तर त्यो बेला गाउँ विकसित नभएको हुँदा त्यस्ता पढ्ने सामग्रीहरू थिएनन्।
त्यही गाउँमा भएका बुढापाका जसलाई हल्का अङ्ग्रेजी आउँथ्यो, नेपालीमा राम्रो थिए, गणितको हल्का-हल्का भए पनि हिसाब मिलाउँथे, उहाँहरू विद्यालय गएर जानेका कुरा चकले कालोपाटीमा लेखेर विद्यार्थीलाई पढाउने गर्नुहुन्थ्यो।
पढाउने र पढ्ने मान्छेहरू कम हुन्थ्यो। त्यसैले विद्यालयमा धेरैजसो रमाइलो गरिन्थ्यो। विद्यार्थीहरू खेल्ने, एकले अर्कोलाई कथा, कविता, चुट्किला सुनाउने जस्ता मनोरञ्जनात्मक क्रियाकलाप गर्दै दिन बिताउँथे।
कक्षा ७ पछि त्यहाँका विद्यार्थीहरू प्रायःले पढेनन्। महावीरका साथीहरूले पनि पढाइ छाडे किनभने विद्यालयमा औपचारिक रूपमा पढ्ने र पढाउने चलन थिएन। त्यसैले निकै कम विद्यार्थीले मात्र पढाइलाई निरन्तरता दिए। ती एकाध विद्यार्थीमध्ये हुन् डा. महावीर पुन।
पुनका बुवा उहाँलाई धेरै पढाउन चाहन्थे। त्यसैले उहाँलाई म्याग्दी जिल्लाबाट चितवन जिल्ला लैजानुभयो।
उहाँ चितवन जिल्लाको एक हाइस्कुलमा भर्ना हुनुभयो। त्यसपछि बल्ल उहाँले शैक्षिक सामग्री जस्तै कलम, कापी, किताब, झोला आदी प्रयोग गर्न पाउनुभयो। वास्तवमै त्यो बेला कलम, कापी, झोला जस्ता सामग्री प्रयोग गर्न पाउनु भनेको सौभाग्य नै थियो।
पुनलाई उहाँको बुवाले कक्षा १२ सम्म पढाउनुभयो। तर आर्थिक अवस्था कमजोर भएका कारण उहाँले स्नातक गर्न पाउनु भएन। त्यसपछि पुनले झन्डै १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाउनु भयो।
त्यसैक्रममा उनले अमेरिका र यूरोपका विभिन्न विश्व विद्यालयमा आवेदन दिए। वहाँले ३३ वर्षको उमेरमा अमेरिकाको एक विश्वविद्यालयमा पढ्न आंशिक छात्रवृत्ति पाउनुभयो। सुरुका दिन त वहाँलाई आवदेन स्वीकृत नहुदाँ पढ्न पाउँदिन भन्ने लागेको थियो रे।
तर विश्वविद्यालय जान पाइने खबर अचानक सुनेपछि उहाँ निकै खुसी हुनुभयो। त्यसपछि थप पढाइको लागि अमेरिका जानुभयो।
पढाइमा निकै मिहिनेत गर्नुभयो। अनि पढाई सकेर नेपाल फर्कनुभयो।
पुनलाई नेपाल फर्केपछि कसैको मातहातमा बसेर काम गर्न मन थिएन। 'म आफैं केही गर्छु' भन्ने विश्वास थियो। त्यसैले आफ्नो जन्मभूमी नागी गाँउ फर्कनुभयो।
गाउँका मान्छेहरूलाई आर्थिक समस्या भएको उहाँले बुझ्नुभयो। गाउँमा आम्दानी स्रोत खोल्ने सोचेर उहाँले चौरीगाई र गाईको फारम खोल्नुभयो।
हिमाल नजिक गाउँ भएका कारण गाउँमा थुप्रै विदेशीहरू हिमाल हेर्न, घुम्न भन्दै पुग्थे। पुनले सन् १९९४ मा विदेशीहरूका लागि भन्दै बस्ने व्यवस्था मिलाइदिनुभयो। विदेशीहरूलाई सुत्नको लागि कोठा र चिसोमा नुहाउनको लागि तातो पानी सहितको शौचालय व्यवस्था गरिदिनुभयो।
यी स-साना कोठामा बसेबापत उनीहरूले पैसा तिर्नुपर्ने हुन्थ्यो। यसरी पुनले गाउँमा आम्दानी स्रोतको अर्को बाटो देखाउनु भयो। उहाँले गाउँमा माछा पालन व्यवसाय पनि सुरू गर्नुभयो। माछाले राम्रो बजार पायो। उहाँको नेतृत्वमा गाँउमा वृक्षारोपण कार्यक्रम पनि सुरू भयो। कार्यक्रममा उहाँ र गाउँलेहरू मिलेर अहिलेसम्म झन्डै १३ लाख रूख रोपेका छन्।
म्याग्दीकै पौद्वर गाउँमा समेत पुनले चीज उत्पादन कार्यक्रम सुरू गर्नुभयो। गाउँलेहरूले चीज नखाने भए पनि गाउँ भ्रमणमा आउने विदेशीलाई यो मनपर्थ्यो। आगन्तुकहरूले गाउँमा उत्पादन भएको चीज किन्न थाले। यसरी चीज उत्पादनले पौद्वर गाउँका बासिन्दाको राम्रो आयको स्रोत हुन थाल्यो।
पुनले आफू सानो हुँदा पढ्नुभएको विद्यालयमा सुधार गरेर हाइ-स्कुलसम्म पढाइ हुने बनाइदिनुभयो। उहाँले गाउँलेहरूसँग मिलेर कागज बनाउन सुरू गर्नुभयो। र, गाउँलेले कागजको व्यवसाय थाले। त्यस्तै गाउँमा मौरी पालन गर्ने कार्यक्रम पनि सुरू गर्नुभयो। मौरीबाट उत्पादित महबाट पनि आम्दानी हुन थाल्यो। गाउँलेहरूले आरू बखडाको जाम बनाए। व्यवसाय गरे। च्याउको खेती गरे। गाउँमै लुगा बुन्ने काम पनि जाने।
महावीर पुनले यसरी आफूलाई मात्रै नभई गाउँलेलाई समेत आफ्नो खुट्टामा आफैं उभिन र स्वावलम्वीपन विकास गर्न मद्दत गर्नुभयो।
हामी अहिले कम्प्युटर, ल्याप्टप लगायत उपकरण कम मूल्यमा किनेर प्रयोग गर्छौं। तर पहिले त्यस्ता उपकरण महँगो हुन्थ्यो। गाउँ-घरमा त यसबारे थाहा पनि हुन्थेन।
महावीर पुन यी सब कुरामा विशेष चासो राख्नुहुन्थ्यो। उहाँले गाउँ भ्रमणमा आएका विदेशीलाई साथी पनि बनाउनु भएको थियो। उनीहरूसँग सम्पर्क राखेर उनले बिग्रेका कम्प्युटरको विभिन्न भाग ल्याइदिन भन्नुभयो।
विदेशीहरूले महावीर पुनले भनेजस्तै बिग्रेका कम्प्युटरहरूको भाग काठमाडाैंसम्म ल्याइदिए। ती कम्प्युटर र ल्यापटपको विभिन्न भाग वहाँले आफ्नो गाउँसम्म पुर्याउनुभयो र गाउँलेलाई चिनाउनु भयो। उहाँले बिस्तारै गाउँलेहरूलाई ती बिग्रेका कम्प्युटरका भाग जोडेर कम्प्युटर नै निर्माण गर्न सिकाउनु भयो।
कम्प्युटर त निर्माण भयो तर त्यसमा इन्टरनेट चलेन। त्यसपछि पुन कम्प्युटरमा इन्टरनेट जोड्ने काममा लाग्नुभयो। म्याग्दी जिल्ला नजिकको जिल्ला कास्कीको पोखरामा इन्टरनेट पुगिसकेको थियो। उहाँले त्यहाँबाट वायरलेस टेक्नोलोजीमार्फत गाउँ-घर र त्यहाँका विभिन्न स्कुलमा इन्टरनेट पुर्याउनुभयो।
गाउँ-घरमा अर्को समस्या भनेको त्यहाँ डाक्टरहरू जान नमान्नु हो। त्यसैले पुनले गाउँकै पाका महिलालाई स्वास्थसम्बन्धि तालिम दिनुभयो। ती महिलाहरूले सामान्य रूघा, खोकी, ज्वरो लाग्दा खानुपर्ने औषधी बुझेँ। गाउँमा स-साना हेल्थ-पोस्ट पनि संचालन गर्न उहाँले मद्दत गर्नुभयो।
यसरी विभिन्न काममा संलग्न हुनुभएको महावीर पुनलाई धेरैले चिन्न थाले। विशेषगरी उहाँको वायरलेस इन्टर्नेटको अवधारणालाई लिएर बिबिसीले कार्यक्रम प्रसारण पनि गरिदिएको थियो। त्यसपछि उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीबाट सहयोग पाउनुभयो। त्यसपछि पुनले आफ्नो कामको कारण विभिन्न पुरस्कारबाट सम्मानित हुनुभयो।
अहिले हामी उहाँलाई इन्टरनेटका 'राजा', देश र जनताका लागि काम गर्ने एक देशभक्तका रूपमा चिन्छौं। उहाँले आफ्नो मात्र नभई सम्पूर्ण नेपालीबारे सोच्नुभयो।
डा. महावीर पुनको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौं। हामीले कुनै पनि काम गर्दा त्यसले अरूलाई असर पार्नु भएन। जसरी उहाँले गरेको हरेक कामले अरूलाई राम्रो मात्रै भयो। हामीले पनि त्यस्तै गर्नुपर्छ।
अहिले नेपालीहरू विदेश जाने लर्को बढ्दो छ। उनीहरू विदेशमै बसाइ सर्न खोज्छन्। तर पुन विदेश पुगेर पनि आफ्नो पढाई सकेर नेपालै फर्कनुभयो। उहाँ नेपालमै केही गर्न सक्ने सोचे बोकेर फर्कनुभयो।
यसबाट हामीले यो सिक्न सक्छौँ कि हाम्रो देश विकास हामी आफैँले गर्ने हो। विदेश जानै हुँदैन भन्ने होइन। तर विदेशबाट राम्रो पढेर, विभिन्न अवसर बुझेँर नेपाल फर्कनु पर्छ।
अन्त्यमा म के भन्न चाहन्छु भने डा. महावीर पुन साझा जीवन उच्च विचार राख्ने स्वाभावको व्यक्तित्व हुनुहुन्छ।
(रूविआ पराजुली बुढालिनकण्ठ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन्।)