सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यो २०७८ साल पो हो त। स्कुल नआएको पनि ठ्याक्कै एक वर्ष भएछ। आज हाम्रो कक्षा ७ को पहिलो दिन। कक्षा ६ त अनलाइनबाटै पढेर सकिएछ।
एक वर्षपछि स्कुल जान पाउँदा कस्तो खुसी लागेको। सबै साथीहरू पनि अग्ला, मोटा र कस्ता राम्रा देखिएका। सरम्यामहरूलाई देख्दा कस्तो खुसी लाग्यो। सरम्यामहरू त उस्तै देख्छु। नयाँ साथीहरू पनि आएका रहेछन्। उनीहरूको नाम के होला?
धेरैपछि स्कुल गएकाले होला साथीहरूसँग मज्जाले गफ गरिरहेका छौं। सरम्यामहरू पनि कुरा गरिरहनुभएको छ। सबै कति खुसी देखिएका। भाइबहिनीहरू पनि खुसीले उफ्रिरहेका छन्। लाग्छ आज सबैभन्दा खुसी हामी नै छौं। सरम्यामले कक्षामा पढाउनेभन्दा पनि हामीले पढ्नै नमानेको। पहिलो दिन भएकाले समय गएको पत्तै भएन। स्कुल छुट्टि भइहाल्यो।
आहा! कति राम्रो सडक। चिल्लो सफा। सबैतिर हरियाली। सडक छेउमा ढकमक्क फूल फुलेको। अस्ति यहाँ खाल्डै खाल्डो थियो। धूलो, हिलो र फोहोरले सडक छोपेको हुन्थ्यो। पानी परेको बेला मेरो साथीलाई गाडीले पानी छ्यापेर भिजाएको थियो। ऊ त्यस दिन स्कुलमा पढ्न नसकी फर्किएकी थिई। मेरो पनि बिहान लगाएको सेतो सर्ट बेलुका फर्किँदा कालो हुन्थ्यो। दिन दिनै धुनु पर्थ्यो।
सडकमा जेब्राक्रसिङ पनि थिएन। हामीलाई बाटो काट्न कस्तो गाह्रो हुन्थ्यो। केटाकेटी भनेर माइक्रो बसको ड्राइभरले हेप्थे। अस्ति नै हाम्रो स्कुलअगाडि एउटा मोटरसाइकलले बाटो काट्दै गरेको मान्छेलाई लडाएर भागेको थियो। उसलाई प्रहरी र अरू मानिसले अस्पताल लगेका थिए। उसलाई के भयो होला?
आज त सबैले जेब्रा क्रसिङमा गाडी रोकेर हामीलाई जान दिएका। मलाई सरम्यामले कक्षामा ट्राफिक नियम पढाएको याद आयो। सबै ठाँउमा ट्राफिक बत्ती जोडेको। रातोमा रोकिने, हरियोमा जाने। सबैले नियम पालना गरेको। मैले कति सजिलोसँग बाटो काटे। कसैले पनि हतार नगरी गाडी कुदाएका। मैले स्कुलको बहिनीलाई हात समातेर बाटो कटाए। उनको घर त्यहीँ पर छ। बाटो काटेपछि उनी सजिलै घर जान सक्छिन्। गाडीहरूले हर्न पनि बजाउन छाडेछन्। हाम्रो स्कुल बाटोकै छेउमा छ। गाडीको आवाजले पढ्नै गाह्रो हुन्थ्यो। आज त कस्तो शान्त भएको।
पहिला मानिसहरू जहाँ पायो त्यहीँबाट बाटो काट्थे। अहिले त सबै मानिस जेब्राक्रसिङ र आकासे पुलबाट बाटो काट्न थालेछन्। सडकपेटी पनि कस्तो राम्रो भएको। अस्ति यही सडकपेटीमा पसलेहरूले सामान राखेर हिँड्न सकिँदैन थियो। अहिले त सडकपेटी कति सफा र खुल्ला भएका। म त मज्जाले नडराई हिँड्दैछु। बाटोमा गाडीहरू पार्किङ गरेर हिँड्नै नसक्ने हुन्थ्यो। अहिले त तोकिएको ठाउँमा मात्र गाडी पार्किङ गर्न थालेछन्। यसले सडक खुल्ला र सफा देखिएको।
गाडीहरू पनि सफा, ठूला र फराकिला। मानिसहरू गाडीमा लाइन लागेर चढेका। बुढाबुढी र बालबालिकालाई पहिला चढ्न दिएर अरू विस्तारै चढेका। पहिला गाडी चढ्दा भिडभाड हुन्थ्यो, बालबालिका र बुढाबुढीले पालै पाउँदैन थिए। गाडीमा पनि कोचाकोच हुन्थ्यो। गाडी भिड भएर चढ्न सक्दिनथेँ। अहिले त मलाई पहिला चढ्न दिएर अरू चढेका। गाडी पनि बसजुलीबाट चल्ने। साना टेम्पो, माइक्रो र पुराना गाडी त एउटै देखिँदैनन्। गाडीका चालक र सहयोगी पनि कति असल र सभ्य।
कस्तो फोहोर थियो अस्ति यो ठाँउ। हेरिनसक्नु फोहर, दुर्गन्ध। नाक थुनेर हिँड्नु पर्ने। लगनखेल बसपार्कमा फोहोर थुप्रिएर कस्तो हेर्नै नहुने भएको थियो। आज त कस्तो सफा। फोहोर एउटै देखिँदैन। फोहोर फाल्ने भाडो ठाउँ-ठाउँमा राखिएको। मानिसले फोहोर फाल्ने भाँडोमा मात्र फोहोर फालेका। पहिले सबैले बाटोमा नै फोहोर फाल्थे। कस्तो नराम्रो देखिन्थ्यो। अहिले त कस्तो सफा भएको। मानिसहरू पनि कति सभ्य भएका। गाडीबाट पनि कसैले फाहोर फालेको देखिँदैन।
आहा! कस्तो सफा बागमती। नदीको किनारमा हरियाली र फूलैफूल। कोही हिँडिरहेका, कोही फोटो खिचिरहेका, कोही बसेर गफ गरिरहेका, बालबालिकाहरू खेलिरहेका। यो ठाउँ त हेर्नै नसकिने थियो। फोहोरैफाहोर थियो। बागमती किनारबाट हिँड्नै सकिँदैन थियो। म एकपटक छठको बेला बागमतीमा पूजा हेर्न गएको थिएँ। त्यहाँको फोहोरले धेरैबेर बस्न नसकेर फर्किएको थिएँ। अहिले त त्यही बसिरहूँ जस्तो।
झन् बेलुकी त बत्तीले गर्दा कस्तो झिलिमिली र सुन्दर देखिएको। विदेशीहरू पनि हेर्न आएका। हामीले स्कुलमा हाम्रै कारणले विभिन्न प्रकारको प्रदूषण हुन्छ र त्यसलाई सुधार्ने पनि हाम्रै काम हो भनेर पढेका थियौ। साँच्चै हो रहेछ। प्रयास गर्यो भने त्यस्तो फोहोर बागमती पनि सफा हुँदो रहेछ।
ठाँउ-ठाँउमा कस्ता राम्रा पार्क बनेका रहेछन्। विभिन्न प्रकारका विरूवा र रंगीविरंगी फूलहरूले पार्क कस्तो सुन्दर देखिएको। पार्कमा बालबालिकाका लागि खेल्ने साधन पनि छन्। बालबालिका रमाइ-रमाइ खेलिरहेका छन्। हजुरबा-हजुरआमाहरू आराम गरिरहनु भएको छ।
मलाई साइकल चलाउन एकदमै मन पर्छ। पहिला बाटो राम्रो थिएन। साइकल चलाउन डर लाग्थ्यो। अहिले त बाटो पनि फराकिलो छ। साइकल कुदाउने बाटो छुट्टै छ। म त्यहीँ बाटोमा साइकल कुदाउँदै पार्क जान्छु। त्यो पार्कमा मेरा साथीहरू सोकिना, प्रार्थना, साइरा, महिमा र स्टेलासँग खेल्छु। कस्तो रमाइलो हुन्छ। पार्कहरू पनि सफा छन्। सबै मिलेर सफा गर्छौं।
सबैका घरको कौशीमा राम्रा-राम्रा फूलहरू फुलेका छन्। सबैले घरमा कुहिने र नकुहिने फोहोर फरक-फरक भाँडोमा राख्छन्। कुहिने फोहोरलाई फूल र बोटविरूवामा हाल्छन्। नकुहिने चाँहि फोहोर संकलन गर्नेलाई दिन्छन्। मेरो घरको कौशीमा पनि मलाई मन पर्ने विभिन्न रङका गुलाब, सयपत्री र मखमली फूल फूलेको छ। मैले त्यो फूलमा खिचेको फोटो कस्तो राम्रो छ। हाम्रो टोल पनि सफा छ। सबै मिलेर सफा गर्छौं।
नयाँ रेस्टुरेन्ट खुलेको रहेछ। कति पछि रेस्टुरेन्टमा खान पाएको। आज त म पिज्जा र चकलेट मिल्कसेक खान्छु। कस्तो मिठो भएको। नयाँ फिल्म लागेको छ रे। यो शनिबार हामी साथीहरू मिलेर हेर्न जाने। फिल्म हल पनि कस्तो सफा र राम्रो भएको छ रे। म त फिल्म हेर्दा पपकर्न पनि खाने हो।
. . .
अभिप्षा उठ! ब्रेकफास्ट खाने बेला भइसक्यो। मामुले बोलाउँदा झल्याँस्स भएछु। ओहो! कस्तो राम्रो सपना देखिरेहको रहेछु। अझै एकछिन सुत्न पाए हुन्थ्यो नि। मलाई त अझै सपना देख्नुछ।
कोरानाका कारणले हामी सबै घरमै छौं। यो समयमा हामी सबैले आफूमा भएका खराब बानी छोडी असल बानी लिने बाचा गरौं। मैले त बाचा गरे, अब बाटोमा फोहोर गर्दिनँ। ट्राफिक नियमको पालना गर्छु। घर पनि सफा गर्छु। अरूलाई नराम्रो लाग्ने काम गर्दिनँ। असल बानी बसाल्छु।
मेरो सपना सबै बालबालिकाको सपना हो। हामीलाई सफा, सुन्दर र सुरक्षित सहर चाहिएको छ। साँच्चै मेरो सपनाको सहर कहिले बन्छ होला?
(अभिप्षा पोख्रेल फ्युचर्स स्टार्स हाई स्कुल, जावलाखेलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)