सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
स्कुलको अनलाइन कक्षाहरु सकिएपछि प्रथम त्रैमासिक परीक्षा पनि सकियो। रिजल्ट पनि आएपछि घर जान पाइने भयो। धेरै खुसी लागिरहेको छ।
पोहोर साल त यति बेला पाहाड पुगिसकिन्थ्यो। यसपालि भने जाने कुरा अझै भएको छैन। यस्तो कोरोनाको डर छ त्यसैले कहीँ नजाने हो कि भन्ने पनि लागिरहेको छ। तर जान भने निक्कै मन छ। सुरक्षित भएर, सचेत भएर र मास्क लगाएर पो जाने हो कि?
फेरि आफू मात्र बचेर हुँदैन। मिल्यो भने कोभिडको चेक गराएर मात्र जाने किनकी आफूले गर्दा अरुलाई सर्न सक्छ। हजुरबा, हजुरआमासँग धेरै नजिक नगई २ मिटर टाढाबाट नमस्ते गर्ने हो। टिका लगाउँदा यसपालि दक्षिणा पनि नलिने हो किनकी पैसाबाट पनि कोरोना सर्न सक्छ। बरु पैसा दिनु साटो मास्क र साबुन सबैलाई दिनु भनेर हजुरबासँग कुरा पनि गर्ने हो।
पोहोरको दसैंपछि तिहारसम्मै उतै पहाड घर बसेको थिए। तर यसपालि बस्दिनँ होला। साथीहरूसँग खेल्न पनि कोरोनाको डर छ। घरमै बस्नु पर्छ।
घर र मामाघर जादा मिठाइ, चाउचाउ, कुरकुरे केही खान हुन्न। घरमै भएको खानेकुरा, फलफूल र सागपात राम्रोसँग पखालेर खानुपर्छ।
सागपात खाएपछि स्वस्थ भइन्छ र कोरोनाले समाउन नसक्ला कि?
यो वर्ष नयाँ कपडा नकिन्ने र पुरानै लगाएर चाड पर्ब मनाउने कुरा भएको छ। पिङ पनि खेल्न नजाने किनकी त्यहा भीडभाड हुन सक्छ अनि धेरैले छुदा पिङमा कोरोनाको किटाणु भई सर्न सक्छ।
यसपालि मन्दिरको भिडभाडमा नगई आफ्नो घर घरमा परिवारले मात्रै टीका लगाउने।
अर्को वर्ष कोरोना हराएपछि राम्रोसँग मनाऊँला। यसपालि भने सुरक्षित बनौं है। यही मेरो अनुरोध छ।
(अर्पण अर्याल होराइजन गौतम बुद्ध स्कुल बुटवलमा कक्षा ३ मा अध्ययनरत छन्)