सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सेतोपाटीमा मेरा अघिल्ला लेखहरू प्रकाशित भएपछि मलाई लेख्ने झन् धेरै मन लाग्यो। तर यो पटक मलाई लेख्ने विषय छान्न निकै मेहनत गर्नु पर्यो। मलाई मनपर्ने विषयमध्ये विज्ञान पनि हो। सरम्यामले विज्ञान विषय पढाउँदा म सधैं चाख लिएर पढ्थेँ।
घरमा आएर स्कुलमा पढेका विषयमा बाबामामुसँग थप छलफल गर्थेँ र जानकारी लिन्थेँ।
विज्ञान सम्बन्धी अरु किताबहरू पढ्ने गर्थेँ र यूट्युब भिडिओ पनि हेर्ने गर्थेँ। यसले मलाई हामी बस्ने पृथ्वीको बारेमा थप जान्न मन लग्यो। पृथ्वी कसरी बन्यो होला? पृथ्वी पहिले कस्तो थियो होला? मान्छेको विकास कसरी भयो होला? देशहरू कसरी बने होलान्? भन्ने लागि रहन्थ्यो। मैले बाबालाई पृथ्वीको बारेमा सोधे।
बाबाले मलाई पृथ्वीको बारेमा केही बताउनु भयो र युट्युबमा भिडियो पनि देखाउनु भयो। त्यसबेला त मैले धेरै बुझ्न सकिन तर पृथ्वीको बारेमा जान्ने मन लागिरहेको थियो।
मैले बाबामामुलाई यो पटक पृथ्वीको बारेमा लेख्छु भने र हामी पृथ्वीको बारेमा अध्ययन गर्न थाल्यौं। हामी तिनै जनासँगै बसेर बेलुका खाना खाएपछि दैनिक एक घण्टा पृथ्वीको बारेमा अध्ययन गर्न थाल्यौं। यसका लागि गूगलमा खोज्यौ, युट्युब भिडियो हेर्यौं, पुस्तक पढ्यौं। मैले ‘बाल बिज्ञान’, ‘पृथ्वी र ब्रम्हाण्ड’ र मेरो कक्षाको विज्ञान किताब पढे।
धेरै कुरा चाहिँ विकिपेडिया, नेसनल जोग्राफी र अन्य अनलाईन सामग्रीबाट पढे। धेरै शब्दहरू बुझ्न डिक्सनरी नै हेर्नुपर्यो, अझै बुझेको छुइन। पछि फेरि पढ्छु। पृथ्वीको बारेमा जति धेरै पढ्यो त्यति चाख लाग्दो र रहस्यमय लग्यो। तर बालबालिकाले बुझ्न सजिलो हुने गरी लेखिएको सामग्री नपाउँदा निक्कै गाह्रो भयो। यो लेख तयार पर्न समय पनि निक्कै लग्यो।
तर यसबाट जानेका कुरा मेरो लागि धेरै नै उपयोगी छन्। यो लेखमा मैले पृथ्वीका बारेमा मैले बुझेको कुराहरू लेखेको छु। पृथ्वीको उत्पति ४.५ अरब वर्षअगाडि भएको रहेछ। पहिला पृथ्वी लगायतका सबै ग्रहहरू सौर्यमण्डलकै भाग रहेछन्।
सौर्यमण्डलमा आएको ठूलो हलचलले सौर्य मण्डलबाट विभिन्न टुक्राहरू अलग्गिएछन्। पृथ्वी पनि त्यस्तै एउटा टुक्रा रहेछ। पृथ्वी सुरुमा आगोको गोला जस्तै रहेछ। यसको तापक्रम २००० डिग्री सेल्सियस रहेको अनुमान रहेछ।
ओहो! कति तातो होला? पानी १०० डिग्री सेल्सियसमा उम्लिन्छ, त्यो छुन पनि सकिदैन भने यति धेरै तापक्रममा के भयो होला? त्यसैले सुरुमा पृथ्वीको सबै चिज पग्लिएको तातो लेदो जस्तो पदार्थ मात्रै थियो। पृथ्वीको बाहिरी भाग सेलाउन १ अर्ब वर्ष लग्यो। यसको भित्रि तापक्रम अहिले पनि ५२०० डिग्री सेल्सियस छ।
त्यहीं भएर पृथ्वीको भित्री भागमा अहिलेपनि सबै पदार्थहरू पग्लिएको तातो लेदो जस्तो अवस्थामा रहेका छन्। बेलाबेलामा हुने ज्वालामुखी बिस्फोटमा त्यस्तो लेदो बाहिर निस्किँदो रहेछ। त्यसबाट अहिले पनि ज्वालामुखी पहाड बन्दो रहेछ। मेरो बाबा फिलिपिन्स जाँदा त्यस्तो पहाड देख्नु भएको थियो रे।
सौर्यमण्डलमा पृथ्वी जस्ता अरु ग्रहहरू पनि छन्। ती हुन्- बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण। बरुण सूर्यको सबैभन्दा टाढाको ग्रह छ र यो धेरै चिसो छ। बरुणको तापक्रम -२१४ डिग्री छ।
पानी शून्य डिग्रीमा जम्छ भने त्यति कम तापक्रममा के होला? सूर्यको सबैभन्दा नजिको ग्रह भने बुध हो र यो एकदमै तातो छ। बुधको तापक्रम १६७ डिग्री छ। पृथ्वीको भने औसत तापक्रम १५ डिग्री सेल्सियस छ। त्यसैले पृथ्वीमा जीवजन्तु बाच्न सकेका रहेछन्।
पृथ्वीमा पहिलो जीव ३.५ अर्ब वर्षअघि उत्त्पति भएको रहेछ। पृथ्वी सेलाएर समुद्र बनेपछि सुरूमा एक कोसीय जीव बनेको रहेछ। त्यसपछि क्रमिक रूपमा अरु जीवहरूको उत्त्पति भएको रहेछ। डाइनोसरको चाहिँ २४ करोड वर्ष अघि उत्पति भएको रहेछ। डाइनोसर पृथ्वीमा भएको अहिले सम्मको सबैभन्दा ठूलो जीव रहेछ।
सबैभन्दा ठूलो डाइनोसर १३० फिट लामो र ५९ फिट अग्लो अजंगको भएको अनुमान वैज्ञानिकहरूले गरेका छन्। मैले देखेको सबैभन्दा ठूलो जीव हात्ती हो, जावलाखेलको चिडियाखानामा देखेको। हात्तीभन्दा पनि कयौं गुणा ठूलो डायनासोर, कति ठूलो थियो होला? त्यत्रो ठूलो जीव पनि कसरी हरायो होला? के हात्ती पनि पछि त्यसरी नै लोप होला ? मलाई यसको बारेमा थप जान्ने मन छ।
पृथ्वीमा दिन र रात कसरी हुन्छ होला जस्तो लाग्थ्यो। दिन र रात पृथ्वीको चालको कारणले हुँदो रहेछ। पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को घुम्न २४ घण्टा लाग्ने रहेछ, जस्को आधारमा दिन र रात हुन्छ। यसरी घुम्दा सूर्य तिरपर्ने भागमा दिन हुँदो रहेछ भने अर्को भागमा रात। मलाई त पृथ्वी पनि घुम्छ भन्दा अझै विश्वास लागेको छैन।
पृथ्वी घुम्दा हामीलाई किन थाहा नभएको होला? तर पृथ्वीको सबै चिज घुम्ने र हामी साह्रै सानो भएकाको थाहा हुँदैन रहेछ। त्यस्तै पृथ्वीलाई आफ्नो कक्षमा सूर्यलाई एक फन्को लगाउन ३६५ दिन लाग्छ, जसको आधारमा वर्ष बनेको रहेछ। अन्य ग्रहहरूले आफ्नो अक्ष र कक्षमा घुम्ने समय फरकफरक हुने भएकोले त्यहाँ दिन, रात र वर्ष पनि फरकफरक हुदो रहेछ।
जस्तो, सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले सूर्यलाई ८८ दिनमै फन्को लगाउदो रहेछ। मंगल ग्रहलाई सूर्यको फन्को लगाउन ६८७ दिन लाग्ने रहेछ। सबैभन्दा टाडाको ग्रह बरुणलाई सूर्यको परिक्रमा गर्न १६५ वर्ष लाग्ने रहेछ। पृथ्वी एक घण्टामा १०७८२६ किलोमीटरको गतिमा हिँड्दो रहेछ। पृथ्वी सूर्यभन्दा १४.९ करोड किलोमीटर टाडा रहेछ। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न जम्मा ८ मिनेट लाग्दो रहेछ।
पहिला पृथ्वीमा जमिन सबै जोडिएको रहेछ। देश वा महादेश भन्ने केहि पनि रहेनछ। करिब २० करोड वर्ष अगाडि पृथ्वीको चाल र यसको सतहमा आएको हलचलको कारणले त्यो जमिन टुक्रिएर छुट्टिन थालेको रहेछ।
करोडौं वर्षको त्यस्तो प्रक्रियाले महादेश बनेका रहेछन्। पृथ्वीमा अहिले सात महादेश छन्। ती हुन् – एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्टिक, युरोप र अस्ट्रेलिया। पृथ्वीमा पाँच वटा महासागरहरू छन्।
ती हुन् - प्रशान्त महासागर, हिन्द महासागर, अन्टार्टिक महासागर, आन्ध्र महासागर, र आर्कटिक महासागर। एसिया सबभन्दा ठूलो महादेश हो भने अस्ट्रेलिया सबभन्दा सानो रहेछ। महासागरमध्ये सबभन्दा ठूलो प्रशान्त महासागर हो भने सबभन्दा सानो आर्कटिक महासागर हो।
अहिले पनि उत्तर अमेरिका र युरोप प्रति वर्ष एक इन्चको दरले टाडा हुदै रहेछन्। यस्तै भयो भने कुनै बेलामा फेरी यो महादेशहरू सँगै होलान त ? त्यो बेलामा अहिले भएका देशहरू हुन्छन् कि हुदैनन् होला ?
मलाई यी पहाडहरु कसरी बने होलान् जस्तो लाग्थ्यो। कुनै ठाउँ अग्लो, कुनै ठाउँ होचो कसरी भयो होला ? यसको पनि एउटा रमाइलो प्रक्रिया रहेछ। पृथ्वीको बाहिरी आवरण मुनि रहेका भूखण्डहरू एक-आपसमा जोडले ठोकिँदा ठूलो हलचल हुँदो रहेछ। यो क्रममा शक्तिशाली भूखण्डले कमजोर भूखण्डलाई धकेल्दो रहेछ।
त्यो धकेलिएको ठाउँ बिस्तारै माथि उठ्दो रहेछ र त्यसलाई नै हामी हिमाल भन्छौं। जसरी हामीले टेबलमा राखेको कापीको पन्नालाई दुईतिरबाट धकेल्दा पन्ना खुम्चिएर अग्लो-होचो हुन्छ, त्यसरी नै भूखण्डको जोडले जमिन खुम्चिने हुँदो रहेछ। अहिले हाम्रो देश नेपाल भएको ठाउँमा पनि टेथिस नाम गरेको विशाल सागर रहेछ।
करिब ५ करोड वर्षअघि भारतीय भूखण्ड तिब्बती भूखण्डसँग ठोकिदा सागरको लोप भएर हिमाल बनेको रहेछ। विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथा पनि त्यसरी नै बनेको रहेछ। यो सबै पढ्दा मलाई अचम्म लग्यो। ती भूखण्डहरु अहिले पनि ठोकिँदा रहेछन् र त्यसैकारण भूकम्प आउँदो रहेछ। २०७२ सालको भूकम्प पनि त्यसरी नै आएको रहेछ। त्यसैले, नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्दो रहेछ।
मानव प्रजातीको उत्पति चाहिँ करिब २४ लाख वर्ष अघि भएको रहेछ। त्यो बेलाको मानव अहिलेको जस्ता रहेनछन्। शरीरभरि रौं नै रौं भएको बाँदर जस्ता रहेछन्। अहिलेको मानवको विकास भने २.५ लाख वर्षअघि भएको रहेछ। पहिलाका मानिसहरू जंगलमा बस्ने, काँचो खानेकुरा खाने, लुगा नलगाउने, ओडारमा बस्ने, संकेतमा र इशारामा कुरा गर्दा रहेछन्।
खाना खोज्न जंगलमा डुली हिँड्दा रहेछन्। त्यसपछि खेतीपाती गर्ने, रुखका बोक्रा वा जनावरका छालाको लुगा लगाउने, बस्ने घर बनाउने र बोल्ने भाषाको विकास भएछ। लेख्ने भाषाको विकास भएको चाहिँ करिब ५००० वर्षमात्र भएको रहेछ।
आधुनिक विज्ञानको विकासको सुरूवात भने करिब ५०० वर्षअघि देखि मात्र भएको रहेछ। यसरी मानिसको क्रमिक विकास हुदै अहिलेको अवस्थामा आइपुगेको रहेछ। यो सबै जान्दा मलाई अचम्म र रमाइलो लाग्यो, थप उत्सुक पनि बनायो।
पृथ्वीमा अहिले १९५ देशहरू छन्। त्यसमध्ये आकारमा सबभन्दा ठूलो रसिया रहेछ भने सबभन्दा सानो होली सी रहेछ। रसियामा नेपाल जात्रा १११ देश अटाउन सक्ने रहेछन्। होली सीको क्षेत्रफल भने ०.४९ वर्ग किलोमीटर मात्र रहेछ। त्यति सानो पनि देश हुन्छ भन्ने जान्दा रमाइलो लग्यो। जनसंख्याको आधारमा भने चीन सबैभन्दा ठूलो देश रहेछ भने सबैभन्दा सानो होली सी नै रहेछ। चीनको जनसंख्या १ अर्ब ४३ करोड छ भने होली सीको जनसंख्या ८०१ मात्र रहेछ।
चीनमा नेपालको भन्दा ४८ गुणा बढी मान्छे रहेछन्। हाम्रो अर्को छिमेकी देश भारत चाहिँ जनसंख्याको आधारमा दोश्रो ठूलो देश रहेछ, जहाँ १ अर्ब ३८ करोड मानिस बस्दा रहेछन्। चीन र भारत आकार र जनसंख्या दुबैमा हाम्रो देशभन्दा कयौं गुणा ठूला रहेछन्। अहिले पृथ्वीमा मानिसको जनसंख्या ७.८ अर्ब पुगेको रहेछ।
मानिसको मात्रै जनसंख्या बढ्ने, तर अरू जीव जन्तु र बोटबिरुवाको संख्या घटिरहेको रहेछ। यसले वातावरणलाई बिगारेको रहेछ। हामीले प्रकृतिको संरक्षण गर्न सकेनौं भने करोडौ वर्ष लगाएर बस्न योग्य भएको पृथ्वी चाँडै नाश हुने जोखिम पनि रहेछ। ग्रहहरूमध्ये पृथ्वी सबभन्दा राम्रो ग्रह हो भने जीवहरूमा मानिस बुद्धिमान प्राणी हो।
अहिलेको मानव बन्न लाखौं वर्ष लागेको रहेछ। यो बीचमा मानिसले ज्ञान, प्रविधि, पढ्ने-लेख्ने सिपको विकास गरे। त्यो ज्ञान र प्रविधिको प्रयोग गरेर राम्रो समाज बनाए। तर पहिलादेखि नै बेला बेलामा कोरोना भाइरस जस्तै विभिन्न संक्रमणले मानिसलाई सताएको रहेछ। प्लेग, हैजा, फ्लू जस्ता रोगले पनि धेरै मानिसको मृत्यु पनि भएको रहेछ। तर त्यस्ता सबै रोगलाई मानिसले आफ्नो ज्ञानले सधै जितेको रहेछ। कोरोनालाई पनि पक्कै हामीले जित्छौं होला।
अहिलेका मानिसमा पहिलेको मानिसको तुलनामा बढी ज्ञान र सिप छ। नयाँ-नयाँ आविस्कार गरेर सबैलाई सुखी बनाउन प्रयास गरिरहेका छन्। तर अहिले प्राकृतिक वातावरण भने पहिलाको जस्तो स्वच्छ र सुरक्षित छैन। मानिसले विकास सँगसँगै विनाश पनि गर्दै आएका रहेछन्। वातावरणको संरक्षण गर्दै हामी सबैको साझा घर पृथ्वीलाई जोगाउनु हामी सबैको कर्तव्य पनि हो।
(अभिप्षा पोख्रेल फ्यूचर स्टार्स हाई स्कूल, जावलाखेलमा कक्षा ६मा अध्ययनरत छिन् )