सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
नेपालभरका हामी बालबालिकाले 'सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ यस वर्षको बालदिवस मनायौं।
कोरोना महामारीका कारण विगतका वर्षमा जस्तै हर्षोल्लासका साथ हामीले विद्यालयमै सबै साथी र शिक्षकका साथमा बालदिवस मनाउन पाएनौं। यसमा मलाई केही खल्लो त लागेको छ।
तर प्रविधिले हामीलाई विद्यालय जान नपाए पनि घरबाट साथीहरुसँग बाल दिवस मनाउने संयोग जुराइदियो।
प्रविधिको विकासले हाम्रो पुस्ताले यस्तो अवसर पाएको छ। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै अहिले सबै बालबालिकालाई घरबाटै पढाइसँगै नयाँ खोजी गर्न प्रविधिले सघाएको छ।
म जेम्स विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्र हुँ। बाल दिवस आउन चार दिन बाँकी हुँदा भदौ २५ गते हाम्रो नेपाली विषय शिक्षकले हामीलाई आफूले सृजना गरेर कथा, कविता जे भए पनि सुनाउन तयार गरिराख है भन्नुभयो।
मैले हाम्रो देशका चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुसको नक्कल गर्ने निधो गरेँ। त्यसैका लागि केही तयारी पनि गरेँ।
२०७७ भदौ २९ गते अघिल्ला वर्ष विद्यालयको मैदान निकै सजिसजाउ हुन्थ्यो। सबै साथीहरु रंगीचंगी पोशाकमा सजिएर आएका हुन्थे। तर अहिले त हामी कम्प्युटरको स्क्रिनमा पो सजिएछौं। कम्प्युटरको पर्दामा मेरा साथीलाई भिन्नाभिन्नै पोशाकमा देखेर मलाई पनि अनौठौ नलाग्ने कुरै भएन।
हुन त मैले पनि नेपाली दौरा सुरुवाल, भादगाउँले टोपी अनि इष्टकोट लगाएको थिए। धुर्मुससँग मेल खान आफूलाई जुँगा लगाएर केही सजिएको पनि थिएँ। मलाई देखेर केही साथीहरु हाँसे पनि।
हाम्रो बालदिवसको विशेष कक्षा सुरु भयो। शिक्षकले पालैपालो आफ्ना सृजना प्रस्तुत गर्न अनुरोध गर्नुभयो। कोहीले नाचेर देखाए, कोहीले गीत गाएर, कोहीले चित्र कोरेर। सबै साथीले आफूमा भएका प्रतिभा देखाएका थिए।
यसै क्रममा मेरो पालो आयो। मैले धुर्मुसको आवाज निकालेर अहिले विपत्तिमा कोरोनाको कहरबाट बच्न बेसार, गुर्जो अनी जिरा पानी खाँउ, कोरोना भगाउँ लगायतका उखानटुक्का भनेर साथीहरुलाई सक्दो मनोरन्जन दिएँ।
मेरो प्रस्तुति साथीहरुलाई मन पर्यो या परेन मलाई थाहा भएन। तर मलाई भने सबै साथीहरुको खुबी एकदमै राम्रो लाग्यो। एकअर्काको सृजना र प्रस्तुति हेर्दा र सुन्दा हाम्रो ४० मिनेटको अनलाइन कक्षा कत्ति छिटो सकिएछ, मैले पत्तै पाइनँ।
यसरी मैले यस वर्ष भएको हाम्रो अनलाइन बाल दिवसमा धेरै रमाइलो गरेँ। विद्यालयमा हुँदा हरेक वर्ष शिक्षकहरूबाट उपहार पनि पाइन्थ्यो। कोरोनाले गर्दा हामी सबै घरमै थुनिएका छौं। जसले गर्दा अहिले हामीले बालदिवसमा शिक्षकहरूबाट उपहार पनि पाएनौं। तर शिक्षकहरूको आशीर्वाद र शुभकामना भने सधैं हाम्रो शिरमा छ।
बाल दिवस बालबालिकाका लागि एक महत्वपूर्ण दिन हुन्छ। यो दिवस बालबालिकाकै लागि भनेर मनाइने एउटा पर्वको दिन हो। तर यो पर्व एकदिन मात्र हर्षोल्लासका साथ मनाएर सबै बालबालिकाले समान व्यवहार र वातावरण पाउन सक्दैनन्।
हाम्रो देशको भविष्य भोलि यिनै बालबालिकाको हातमा हुन्छ। देश सिँगार्ने भोलिका नक्षत्र हामीजस्ता अवोध बालबालिकाको भविष्य माथि कसैले पनि खेलबाड गर्नु हुँदैन। म जस्ता सबैलाई कुनै अवसरबाट पनि वन्चित गराइनु हुँदैन।
हाम्रो देशमा २०४७ साल भदौ २९ गतेदेखि हरेक वर्ष यही दिन विधिवत बाल दिवस मनाउने गरे पनि अझै कति बालबालिका आधारभूत आवश्यकताबाटै वन्चित छन्। कत्ति बालबालिका त सामान्य सिकाइका लागि विद्यालयसम्म पुग्न सकेका छैनन्।
त्यसैले बालबालिकाको आधारभूत सिकाइसँगै उनीहरूको चौतर्फी विकास र उज्जवल भविष्यका लागि हाम्रो सरकारले बेलैमा ध्यान दिनुपर्छ।
(सिद्धार्थ घिमिरे जेम्स विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्)