सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
धुरी अर्थात डाँडाको सिधा तल लमतन्न फैलिएको वस्ती थियो। फैलिएर बसेकोले वस्तीको नाम नै वस्तु थियो।
वस्तीको बीचमा चौतारा थियो। चौतारामा ठूलो पिपलको बोट थियो। पिपल असाध्यै ठूलो भएकाले चौताराको नाम स्थानीयले ठूलापिप्ले चौतारा राखेका थिए।
ठूला पिप्ले चौतारो धेरै बटुवाको पसिना पुछ्ने र दिन काट्ने ठाउँ बनेको थियो। पिपलको बोट धेरै चराचुरुंगीहरूका लागि पनि गतिलो वासस्थान थियो। पिपलका फल खान टाढाटाढाबाट पनि चरा आउने र त्यहाँ पनि थुप्रै चरा स्थायी रुपमा बस्ने भएकाले ठूला पिप्ले चौतारो सधैं रमाइलो हुन्थ्यो।
ठूला पिपलमा भँगेरो, मैना, सारौ, कोकले, लामपुच्छ्रे, काग, फिस्टो, ढुकुर, धोबी र कोइलीले गुँड बनाएर बसेका थिए। सयौं चरा एकै ठाँउमा बसे पनि तिनीहरू कहिल्यै झगडा गर्दैनथे। त्यहाँ अचम्मको अनुशासन थियो। सबैले आफ्नो आफ्नो काम गर्थे। कसैले अरुको काममा हस्तक्षेप गर्दैनथे। कसैलाइ दुःख परे सबै निलेर साथ दिन्थे। त्यस रुखमा बस्ने सबै चराहरू सुखी र खुसी देखिन्थे।
एकपटकको कुरा हो, त्यस रुखमा वास बस्न कतै टाढाबाट एउटा चरा आयो। त्यहाँ बसेका चराको अनुशासन र मेल देखेर त्यो चराले पनि त्यहा स्थायी रूपमा बस्ने मन गर्यो। त्यस पिपलमा बस्ने चराहरुको राजा कोइली चरा थियो। नव आगन्तुक चराले कोइलीसँग अनुनय गर्दै आफ्नो कोही नभएकोले त्यहाँ बस्ने दिन भन्यो।
कोइलीले त अपरिचितलाई आफ्नो राज्यमा बस्न दिन मानिरहेको थिएन। तर अरु सबै चराले पाहुनाको अपमान गर्न नहुने भनेर आग्रह गरे। सबैले आग्रह गरेपछि कोइलीले पनि पाहुनालाई आफ्नो राज्यमा बस्न दिन मन्जुरी दियो। यसरी उक्त चरा राज्यमा एक नयाँ सदस्य थपियो।
नयाँ चरो बस्न थालेको केही समयसम्म त चरा राज्यमा सब ठिकठाक थियो। पाहुना चरो त्यहाँ बस्न थालेको केही समयपछि नै त्यहाँका चराका अण्डा र बच्चा हराउन थाले। दिनदिनै अण्डा र बच्चा हराउन थालेपछि माउ चराहरु उदास हुन थाले। तिनीहरुले अनेक तरिकाले बच्चा हराउनुको कारण खोजिरहे। तर न बच्चा र अण्डा हराउन छोड्यो न त कारण नै पत्ता लाग्यो।
लामो समयसम्म यस्तो अनिष्ट भएपछि राजा कोइलीले राजभेला डाक्यो। भेलामा धेरै छलफल भयो तर अण्डा र चल्ला हराउने कारण भने पत्ता लागेन। केही सिप नलागेपछि कोइलीले रुँदै बसाइ सर्ने निर्णय सुनायो। कोइलीको निर्णयले सबै चराहरु भावविह्वल भए। सबै चराहरुले आफ्नो जन्मथलो छोड्ने कुरामा रुँदै सहमति जनाए।
जब चराहरुले त्यो रुख छोड्न् सहमति जनाए अकस्मात कतैबाट आकासवाणी भएजस्तै आवाज आयो – 'पर्ख प्यारा चरा हो! हतारमा निर्णय नगर।'
आवाज सुनेर चराहरूले आवाज आएतर्फ हेर्दा त पिपलको बोट पो बोलिरहेको रहेछ। यत्रा वर्ष बस्दा कहिल्यै पिपल बोलेको चराहरुले थाहा पाएका थिएनन्। पिपल बोलेको सुनेर चराहरु अलमलिएको देखेर पिपल फेरि बोल्यो, 'चरा हो नआत्तिऊ। तिमीहरुका अण्डा र चल्ला खाने राक्षस तिमीहरूकै साथमा छ।'
पिपलले आगन्तुक चरालाई देखाउँदै तिमीहरूका अण्डा र चल्ला खाने राक्षस त्यही हो भन्यो। पिपलको आवाज भुइँमा खस्न नपाउँदै कागले आगन्तुक चरालाई झम्टिहाल्यो। कागको रिस देखेको ढकुरले कागलाई रोक्दै भन्यो– 'काग दाज्यै अब यसलाइ पिटेर हाम्रा बच्चा र अण्डा फर्केर आउने होइनन्। बरु यसका सबै पखेटा निकालेर रुख निकाला गरौं।'
ढुकुरको कुरो सबैले माने। फेरि सबै चराहरु त्यही आनन्दले बस्न थाले।
(विदीशा पाण्डे प्रेसीयस नेसनल एकाडेमी म्हैपी बालाजुमा कक्षा ६ मा अध्ययनरत छिन्)