सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
बिहान बार्दलीबाट पारी बाटोमा हेर्छु। त्यहाँ एउटा लुगा ठाउँ ठाउँबाट पत्र पत्र परेको अनि बर्बराउँदै हिँडेको मान्छे देख्छु। वरपरकाले गिज्याउँदै थिए। छिछि, दूरदूर गर्दै थिए। यताबाट उता लखेट्दै थिए। लाठी देखाउँदै भगाउँदै थिए।
जान्ने बुझ्ने घिनाइरहेका थिए भने केटाकेटीहरू हेरेर रमाइरहेका थिए।
खासमा ऊ समाजको नजरमा अर्धपागल थियो। समाजले उसलाई घृणा गरिरहेको थियो, एउटा पशुलाई जस्तै। तर कसैलाई पनि यो आभास थिएन कि ऊ एक समस्यासँग जुधेको योद्धा थियो। जसले छट्पटाएर अनि बर्बराएर आफ्ना दुःख सुख पोख्न खोजिरहेको र, हात हल्लाई हल्लाई भोक टार्न खोजिरहेको थियो।
तर यो कुरा कसैले मान्न तयार थिएन किनकि समाजले उसलाई अर्धापागल नै देख्थ्यो। उसका ती बर्बराइरहेका शब्दले पनि केही भन्न खोजिरहेको थियो।
आफ्ना दुःख पोख्न खोजिरहेको थियो। भित्री रुपमा अर्धपागल त थिएन तर समाजको नजरमा पशु समान थियो। उसको पनि मन थियो, उसको पेट पनि भोको थियो। तर उस्को कहानी कसैले सुनिदिने वाला थिएन।
तर यो समाज वास्तवमा आफैं अर्धपागल थियो। कपडा त्यसै फोहोरमा दलिदिन्थे तर बिचरा त्यो नाङ्गोलाई भने नांगै राख्थे। बरु यसै फालिदिन्थे त्यो बाकिरहेको खाना तर उसलाई भने भोकै राख्थे, कुरा काट्दै हिड्थे तर उसको त्यो वर्बराउदो शब्द सुन्न भेन कोही तयार थिएन। कुकुर पाल्थे बरु, तर उसलाई घर अगाडि बस्न दिदैनथ्यो यो समाजले।
पशुलाई जस्तो लाठी देखाएर तर्साउँथ्यो। सबैलाई लाग्थ्यो कि उ पशु नै थियो। वास्तवमा उसलाई पशु जस्तो व्यहबार गर्ने समाज नै पशु थियो।
(केशर ज्ञवाली जनाबोध मा वि मा कक्षा १० मा अध्ययनरत छन्)