सबैझैं मैले पनि दस महिना कोरोना कहरमा घरै बस्दा पुनर्ताजगी प्राप्त गर्न पाठ्यक्रम बाहिरका विभिन्न विषयका किताब अध्ययन गरेँ।
त्यसबीच किताबको अध्ययनका साथसाथै अनलाइन कक्षा पढ्दै थिएँ। जति किताबको अध्ययन गरे पनि बाहिर निस्की घुम्न गएका ती अतितका मिठा सम्झनाले मलाई मोहित पारी हाल्थे। यसैक्रममा मेरो मावली घरमा बाहिर घुम्न जाने छलफल चल्यो र २०७७ माघ १ गते घुम्न जाने निर्णय गर्यो। सबै सदस्यहरू यस भ्रमणको तयारिमा जुट्न थाल्यौं र यात्रा सम्बन्धि सबै योजना बनायौं।
यसरी हामी पूर्व निर्धारित माघ १ गते विहान ४ बजेतिर ७ जना परिवारका सदस्य आफ्नै गाडीमा घुम्न निस्कियौं। नयाँ नयाँ ठाउँमा घुम्न जाने कौतुहलताले मलाई राती सुत्न पनि उकुसमुकुस भएको थियो भने बिहान पनि अभिभावकहरूसँगै आफैं उठे।
हामी बर्दिबास बनेपाको बिपी राजमार्ग हुँदै बिहानको ८ बजेतिर सिन्धुली पुग्यौं। जापान सरकारले बनाएको यो राजमार्ग अलि साँघुरो भए पनि चिल्लो र कालोपत्रे रहेछ। जसमा मलाई गुड्न अत्यन्तै रमाइलो लाग्यो।
घुमाउरो भूगोलमा बनेको संरचना अत्यन्तै सुन्दर र मनमोहक रहेछ। यो जिल्ला भित्री मधेशमा पर्दो रहेछ। त्यहाँ हामीले जुनार, अमला र सुन्तला किन्यौं। सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी र भिमान बजार मेरो पुर्ख्यौली थलो पनि रहेकाले मैले पहिलो पटक सो स्थानलाई नजिकबाट नियालेँ। ती स्थान रमाइला रहेछन्।
यसरी यात्रा अघि बढ्दै जाँदा हामी महोत्तरीको बर्दिबास, ढल्केबर हुँदै दिनको करिब १ बजेतिर जनकपुरधाम पुग्यौं। बिहानको खाना त्यही खाएर जानकी मन्दिर घुमघामका लागि निस्कियौं। घुम्दाघुम्दै मैले जानकी मन्दिरका बारेमा केही जानकारी पाएँ।
सो मन्दिर भारतको टिकमगढका राजा प्रतापसिंह र रानी बृषभानु कुमारीले वि.सं. १८९५ मा निर्माण कार्य सुरू गरेर १२ वर्ष लगाएर बनाएका रहेछन्। जानकी मन्दिर साँच्चै नै सुन्दर कलाकारिताको नमूना रहेछ। तर मन्दिरको सरसफाइ अवस्था चाहिँ निकै नै दयनीय रहेछ।
अब चाहिँ हामीले जानकी मन्दिरका यादलाई मोबाइलको क्यामरामा कैद गर्यौं। करिब १ बजेतिर माता जानकीसँग बिदा मागी धरानतिर लाग्यौं।
समतल बाटोमा गुड्दा गुड्दै मैले ठूला फाँटहरू, सडक छेउका बजारहरू, कोशी नदीमाथि बनेको विशाल पुल लगायतका दृश्यदेखि पुलकित भयौं। करिब ८ बज्दा हामी धरान पुग्यौं, त्यहाँबाट बासका लागि होटल खोज्दाखोज्दै भेडेटार पुगियो। भेडेटारको फाइन होटलमा बसियो। यात्राको पहिलो दिन निकै थाकिएको हुनाले हामी सबै जना छिट्टै सुत्यौं।
भ्रमणको दोश्रो दिन अर्थात् माघ २ गते करिब साढे सात बजेतिर हामी भेडेटार बजार घुमेर धरानतिर झर्यौं। धरान बजार आसपासका पवित्र तीर्थस्थल बुढासुब्बा, दन्तकालीको दर्शन र पूजाआजा गरेर बिहानको खाना धरानमै खाएर करिव दस बजेतिर इलामतर्फ रवाना भयौं।
इलाम जाने क्रममा इटहरी र झापाको बिर्तामोड हुँदै यात्रा पार गरियो। इलामको कन्याम भन्ने ठाउँ चिया खेतीका लागि निकै प्रसिद्ध रहेछ र रमाइलो पनि। इलाम जाने बाटोमा प्रायःजसो बाक्लो बस्ती र सहरी इलाका रहेछ। चानचुन एक बजेतिर हामी कन्याम पुग्यौं। त्यहाँ गाडीबाट उत्रनासाथ बाक्लो हुस्सु लागेका कारण हाम्रो खुशी र उमंग केही हदसम्म घट्यो।
बाक्लो हुस्सुले गर्दा अलि टाढाको दृश्य पनि देखिएन। तर त्यत्रो लामो दुरी पार गरी चियाबगान हेर्न भनी गएकाले केही अगाडि बढ्यौं। धन्न हामी भाग्यमानी ठहरियौं त्यहाँ हुस्सु निकै पातलो मात्र लागेको रहेछ। हामी चिया बगान भित्र गई रमायौं र त्यहाँको सुप्रसिद्ध चिया खायौं।
हाम्रो योजना अनुसार त्यस रात इलाममै बस्ने भन्ने थियो तर हुस्सु र चिसोका कारण त्यहाँबाट फर्कने निर्णय गरी खाजा खाएर करिब ३ बजेतिर झापातर्फ ओरालो झरियो।
ओरालो झर्दै हामी झापाको बिर्तामोड हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टा पुग्यौं। कोभिड-१९ को संक्रमण फैलिँदै गएपछि नेपालले अन्तर्राष्ट्रिय सीमामा आवत जावतमा रोक लगाएकोले सो नाका सुनसान थियो। सो ठाउँ निकै सफा रहेछ। नेपालका हरेक नाकाहरू यसरी नै सफा भए देशकै प्रतिष्ठा उच्च हुने थियो।
मेची पुलमाथि उभिएर फोटो खिचेर हामी विराटनगरतर्फ हिँड्यौं। विराटनगर पुग्दा रातको ८ बजेको थियो। सर्वप्रथम हामीले बासको बन्दोबस्तका लागि होटलको खोजीमा लाग्यौं। केही समयको खोजीपछि होटल चिनारीमा बास बसियो। यससँगै दोश्रो दिनको यात्रा समाप्त भयो।
थकानपछिको मिठो निन्द्रासँगै बिहान उठ्दा एकदमै सहज अनुभूति भयो र यात्राको तेश्रो दिन अर्थात माघ ३ गते बिहानको चियापानी पश्चात हामी नेपालको अर्को प्रसिद्ध सीमा नाका जोगबनी हेर्न निस्कियौं। जोगबनी बजार घुम्नेक्रममा काँकडभिट्टाकै जस्तो दुई देशीय सीमा वारपारमा रोकावट रहेछ।
जोगबनी बजार निकै फोहोर र अस्तव्यस्त रहेछ, जुन देखेर मलाई दिक्क लाग्यो। एकछिनको जोगबनी घुमाई पछि पुनः विराटनगर फर्कियौं र विराटनगरलाई उज्यालोमा नियाल्यौं। विराटनगर ठूलो सहर रहेछ र औद्योगिक नगरी पनि रहेछ। बजारमा मानिसहरूको घुइँचो देखिन्थ्यो। एकहदसम्म काठमाडौं जस्तै मानिसहरू दौडधुपमै देखिन्थे।
यसरी विराटनगरलाई बाइबाइ गरेर हामी चितवनको सौराहाका लागि हिँड्यौं।
लमतन्न परेको सडक जति हिँडे पनि नसक्किने जस्तो सम्म भूबनोटलाई जीवनमा पहिलोपटक आँखा र स्मृतिमा कैद गर्दै सौराहाको नजिक पुग्दै थियौं। सौराहा नजिक पुग्ने क्रममा हुस्सु बाक्लिँदै थियो। जसले गर्दा हाम्रो कारको गति सामान्य नै रह्यो। हामी आफैंले पानी, सातु, फ्रुटी, चाउचाउ, भुटेको मकै, चटपटे, सिन्धुलीको जुनार, अमला, सुन्तला आदिको बोकेका कारण खाजा खानका लागि कतै गाडी रोकेर बस्नु परेन।
यसैक्रममा साँझको ७ बजेतिर सौराहा पुगियो र त्यहाँ होटल सौराहामा बास बस्यौं। रमाइलो कुरा के भयो भने सो होटलमा बास मात्र पाइयो खानाको जुगाड गर्न करिब १ घण्टा लाग्यो र एक थकाली होटलमा पुगी खाना खाएर आयौं। यसैबीच हामीले राप्ती खोलाको किनारमा गई साँझको झिलमिल बत्तीसहितको दृश्यपान गरियो। जुन आफैंमा मनमोहक थियो।
यात्राको चौथौ दिन अर्थात माघ ४ गतेको बिहानी सुप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदा त बाक्लो तुँवालोका कारण जंगल सफारी गर्ने अवस्थै रहेन। जंगल सफारी बिनाको निकुञ्ज घुमाइको के नै मजा रहन्थ्यो र?
त्यसो त पर्यटकको घुँइचो रहने सौराहामा पर्यटकहरूको कुनै उपस्थिति नै थिएन। अघिल्लो रात हामी बास बसेको करिब १ सय वटा कोठा रहेको होटलमा हामी मात्र पाहुना थियौं। बिहानको साढे दस बजेतिर खाना खाएर हामीले पूर्व योजना अनुसार लुम्बिनीतर्फको यात्रा तय गर्यौं।
यसरी लुम्बिनीतर्फ अघि बढ्दै जाँदा म एकदमै उत्साही भइरहेको थिएँ। मेरो मनमा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न नपाएको पीडालाई प्रसिद्ध तीर्थस्थल लुम्बिनीको नामैले पनि बिर्साइरहेको थियो। कक्षामा परियती (भगवान बुद्धको जीवनी र दर्शन) पढेकाले उनको जन्मस्थान घुम्ने रहर निकै पहिलेदेखि नै थियो।
बाटोमा सम्म फाँटहरू, जंगलका बीचबीचमा आउने बस्तीहरू आदि हेर्दा हेर्दै लुम्बिनी पुग्दा साँझको ५ बज्यो। त्यही नजिकैको ओयो होटलमा गई कुराकानी गरेर त्यस रातको बास पक्का गरियो। त्यसपछि हामी लुम्बिनी घुम्ने सल्लाह गर्दा गर्दै होटलका साहुजीले साँझ ६ बजेपछि प्रवेश बन्द हुने जानकारी दिएपश्चात होटलबाट नजिकै रहेको मायादेवी मन्दिर मात्र घुम्ने र बाँकी भोलीपल्ट बिहान घुम्ने निधो गरेर हामी मायादेवी मन्दिर घुम्न निस्कियौं।
मन्दिर प्रवेशका क्रममा कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै व्यवस्थापनले भौतिक दुरी कायम गर्दै मास्कको अनिवार्य प्रयोगको व्यवस्था गरेको रहेछ। भित्र गएर हामीले अशोक स्तम्भ, संग्राहलय, पुस्करणीय पोखरी, सिद्धार्थ गौतम जन्मनासाथ टेकेका ७ पाइला, मायादेवीले सिद्धार्थ गौतम बुद्धलाई जन्माउने क्रममा प्रसव वेदनामा पर्दा समातेको पिपलको रूख, पुराना इँट्टाहरू लगायत पुरातात्विक वस्तु हेर्यौं। सोपश्चात हामी होटलमा फर्कियौं र खाना खाइ थकान मेटाउने निन्द्रादेवीको शरणमा लाग्यौं।
यात्राको पाचौं दिनको बिहान उठी नित्यकर्म सकेर लुम्बिनी घुम्ने व्यवस्था मिलाउन तर्फ लाग्यौं। यसैक्रममा हामीले एउटा ठूलो भ्यान बुक गरेर लुम्बिनीतर्फ लाग्यौं। हामी ८ बजे गेटभित्र प्रवेश गरी सेतो गुम्बा, विभिन्न देशले बनाएका गुम्बा, अखण्ड दीप लगायत दर्शन गरेर करिब १२ बजेतिर बाहिरियौं।
बाक्लो शीतलहरले गर्दा मौसम बिग्रिएको थियो जसले गर्दा हामीले सोचे जस्तो मजा लिन भने पाएनौं। त्यसपछि बिहानको खाना खाएर हामी नवलपरासीको सिजीधाम हुँदै काठमाडौंतर्फ फर्कने भनी लुम्बिनीलाई आत्मियता दर्शाउँदै बिदा भयौं।
फर्कने क्रममा दाउन्ने भन्ने स्थानमा जाम परेको कारणले गर्दा सिजीधाम पुग्दा अपरान्हको ४ बजेको थियो। सिजीधाम साँच्चिकै रमाइलो, राम्रो र सफा रहेछ। सानो ठाउँ भए पनि व्यवस्थित संरचना रहेछन्। त्यहाँको रमाइलो त के रहेछ भने हरेक बिरुवाको फेदमा देख्दा ढुंगाजस्तो देखिने स्पिकरबाट मन्त्रोचारण हुँदो रहेछ। यति राम्रो संरचना बनाएकोमा मैले मनमनै प्रसिद्ध उद्योगपति बिनोद चौधरीलाई धन्यवाद दिएँ। सिजीधामको सम्झनालाई मोबाइलमा भव्य कैद गरियो।
सोपश्चात नजिकैको पसलमा आइसक्रिम किनेर खाँदै गाडीमा चढ्यौं र काठमाडौंतर्फको यात्रा अगाडि बढायौं। साँझ ५ बजेतिर मुग्लिन बजारमा आइ सुन्तला किन्दाकिन्दै मेरो ठूलोबाबाले आज धादिङबेशी जाने भन्नुभयो। धादिङबेशीमा मेरो बाबा कार्यरत हुनुहुन्थ्यो।
यो पाँच दिनको यात्रामा मलाई बाबा साथमा नभएको नियास्रो लागिरहेकै थियो। ठूलोबाबाले धादिङबेशी जाने भनेपछि म एकदमै खुशी भएँ र बाबालाई फोन गरेँ। करिब १५ मिनेट जतीपछि हामी मुग्लिनबाट अगाडि बढ्यौं।
त्रिशुली नदी किनारै किनार पृथ्वी राजमार्ग हुँदै हामी धादिङकै प्रसिद्धस्थान मलेखु पुग्यौं। मलेखुभन्दा केही पूर्व काठमाडौंतर्फ अगाडि बढ्दा फुर्केखोला भन्ने स्थानबाट त्रिशुली नदीमाथीको पूल पार गर्दै धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी जानु पर्ने रहेछ।
सोही अनुसार हामी अगाडि बढ्यौं र रातको करिव ८ बजेतिर हामी धादिङबेशी पुग्यौं। बाबासँग भेट भयो उहाँले हामीलाई सो स्थानको प्रसिद्ध क्रिक रिसोर्टमा हाम्रो बासको बन्दोबस्त गर्नुभएको रहेछ। सो रिसोर्ट रमाइलो स्थानमा र सुविधा सम्पन्न रहेछ। सो रिसोर्टमा पुगी सबैभन्दा पहिला मैले र मामाले चिकेन चिल्ली १ प्लेट मगाएर खायौं। अलिअलि चिसो भएकाले रिसोर्टले क्याम्प फायर व्यवस्था गरिदियो। यसरी रमाइलो वातावरणका बीच हामीले बेलुकीको खाना खाएर यात्राको पाचौं दिन अन्त्य गर्यौं।
छैठौं दिन अर्थात माघ ६ गतेको बिहान सबैजनाले नुहाई धुवाई गरेर पुनर्ताजगी सहित नास्ता खाइयो। त्यसपछि धादिङबेशी बजार छेउछाउ पैदल यात्रा सहित घुमियो र बिहानको खाना खाएर बाबालाई धादिङबेशीमै छाडेर हामी काठमाडौं घरतर्फ हिँड्यौं। सोही दिनको अपरान्ह ४ बजेतिर घर आइपुगियो।
कोरोना कहरको उकुसमुकुस पछिको यो यात्राले मलाई निकै फुर्तिलो बनायो। साथै यो यात्राबाट मैले निम्नानुसारका ज्ञानहरू पाएँः
- देशका प्रमुख राजमार्गहरू बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गको बारेमा जानकारी।
- प्रसिद्ध तीर्थस्थलहरू जानकी मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा, लुम्बिनी, सिजीधामका बारेमा जानकारी एवम् प्रत्यक्ष अवलोकन।
- इलामको चिया बगान।
- नेपालका २ वटा अन्तर्राष्ट्रिय सीमा नाका काँकडभिट्टा र जोगबनी
- तराई मधेशका सुन्दर र हरियाली ठूला ठूला फाँटहरू
- बहुचर्चित कोशी बाँध
- चारकोशे झाडी
- पर्यटकीय क्षेत्र सौराहा
- निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, आदि।
(रोमहर्षण ढुंगेल, एभरेष्ट इङ्लिस स्कुल, भक्तपुर, कक्षा ६ मा अध्ययनरत छ।)