सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कारोना भाइरसले आज विश्वभरि महामारीको रुप लिएको छ। हाम्रो सरकारले पनि यस महामारीबाट बच्न देशैभरि लामो समय लकडाउनको घोषणा गरेको थियो।
लकडाउनको नियमलाई पालना गर्दै सबै जना घरभित्रै बस्यौं। मेरो स्कुल बन्द भएको पनि लामो समय भयो। मेरो साथीहरु, शिक्षक, शिक्षिकाहरुलाई कहिले स्कुल खुल्छ र भेट्नु जस्तो भएको छ।
म घरैमा बसेर स्कुलले संचालन गरेको अनलाईन कक्षाको सहयोगले पढदैछु। तर यतिबेला म मेरो पढाई भन्दा बाहेक हुने अतिरिक्त क्रियाकलापहरुलाई धेरै सम्झिरहेको छु।
मलाई खेल्न मन पर्छ र म खेलेर कहिल्यै पनि थाक्दिनँ। कहिले स्कुल खुल्छ र साथीहरुसँग मज्जाले खेल्नु जस्तो लागेको छ। हामी खेलहरु घर भित्र र बाहिर दुबै ठाउमा खेल्ने गएका छौं।
भित्र खेल्ने खेलहरुमा चेस, क्यारमबोर्ड, लुडो, टेवलटेनिस, गट्टी, गुच्चा आदी त म खेलिनै रहेको छु तर पनि साथीहरुसँग खेल्नुको मजा नै अर्कै हुन्छ।
अहिले म बाहिर खेल्ने खेलहरुमा फुटबल र क्रिकेट खेललाई सबभन्दा धेरै मिस गरिरहेको छु। खेलहरु खेल्नाले हाम्रो शरीरको मांशपेशीहरुको राम्ररी विकास भई बलियो पनि बनाउन मद्दत गर्छ। यसले हाम्रो मस्तिस्कलाई पनि स्वस्थ राख्छ।
खेलको माध्यमबाट हामीले सीपहरुको पनि विकास गर्न सक्छौं। जस्तै साथीहरुबीच एकआपसमा सहयोग गर्ने, मिलेर खेल्ने, समुहमा बस्ने, एकअर्काको कुरा सुन्ने, हार र जितलाई स्वीकार गर्ने जस्ता सीपहरुको विकास हुन्छ।
हामीलाई स्कुलमा पनि खेलको माध्यमबाट कतिपय पाठहरुलाई पढाउनु हुन्छ। खेलले हामीलाई खुसी दिन्छ र हाम्रो स्मरण शक्ति बढाउन सहयोग गर्छ।
म सबै खेलहरु खेल्ने गर्छु। अहिले म घर बाहिर साथीहरुसँग खेल्न मिल्दैन र स्कुल पनि बन्द भएको हुनाले म मेरो बाबासँग आँगनमा पासपास गरी फुटवल र ब्याडमिन्टन खेल्ने गरेको छु। म मेरो हजुरआमासँग रबर र पैसा खेल पनि खेल्छु।
मलाई कहिलेकाहीं हजुरआमाले जित्नु हुन्छ र हामि खुसी भई मज्जाले हाँस्छौं र सबैलाई हसाउँछौं।
मलाई विशेष गरी क्रिकेट र फुटबल खेल मन पर्छ।
खेल भनेको देशको शान हो र खेलाडी भनेको देशका गहना हुन्। खेलले हामीलाई स्वाबलम्बी, नीडर र नैतिकवान बनाउँछ।
खेलाडीले सिङ्गो देशको प्रतिनिधित्व गर्छन्। खेलको माध्यमबाट देशलाई विश्वभरि चिनाउन सकिन्छ। नेपालका धेरै खेलाडीहरुले देशलाई चिनाउने र देशको शिर उच्च राख्ने काम गरिसक्नु भएको छ।
सन्दिप लामीछाने, मीरा राई, गौरिका सिंह लगायतका खेलाडीहरुले नेपालको झण्डा विश्वमाझ फहराई सक्नुभएको छ।
हाम्रो प्रधानाध्यापक अञ्जु म्याडम भन्नुहुन्छ- खेलले बालबालिकहरुको चौतर्फी विकास गर्छ र जीवन उपयोगी सीपहरु सिकाउँछ।
उहाँको साथ र हौसलाले गर्दा मेरो स्कुलले खेलमा राम्रो प्रगति गर्दैछ।
मेरो स्कुलमा खेल क्लबहरु छन्। विशेषगरी हामी बास्केटबल क्लब, क्रिकेट क्लब, फुटबल क्लब अन्तर्गत रहेर हप्तामा ३ दिन स्कुल समयपछि खेल्ने गर्छौं। अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्य खेलहरु पनि खेल्छौं।
म सबै खेल र खेलाडीहरुलाई सम्मान गर्छु। म पहिले फुटबल क्लबमा थिएँ र अतिरिक्त क्रियाकलाप अन्तर्गत क्रिकेट पनि खेल्थें। स्कुलको नियम अनुसार हामीले एउटा खेल क्लब रोज्नु पर्छ। जसले गर्दा हामीले आफट्ठलाई मनपरेको खेल रोज्छौं र यसलाई नै निरन्तरता दिन्छौं।
जब मैले सन्दिप लामिछाने दाइको खेल हेरे त्यसपछि उहाँको खेलबाट प्रभावित भई मैले क्रिकेट क्लब रोजेँ। आफ्नो भविष्य पनि यसै खेलमा बनाउन लागि परेको छु।
मेरा गुरु पुरुषोत्तम झाले सधैं हामीलाई भन्नुहुन्छ कि खेलाडीलाई घाम, पानी, हुरी बादलले छेक्दैन। उहाँको उत्साह र खेलप्रतिको दृढ संकल्पलाई सधैं म आत्मसात गर्दै अगाडि बढिरहेको छु।
अहिले कोभिड १९ को महामारीले गर्दा स्कुल बन्द भएको र मैले अहिले खेल्न पाएको छैन। कहिलेकाहीँ मेरो मनमा म फेरि पहिलेको जस्तै गरी खेल्न सक्छु कि सक्दिनँ भन्ने पनि लाग्छ। खेल्ने बानी छुटिसकेकाले हो कि जस्तो लाग्न थालेको छ।
मैले यो महामारीमा असाध्यै मिस गरेको एक मात्र चिज साथीहरूसँग खेल खेल्ने इच्छा हो।
(पृथ्वी राज चौहान अक्षरा स्कुलमा कक्षा ८मा अध्ययनरत छन्)