सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कोरोना भाइरसलाई डब्लुएचओले महामारी घोषणा गरिसकेपछि संसारभर कोरोनाको खोप पत्ता लगाउन सयौं प्रयास गरियो। तर के कोरोनाको खोप बनिसक्यो त? बनिसक्यो भने बजारमा कहिले आउँछ? नेपालमा कहिले आउँछ? केही हप्तादेखि यी प्रश्नहरू सबैको मनमा खेलिरहेका छन्।
धेरैमध्ये खोपमध्ये अहिले फाइजर र मोडर्ना खोप चर्चामा छन्। फाइजर ४३,००० जनालाई लगाउँदा ९५% मानिसमा सकारात्मक नतिजा पाइयो भने ६५ वर्षभन्दा धेरै उमेर भएका मानिसमा पनि यो खोपको सटिकता दर ९४%छ। मोडर्ना चाँहि सटिकता दर ९४.५% छ।
अब यति धेरै सटिकता दर हुँदा पनि यी खोप बजारमा किन ल्याइएको छैन?
रुप परिवर्तन गर्ने प्रकृति भएका कारण भाइरल रोगका खोप बनाउन लामो समय लाग्छ। त्यसैले मम्प्स भाइरसको खोप बन्न ४ वर्ष लगेको थियो। केही भाइरसका खोप बनाउन १० वर्षसम्म लागेको छ। वास्तवमा पहिले अनुसन्धान गरेर खोप बनाएपछि क्लिनिकल परीक्षण गरिन्छ। पहिले मुसा र बाँदर जस्ता जनावरमा गरिन्छ र सकारात्मक नतिजा आयो भने एउटै उमेर र विशेषता भएका मानिसहरूमा परीक्षण गरिन्छ।
त्यसैपछि ८०-१०० को समूहमा जाँच गरिन्छ र अन्तिम परीक्षणमा २०,०००-४०,००० जनामा जाँच गरिन्छ। दुवै फाइजर र मोडर्नाले क्लिनिकल परीक्षण समाप्त गरिसकेका छन्।
वास्तवमा जब एउटा खोपले क्लिनिकल परीक्षण पास गर्छ, त्यो खोपले डब्लुएचओ र राष्ट्रिय नियामकहरूबाट समीक्षा र अनुमति नपाएसम्म त्यो खोप बजारमा ल्याइँदैन। खोपले समीक्षा र अनुमति पाउन जरुरी हुन्छ किनभने अहिले खोपको सकारात्मक प्रभाव भए पनि मानिसहरूमा पछि नकारात्मक असर देखिनसक्छ। त्यसैले समीक्षा र अनुमति नपाएसम्म खोप बजारमा ल्याइँदैन।
यो प्रक्रिया पूरा गर्न दुई वर्षसम्म लाग्नसक्छ। किनभने खोप सुरक्षित छ कि छैन भन्ने थाहा पाउन ती खोप अध्ययन गरेर विभिन्न परीक्षण गर्नुपर्छ। तर अहिले वैज्ञानिकहरू तीव्र गतिमा काम गरिरहेका छन् र डब्लुएचओले पनि यो प्रक्रिया सक्दो छिटो गरेर सुरक्षित खोपलाई सन् २०२१ को तेस्रो महिनाभित्र बजारमा वितरण गर्न सकिने अनुमान गरेको छ।
तर डब्लुएचओले अनुमति दिने बितिकै खोप संसारभर उपलब्ध हुन्छ भन्ने होइन। अनुमति पाएको खोपलाई धेरै ठूलो मात्रामा उत्पादन गरिएको हुँदैन। त्यसैले खोपले अनुमति पाइसकेपछि पहिले विकसित देशमा वितरण गरिने छ र ठूलो मात्रामा उत्पादन गरिसकेपछि बल्ल विश्वव्यापी रुपमा उपलब्ध हुनेछ।
सामान्यतया खोपको समीक्षा र अनुमति प्रक्रिया पूरा गर्न २ वर्षसम्म लाग्न सक्छ। तर यसलाई सक्दो छिटो पूरा गर्दा खोप असुरक्षित नहोला त?
१९५३ ईश्वीमा सल्क नामक वैज्ञानिकले पोलियोको निस्क्रिय खोपलाई परिचय दिए। यो खोपलाई पछि केही मानिसहरूमा परीक्षण गरियो र सन् १९५४ मा चाँही लगभग १० लाख मानिसमा यो खोप लगाइयो। त्यति बेलासम्म यो खोप सफल भनेर घोषित गरिसकिएको थियो। तर खोप लगाएका मानिसमा केही हप्ता पछि साइड इफेक्टहरु देखिन थाल्यो। यो घटनाबाट समीक्षा र अनुमति प्रक्रियाको महत्व थाहा पाइन्छ।
तर कोरोनाको खोपको सकेको छिटो समीक्षा र अनुमति प्रक्रियालाई पूरा गरे पनि साइड इफेक्ट देखिने एकदमै कम सम्भावना हुन्छ। किनभने अहिले चर्चामा रहेका खोपहरूले क्लिनिकल परीक्षण हजारौं मानिसमा गरिसकेका छन्। सामान्यतया खोप लगाएपछि साइड इफेक्ट केही हप्तामा नै देखिन्छ। जसरी निस्क्रिय पोलियोको खोप लगएका मानिसमा देखिएको थियो।
तर पहिले नै फाइजर र मोडर्ना खोप लगाएका मानिसमा त्यति धेरै साइड इफेक्ट देखिएको छैन। तिनीहरूले खोप लगाएपछि राम्रो अनुभव रहेको समेत बताएका छन्। त्यसैगरी एउटा खोपले २ महिनाको डाटा नदेखाएसम्म त्यो खोपको समीक्षा र अनुमति प्रक्रियालाई सुरू गरिँदैन।
यस कारण यो प्रक्रियालाई सकेको छिटो पूरा गर्दा पनि खोप असुरक्षित हुने एकदमै कम सम्भावना हुन्छ र अहिलेको अवस्था अनुसार यो गर्न पनि जरुरी छ।
नेपालमा चाहिँ कहिले आइपुग्ला खोप?
अमेरिका, रुस, जापान, चीन र अरू विकसित देशले करोडौं खर्च गरेर विभिन्न खोपलाई बुक गरिसकेका छन्। तर नेपाल यो सूचीमा धेरैपछि छ। त्यसैले नेपालले आफैं खोप किन्न सकेन भने डब्लुएचओ र अरु अन्तर्राष्ट्रिय संगठनबाट सहयोग पाउन सक्छ।
तर हामी यतिकै उत्साहित हुनु पर्दैन। फाइजर खोपलाई -७० सेल्सियसमा राख्नु पर्ने भएकाले यो खोपलाई एक ठाउँदेखि अर्को ठाउँ कसरी पुर्याउने भन्ने र कसरी लामो समयसम्म राख्ने भन्ने ठूलो समस्या छ। खोप बनिसकेपछि खोप तुरुन्तै संसारभर उपलब्ध हुँदैन।
(आशुतोष ढुंगाना गण्डकी बोर्डिंग स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्)