सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
विद्यालय हाम्रो ज्ञानको मन्दिर हो। शिक्षक हाम्रा भगवान् हुन्। हामी घरबाट पहिलो शिक्षा पाउँछौँ भने दोस्रो शिक्षा विद्यालयबाट प्राप्त गर्छौं।
हामी शिक्षाबिना आँखा नभएको अन्धो मान्छेजस्तै हुन्छौँ। शिक्षा हाम्रो धन हो । शिक्षा हाम्रो गहना हो। शिक्षाले गर्दा नै हामी, राम्रो र नराम्रो कुरा पहिचान गर्न सक्छौँ। शिक्षाले नै संसारमा नयाँ कुराको आविष्कार गर्न सक्छ। शिक्षा एउटा निरन्तर चलिरहने प्रक्रिया हो, जुन हामी जन्मेदेखि नमरेसम्म चलिरहन्छ त्यसैले शिक्षा हाम्रो निम्ति प्राण हो। हामीले शिक्षा विद्यालयबाट हासिल गर्न सक्छौँ।
हो, यही विद्यालय आज मलाई धेरै सम्झना आइरहेको छ। मेरो प्यारो विद्यालय डियरवाक सिफल स्कुल संसारभरि फैलिएको कोरोना भाइरस महामारीका कारण बन्द हुन पुगेको छ। विद्यालय जान नपाएको पनि लगभग ६ महिना भइसक्यो। अझै पनि कहिले खुल्ने हो थाहा छैन।
म सम्झिरहेको छु, मेरो विद्यालय वरिपरिको वातावरण जहाँ हामी खेल्दै, उफ्रदै, रमाउँदै हाम्रो उज्ज्वल भविष्यतिर अघि बढेका साथीसँग उफ्रदै, कुनैबेला हात समात्दै त कुनैबेला अँगालो हालेर आफ्नो कक्षामा बसेको अनि फेरि मेरा शिक्षकले पढाउनुभएको।
शिक्षकहरूलाई पनि म एकदमै सम्झन्छु किनकि विद्यालयमा शिक्षकसँग प्रत्यक्ष रुपमा बार्ता गर्दै सबै विषय अगाडि बढाएको मलाई त्यो पढाइ एकदमै राम्रो लाग्यो। हुन त, अहिले पनि नराम्रो त होइन तर विद्यालयमा उपस्थित भएर पढ्नु भनेको अर्कै रमाइलो हुँदो रहेछ।
फेरि विद्यालयमा भएका ती दिनहरूका क्रियाकलाप कति रमाइला हुन्थे। स्कुलमा छँदा विद्यालयले हाम्रा लागि विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्थ्यो। जस्तो डियरवाक सिफल नाइट, अभिभावक दिवस। यस कार्यक्रममा हामीलाई हाम्रो प्रतिभा देखाउने मौका मिल्थ्यो।
त्यस्ता कार्यक्रममा अभिभावकलाई पनि बोलाइन्थ्यो। हामीले हाम्रो अभिभावकको अगाडि कार्यक्रम प्रस्तुत गर्दा एकदमै प्रोत्साहन मिल्थ्यो। हाम्रो कार्यक्रम देखेर हाम्रो अभिभावक पनि एकदमै खुसी हुनुहुन्थ्यो।
हामीलाई माया गरी काखमा लिँदै बधाई र कुनै बेला त उपहारका रुपमा चकलेट पनि दिनुभएको छ।
यस कार्यक्रममा हामीले नाटक, नृत्य, गायन, तेक्वान्दो, योग, चित्रकलाका साथै कविता वाचन आदि कार्यक्रम देखाउँथ्यौँ। यसमा मैले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएको छु। यसरी नै मेरो विद्यालयले हामीलाई विभिन्न कवितावाचनहरू पनि गराउँछ जसमा ‘मैले प्याट्ट फुट्यो बेलुन’ र ‘भाइको चङगा’ कविता वाचन गरेको छु र स्कुलले यसलाई रेकर्ड पनि गराएको छ।
मैले यहाँ लिंक पनि राखेकाे छु-
साथीहरू हेरेर प्रतिक्रिया दिनु है।
विद्यालयले हामीलाई हस्तलेखन प्रतिस्पर्धा पनि गराएको थियो र मैले त्यसमा अप्रिसिएसन कार्ड पनि पाएको थिएँ। विद्यालयले हामीलाई फिल्ड भिजिटमा पनि लाग्थ्यो।
यसमा हामीलाई रमाइलोका साथै ज्ञानका कुरा पनि सिकेका थियौँ। नर्सरी, सङ्ग्रहालय, मन्दिर, जात्रा आदिमा भ्रमण गराउनु भएको थियो। त्यति बेला म एकदमै उत्साहित भएको थिएँ।
हुन त, अहिले अनलाइन कक्षामा पनि हामीले भर्चुअल टुर त गर्यौं तर प्रत्यक्ष गएजस्तो चाहिँ नहुने रहेछ।
हामीलाई विद्यालयले खेलकुदमा पनि सहभागी गराउँदै आएको छ। यसमा विजेताले मेडल र प्रमाणपत्र पनि पाउँछन्। मैले पनि थुप्रै मेडल र प्रमाणपत्र पाएको छु, यसरी नै बेलाबेलामा स्कुलले स्विमिङ पनि लाने गरेको छ। हामीले बनाएका चित्रहरू होटल ह्यातमा राखेको थियो।
त्यो चित्रकला प्रदर्शनीमा मेरो पनि चित्र राखिएको थियो। प्रदर्शनीमा मेरो पेन्टिङ पनि बिक्रिमा राखिएको थियो। यो प्रदर्शनीबाट म एकदमै उत्साहित भएको थिएँ। यसरी मेरो विद्यालयले पढाइका साथै विभिन्न क्रियाकलाप गराउने भएकोले गर्दा हामीलाई अझ राम्ररी पढ्न र अघि बढ्न प्रोत्साहन दिएको छ।
आजभोलि हाम्रो विद्यालय बन्द भएको कारणले गर्दा यस्ता कार्यक्रमहरूबाट टाढा हुनुपरेको छ। सबैबाट टाढा बस्नु भए पर्ने भएको छ। त्यसैले पनि मैले विद्यालय एकदमै सम्झिरहेछु।
(संयम राई डियरवाक सिफल स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्)