सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
राजु सानो थियो। ऊ चकचके पनि थियो तर बदमास भने थिएन। उसका घरमा साना केटाकेटी कोही नहुनाले खेल्नका लागि साथीको अभाव थियो। उसलाई बाख्राका पाठापाठी, कुकुर र बिरालाका छाउरा छाउरीलाई काखमा लिएर खेलाउन निकै नै मन पर्थ्यो।
उसको भित्री चाहना त एउटा लोभलाग्दो कुकुरको छाउरो पाल्ने र उसैसँग खेल्ने थियो। तर घरमा आफ्ना आमाबुवालाई भनिहाल्न भने सकेको थिएन।
डुल्दैडुल्दै एक दिन एक गर्भिणी कुकुर राजुको घर नजिकै आइपुगी र एक घरको पिँढीलाई आफ्नो आश्रयस्थल बनाएर बसी। त्यस घर र वरपरका मानिसहरुले त्यसलाई धपाउन खोजे तर ऊ त्यहाँबाट जानै खोजिन। बरु त्यस घरको रेखदेख गर्न थाली। चिनेका मानिस आउँदा मायाले पुच्छर हल्लाउन थाली।
अनि त मानिसहरुलाई लाग्यो उसका दयालु नजरले 'मलाई यहीँ बस्न देऊ। म हानी गर्दिनँ' भने झैं लाग्यो। त्यहाँका मानिसहरुलाई पनि त्यो गर्भिणी कुकुरप्रति दया र माया जाग्यो र दिनहुँ त्यसलाई खानेकुरा दिन थाले। त्यस कुकुरले पनि केही सातापछि पाँच वटा छाउराछाउरी जन्माई।
ती कुनै काला कुनै खैरा र कुनै झालेमाले रङका निकै लोभलाग्दा थिए। त्यस घर र छिमेकका मानिसहरुले त्यो कुकुरको अझ बढी ख्याल राख्न थाले।
राजुले पनि कुकुर आएको र छाउरा जन्माएको थाहा पाएको थियो। त्यसैले आफ्नो बुवालाई छाउरा हेर्न र माउलाई खाना खुवाउन कर गर्थ्यो। छोरा रमाउने भएकाले उसका बाबु पनि माउलाई खाना खुवाउन र छाउरा छाउरी हेर्न दिनहुँजसो जान थाले।
राजुले हिम्मत जुटाएर बुवालाई भन्यो, 'बुवा, त्यो कुकुरको एउटा छाउरो हाम्रै घरमा नै लगेर पाल्ने है?'
तर राजुको बुवाले घरमा छाउराको लागि ठाउँ र आवश्यकता दुवै नभएको बताउनुभयो। राजु निरास भयो तर आस मारेन। राजु आमा या बुवासँग दिनहुँ कुकुरलाई खानेकुरा दिन भने गई नै राख्थ्यो।
एक दिन अलि झरी परेको दिन थियो। कुकुरले आश्रय लिएको घर छेऊमा भएको फराकिलो बाटो भिजेर चिप्लो भएको थियो। त्यही बाटोमा बेजोडले हुइँकिएको एक मोटरसाइकलले बाटो काट्दै गरेको माउ कुकुरलाई ठक्कर दियो र चोटका कारण ऊ कुइँकुइँ गर्दै रुन थाली।
शनिबारको दिन हुनाले राजुको अनलाइन कक्षा थिएन र त्यहीँ नजिकै खेल्दै थियो। यो घटना देख्नेबित्तिकै घरमा गई रुँदै आमालाई खबर गर्यो। आमा तुरुन्तै दुर्घटनास्थलमा आउनुभयो। चोट आँखामा लागेको रहेछ, कुकुरको हालत देखेर उहाँ पनि दुःखी हुनुभयो। अरु एक दुई जना मानिस पनि त्यहाँ आइपुगे।
राजुले रुँदै भन्यो, 'आमा, यसलाई अस्पताल लैजाम् न।'
छोराको आग्रह र घाइते कुकुरप्रतिको मायाले आमाले उपचारका लागि जनावरको अस्पताल लैजाने निधो गर्नुभयो। उहाँले तुरुन्तै ट्याक्सी खोजेर कुकुरलाई अस्पताल लैजानुभयो। राजु पनि सँगै गयो। अस्पतालमा उनीहरुले अरु थुप्रै जनावर विरामी र घाइते भएको देखे।
केही बेरपछि उनीहरुको पालो आयो।
डाक्टरले भन्नुभयो, 'चोटले गर्दा कुकुरको बायाँ आँखा बाहिर निक्लेको छ। घाउको उपचार भए पनि यसको बायाँ आँखाको दृष्टि भने सदाको लागि गुम्ने छ।'
यो सुनेर राजु निकै दुःखी भयो र अनुहार मलिन बनायो। डाक्टरले घाउ नपाक्ने औषधि दिनहुँ लगाउनु पर्ने भन्दै औषधिको नाम लेखिएको कागज राजुकी आमालाई दिए। नजिकैको पसलबाट औषधि किनेर राजु र उसकी आमा घाइते कुकुर लिएर सोही ट्याक्सीमा घर फर्के।
घाइते भएपछि त्यस कुकुरलाई राजु र उसका आमाबुबाले झन् धेरै हेरविचार गर्न थाले। हरेक दिन कुकुरलाई मन पर्ने खानेकुरा खुवाउँदै घाउ नपाक्ने औषधि लगाएर फर्कन्थे। बिस्तारै घाउ निको हुँदै गयो। छाउरा छाउरीहरु पनि हुँर्कदै गए। राजुले पटक पटक एउटा छाउरो पाल्ने इच्छा आमाबुवालाई बताउँथ्यो। तर जिद्दी गर्न सकेको थिएन।
कुकुरका छाउराछाउरी राजुसँग घुलमिल हुन थाले। माउ कुकुर पनि राजुलाई देख्नेबित्तिकै पुच्छर हल्लाउँदै खेल्न आउँथी। छाउराछाउरीसँग खेल्दा राजुको बुवाले राजुको फोटोहरु पनि खिचिदिनु हुन्थ्यो।
राजुले बुवालाई फकाउँदै भन्यो, 'बुवा, एउटा छाउरो घरमा पालम्। बरु म एकदम ज्ञानी हुन्छु। गृहकार्य पनि समयमै गर्छु। धेरै टिभी पनि हेर्दिनँ,' कुकुरसँग राजुको यस्तो लगाव देखेर राजुका बुवा छक्क परे।
अन्ततः राजुको आमासँग पनि सल्लाह गरी एउटा छाउरो पाल्न लैजाने नै निधो गरे। उसकी आमाले आवश्यक तयारीको लागि पशु डाक्टरसँग पनि सल्लाह गर्नुभयो। दुई महिना माउको दुध चुसेको छाउरा छाउरी स्वस्थ रहने डाक्टरको सल्लाहबमोजिम तीन हप्तापछि मात्र दुई महिना पूरा पुग्ने र त्यसपछि घरमा छाउरो लैजाने सल्लाह भयो।
आमाबुवाको यस्तो कुरा सुनेर राजु फुरुङ्ग थियो र छाउरो घरमा लैजाने दिन कहिले आउला भनेर औंला गन्थ्यो।
अन्य चारवटा छाउराछाउरीलाई छिमेकका मानिसहरुले आफ्नो इष्टमित्रको घरमा पाल्न दिए। बाँकी रहेको एउटा छाउरो राजुको नाममा हुर्किँदै थियो। खैरो रङको हुनाले राजुकी आमाले त्यसको नाम नै खैरे राखिदिनुभएको थियो।
दिनहुँ खाना दिन जाँदा राजुले खैरेलाई मायाले सुमसुम्याउँथ्यो। खैरेले पनि पुच्छर हल्लाउँदै राजुको हात चाट्थ्यो। खैरेलाई राजुको घर लैजान भनेको भन्दा दुई दिन अगाडि घरमा कुकुरको लागि खोर किनेर ल्याइयो। राजुलाई दुई दिन पनि एकदम लामो जस्तो भयो।
कुकुरकै लागि अन्य आवश्यक जोरजामले गर्दा राजुका बुवाआमा खाना लिएर जान पनि भ्याएनन्। राजु पनि खोर हेर्दै अनेक कुरा कल्पिँदै घरै बस्यो। खैरेलाई ल्याउने दिन राजु बिहानै देखि फुरुकफुरुक गर्दै थियो।
बुबाको फुर्सद भएपछि ऊ बुवासँगै खैरेलाई लिन भनी कुकुर भएको घरमा पुग्यो। त्यहाँ माउ कुकुरमात्र सुतिरहेको थियो। त्यस घरका मानिसलाई छाउरो खोई भनेर सोध्दा छाउरो माउसँगै हिजो डुल्न गएको तर नफर्केको पत्ता लाग्यो। त्यो कुरा सुनेर राजुका बुवाको मनमा चिसो पस्यो। राजु त रुन लाग्यो।
तर बुवाले कतै गएको छ होला आइहाल्छ भनेर सम्झाउनु भयो। यताउता खोजे उनीहरुले तर केही हात लागेन। कुकुर हराएको सूचना भन्दै छाउराको फोटो राखेर सम्पर्क नं. र उचित पुरस्कार दिइने भन्ने व्यहोरा भएको सूचनापत्र पनि ठाउँठाउँमा टाँस्नुभयो राजुको बुवाले। केही पत्ता लागेन। खैरेको खोर खाली नै रह्यो।
राजुको छाउरो पाल्ने सपना अधुरो बन्यो।
राजु दिनभरी रोएर बस्यो। साँझमा उसले एक्कासी कुकुर भुकेको सुन्यो। ऊ दौडिँदै गेटतिर गयो। माउ कुकुर खैरे लिएर राजुकै गेटमा आएर भुक्दैथी। उसले हतार हतार आमाबाबालाई बोलायो। आमाबाबाले माउलाई पनि खैरेसँगै खोरमा लैजानुभयो। राजु खुसीले उफ्रियो।
‘हाउ हाउ हाउ हाउ’ खैरे पनि राजुसँगै खुब मज्जाले रमाउन थाल्यो।
( हार्दिका पराजुली मदरल्याण्ड मावि पोखरा मा कक्षा ७ मा अध्ययनरत छिन्)