सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
अनलाइन शिक्षा भन्नाले त्यस्तो शैक्षिक क्रियाकलाप तथा प्रक्रिया हो, जुन इन्टरनेटको माध्यमबाट दिइने वा लिइने हुन्छ। इन्टरनेटको प्रयोगबाट दिइने शिक्षा प्रणालीलाई नै इ–लर्निङ अथवा अनलाइन शिक्षा भनिन्छ।
इ–लर्निङ अन्तर्गत रेडियो, टिभी, मोबाइल शिक्षा तथा इन्टरनेट माध्यमबाट दूर शिक्षालाई विभिन्न प्रकारमा विभाजन गरिएको छ।
कोभिड-१९ महामारीको समयमा अनलाइन कक्षा अधिकांश स्कुल तथा कलेजहरूले लागू गरेका छन्। अनलाइनमार्फत् पढाइने पाठ्यसामग्री र गतिविधिहरू कुनै पनि कम्प्युटर अथवा इन्टरनेट चल्ने अन्य उपकरण माध्यमबाट आफ्नै घरमा बसेर पढ्न पाइन्छ। हाल अनलाइन कक्षा धेरै विद्यार्थीहरूका लागि लाभदायी भएको छ।
भर्चुअल शिक्षा प्लेटफर्मको माध्यमबाट, विद्यार्थीहरूले विश्वमा जहाँ भए पनि अध्ययनलाई निरन्तरता दिन सक्दछन्। यो सत्य हो कि अनलाइन कक्षालाई विद्यालयको सामान्य कक्षासँग तुलना गर्न सकिँदैन तर हामीले यी अनलाइन कक्षाको सदुपयोग गर्न सक्यौं भने हामीले परम्परित कक्षा जत्तिकै ज्ञान प्राप्त गर्न सक्छौं।
अनलाइन कक्षाले गर्दा मेरो जीवनमा धेरै परिवर्तन आएको छ। यो महामारीको कारणले गर्दा एउटा नयाँ जीवनशैली र विविधताको अनुभव मैले गरेकी छु। मैले यो अनलाइन कोर्स र सिकाइको प्रत्यक्ष लाभ लिएकी छु। सुरूमा मैले सोचेकी थिइनँ कि यी कक्षाहरू स्कुलमा सामान्य परम्परागत कक्षा जत्तिकै प्रभावकारी हुनेछन्। तर प्रविधि र मेरा शिक्षकहरूले अनलाइन कक्षालाई धेरै फलदायी बनाएर मलाई गलत प्रमाणित गरिदिए कि अनलाइन शिक्षा विद्यालयका परम्परागत कक्षाभन्दा बढी प्रभावकारी हुन सक्छन्।
समग्रमा मलाई यी कक्षा साँच्चिकै मन परेको छ किनभने सबै प्रवचन, असाइनमेन्ट, र टेस्टहरू गर्न वा बुझ्न साह्रै सजिला छन्। मैले वास्तवमै यो कक्षा र यसमा प्रस्तुत गरिएका ढाँचाहरूबाट आनन्द लिएकी छु।
मलाई लाग्छ, मैले यो अनलाइन कक्षामार्फत् धेरै कुरा सिक्न सकेकी छु l हो, यो शिक्षा प्राप्त गर्नका लागि नयाँ विधि हाे, तापनि यसले हामीले जति परम्परागत कक्षामा ज्ञान प्राप्त गर्न सक्थ्याैं त्याेभन्दा धेरै नै यस्तो कक्षाबाट सिकेका छाैं।
अनलाइन कक्षाका धेरै सकारात्मक पक्षहरू रहेका छन् तापनि मलाई यी अनलाइन कक्षासँग केही निराशा पनि छ। मलाई यो कुराले खुसी लागेको छ कि हामी आफ्नो घरमा बसेरै कक्षामा सहभागी भएर अध्ययनलाई निरन्तर अगाडि बढाइरहेका छाैं। यदि हामी भाैतिक रूपमा कक्षामा उपस्थित हुन्थ्याैं भने तत्काल वा केही क्षणपश्चात् अप्ठ्याराे अवस्थामा आफ्ना शिक्षकसँग छलफल गर्न सक्थ्याैं।
अनलाइन कक्षामा याे सम्भव छैन। भाैतिक रूपमा उपस्थित भए जस्ताे सञ्चार र संवाद पनि अनलाइन कक्षामा सम्भव छैन। त्यस्तै यदि हाम्रो इन्टरनेटमा समस्या आइपुग्यो भने दुर्भाग्यवश हामीले हाम्रो कक्षा छोड्नु पर्छ। यसले गर्दा हाम्रो पढाइमा पनि धेरै असर पुगेको छ। अझ परीक्षाको समयमा यस्तो इन्टरनेटको समस्या हुनु तथा लाइन बीचमै जानुले मानसिक तनाव र निराशाको घेराबाट विद्यार्थीहरू गुज्रर्नुपर्छ।
यसरी बीच बीचमा कक्षा छुट्दै जाँदा विद्यार्थीहरूमाथि पढाइको धेरै दबाब पर्छ। आफ्नो छुटेकाे पढाइ पूरा गर्न उनीहरूले धेरै सङ्घर्ष गर्नुपर्छ। अनलाइन कक्षाका कारण हामी कम्प्युटर वा अन्य कुनै उपकरणको अगाडि लामो समयसम्म बस्नुपर्छ र यसले हाम्रो आँखामा नकारात्मक असर पार्छ। अर्थात् अनलाइन कक्षाहरूले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पुर्याएका छन्।
अन्त्यमा हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष भए जस्तै अनलाइन कक्षाका पनि सकारात्मक र नकारात्मक पक्ष दुवै छन् तसर्थ हामीले सकारात्मक पक्षलाई आत्मसात गर्दै समयानुसार यसकाे प्रयाेगमा जाेड दिँदै यसबाट फाइदा लिनु नै समयकाे माग र हाम्राे आवश्यकता पनि हाे।
(मुस्कान सिंह डियरवाक सिफल स्कुलमा कक्षा नाै मा अध्ययनरत छिन् )