सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
लगभग ६ महिना भयो म स्कुल जान पाएकी छैन। मनपर्ने सर, मिस र साथीहरू भेट्न पाएकी छैन। धेरै कुरा नपाउँदा नपाउँदै पनि अनेक काम, खेल, कृयाकलाप गर्न भने मैले छाडेकी छैन।
मैले पढाइका साथै बारीमा गर्ने काम, राम्रा फिल्महरू हेर्ने, माटोको भाँडा बनाउन सिक्ने, कोइला चलाई कला बनाउने जस्ता कामहरु गरेकी छु। मन पर्ने काम हामी जसरी पनि गर्छौं। घरै बसेर कला र संगीत बनाउँछौं। म पनि बनाउँछु।
मलाई अहिलेदेखि नै कलामा रुचि छ। बाबाममी भन्नुहुन्छ, मैले सात महिनाको उमेरदेखि नै रंग कोरकार गर्न थालेकी रे। तीन वर्षको हुँदा बाँसुरी लिएर दौडँदा दौडँदै म लडेर हात पनि भाँचियो रे। मैले कोरेका चित्रहरु ममीले जम्मा पारेर राखिदिनुभएको छ। मुरली भने अहिले पनि अभ्यास गरिरहेकी छु।
मेरो पहिलो चित्रकला प्रर्दशनी तीन वर्षको जन्मदिनमा नेपाल कला परिषद्को हलमा भएको थियो। ‘अर्लि क्रिएशन’ नाम राखिएको मेरो कलाको किताब पनि प्रकाशन भयो।
जब चार वर्षकी भएँ, लेख्न, टाइपिङ गर्न र फोटोग्राफी गर्न सुरू गरेँ। ‘आई लाइक माई लाइफ’ नामक पुस्तकमा मैले त्यस समय लेखेको वाक्य, ब्लग, लेखन, कला, फोटोहरू राखेर तयार गरियो र कोभिडको कारण इ-बुक बनाइयो।
यस किताबको टुर मैले पाटन म्युजियम तथा नेपाल टुरिजम बोर्डमा कला प्रर्दशनी, बाँसुरी र पियानो बादन अनि लेख पढेर गरेँ। पोखरा, वीरगञ्ज आदि सहरमा भने कोभिडका कारण जान सकिएन।
म लाङटाङ राष्ट्रिय निकुञ्जमा १० हजार फिटसम्म जान सकेँ। बाबा र टेनेके मोअर म्यानले मलाई लैजानु भएको थियो। त्यहाँको लोभलाग्दो प्रकृतिहरु देखेर मैले तस्बिरहरु खिचेंँ र कविताहरू पनि लेखेँ। सो किताब अब ‘द फ्लाइङ याक’ भनेर आउँदै छ।
मलाई ठूला ठूला अन्तराष्ट्रिय कलाकारको आर्ट हेर्दै सिक्न मन लाग्छ। स्टिल आर्ट मैले भाँडाकुँडा, जुत्ता, खेलौना, तरकारी, फलफूल राखेर बनाउँछु। आफ्नो सीप राम्रो पार्न रेखा, गोलाकार, टोन र छायांकन पनि बनाउँछु।
म समय भएको बेला चित्र बनाउँछु। म चित्र बनाउँदा नयाँ सोचसँग खेल्छु। हिजो मैले मेरो बहिनी जोयाको चित्र बनाएँ। तपाईंहरूले पनि आफ्नो फूलबारी आफ्नो परिवार वरिपरिको घर छिमेक, भान्साको भाँडाकुडा बनाउन सक्नुहुन्छ।
अनि कहिलेकाहीँ घुम्न जंगल, मन्दिर ओडार जानु भएको छ भने त्यस्ता ठाउँ पनि सम्झेर बनाउन सक्नुहुन्छ।
मेरो चित्रकला जि.आई.जेडको लिफलेटमा साना आइकनको रूपमा आएको छ। जर्मनी राजदुतावासको ६०औं वार्षिकोत्सवमा निस्किएको पुस्तकामा पनि आइकनको रूपमा आएको छ। यू.एन.वुमेनको चारवटा लिफलेटमा सर्चले मेरो चित्रलाई राखेको छ।
लकडाउनको समयमा हामीले धेरै किसिमका चित्र बनाउन सक्छौं। मैले त समय सदुपयोग गर्दै धेरै चित्रहरु बनाइरहेको छु, तपाईंहरू नि?
(विदेहा रञ्जन स्पाईनीब्याबलर इभोलुसन स्कुलमा अध्ययनरत छिन्)