सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
केहि दिन अगाडि सेतोपाटीको 'केटाकेटीका कुरा' मा मैले लेखेको लेख प्रकाशित भएको थियो। त्यसरी मेरो लेख प्रकाशित भएको कुराले म एकदम दंग परेकी थिएँ। मेरो खुसीको ठेगान थिएन।
मेरो मामु, दादा र अंकल पनि धेरै खुसी हुनुभएको थियो। मेरो लेख छापिएको देखेर सबैले मलाई दंग परेर खुबै तारिफ गर्नुभएको थियो। त्यसरी नै लेखहरू लेख्न प्रेरित समेत गर्नुभएको थियो।
मैले त्यो पहिलो लेख तयार पार्न ठूलो कोशिश गर्नु परेको थियो। मलाई मेरो दादाले लेख तयार गर्न खुबै सहयोग गर्नु भएको थियो। सेतोपाटीमा अरू केटाकेटीहरूले लेखेको लेख देखाउनु भएको थियो र केही लेखहरू पढ्न समेत लगाउनु भएको थियो। मैले त्यहाँ प्रकाशित भएका केही लेखहरू पढेँ र लेख्ने कोशिश गरेँ। तर के लेख्ने, कुन बिषयमा कसरी लेख्ने केही थाहा थिएन।
के लेख्ने, कसरी लेख्ने भनेर एक/दुई दिन अलमल्लमा परेर बित्यो। पछि मलाई अंकलले लकडाउनमा आफूले गरेको-सिकेको-देखेको अनुभवहरू लेखे पनि हुन्छ, लकडाउनको समयमा आफूले के-के गरेको त्यस्तै कुराहरू लेख्न भन्नुभयो। त्यसपछि मैले लकडाउनमा आफूले घरमा गरेका-सिकेका थुप्रै कुराहरू सम्झन थालेँ। तिनै कुरालाई क्रमश: लेख्दै गएँ। मैले बल्लतल्ल तीन/चार दिनमा चार/पाँच पटक दोहोराएर लेखेपछि पाचौं पटकमा चित्त बुझ्दो लेख तयार भएजस्तो लगेर दादालाई देखाएँ।
दादाले एकपटक राम्रोसँग पढेर ठीक छ भन्नुभयो। दादाले नै बाबाको इमेलबाट सेतोपाटीले लेख पठाउन दिएको इमेल ठेगानामा मैले लेखेको लेख र मेरो फोटो पठाइदिनु भयो।
लेख पठाएको तेस्रो दिन मामुको फोनमा स्कुलमा सँगै पढ्ने मेरो साथीको फोन आयो। मामुले साथीको फोन भनेर मलाई दिनुभयो। फोनमा मेरो आवाज सुन्ना साथ साथीले खुसी हुँदै सुनाउन थालिन्, 'ए, सम्राज्ञी तिम्रो फोटोसहित तिमीले लेखेको लेख प्रकाशित भएको रहेछ नि। मैले पढेर मम-ड्याडलाई पनि देखाए। उहाँहरूले पनि पढ्नु भयो। खुबै मन पराउनु भयो। बधाई छ। मम-ड्याडले पनि बधाई दिनु भएको छ।'
साथीको कुरा सुनेर साह्रै खुसी लाग्यो। त्यतिबेला मेरो खुसीको ठेगान थिएन। साथीले अरू के-के भन्दै थिइन्, तर मैले उसको अरू कुराहरू बुझ्दै बुझिनँ। मलाई कतिखेर सेतोपाटीमा प्रकाशित आफ्नो लेख हेरौं जस्तो भएको थियो। साथीले पछि के-के भनेर फोन काटी। फोन काटिने बित्तिकै दादालाई भनेर तुरून्तै मामुको मोबाइलमा सेतोपाटीको साइट खोलेर मेरो लेख खोज्न थाल्यौं।
स्कुलको स्पोर्ट्स-डे मा मैले हाउस ड्रेस लगाएर खिचेको मेरो फोटो देखेँ। मेरो फोटोको मुनि घरका काम गर्न थालेपछि लकडाउन रमाइलो भयो भनेर लेखेको थियो। त्यो देखेपछि मलाई झनै रमाइलो र खुसी लाग्न थाल्यो। दादाले दंग पर्दै मेरो फोटोमा क्लिक गरेर लेख खोल्नु भयो। दादाले सरर पढेर खुसी हुँदै 'ल बधाई छ' भनेर मामुलाई देखाउनु भयो। मामुले पनि पढेर खुसी हुँदै मलाई बधाई दिएर आफ्नो स्टोरीमा सेयर गर्नु भयो। सबै नातेदार र चिनेजानेका साथीभाइले पनि हेरून् भनेर।
मेरो पहिलो लेख त्यसरी अन्तर्राष्ट्रिय स्तरको नेपाली पत्रिकामा प्रकाशित भएको थियो। जुन कुरा सम्झँदा एकै साथ अचम्म र खुसी लाग्छ।
भोलिपल्ट अमेरिकामा बस्नु हुने मेरो सानो मामुले फोन गरेर मेरो मामुलाई मेरो लेख पढेको भन्नु भएछ। लेख राम्रो लेखेको भनेर खुबै तारिफ गर्नुभएको थियो। सानो मामुले मेरो तारिफ गरेको सुनेर मामु सारै खुसी हुनुभएको थियो। धेरै अगाडिदेखि लण्डनमा बस्नुभएकी मेरो ठुलोमामुले पनि लेख पढ्नु भएछ र तुरून्त फोन गरेर मामुसँग कुरा गर्नु भएको थियो। त्यो समयमा म पनि मामु सँगै थिए।
मामुलाई ठूलोमामुले मैले मेरो लेखमा लेखेको कुराहरू सबै गर्न सक्छे? भनेर सोध्नु भएको थियो। मामुले दंग परेर हाँस्दै, 'अँ गर्न सक्छे। अब त चिया बनाउने, रोटी पकाउँदा रोटी बेलेर सहयोग गर्ने गरेको र लुगा धुने, सुकाउने, सुकेको लुगा उठाएर ल्याई पट्याएर राख्ने काम गर्ने भएकी छे' भनेर भन्नु हुँदा म आफैं पनि दंग परेकी थिए।
मेरो क्लास टिचरले पनि मेरो लेख पढ्नु भएको रहेछ। उहाँले मेरो लेख पढ्नु भएर त्यसलाई सामाजिक संजालमा सेयर गरिदिनु भएको रहेछ। त्यसपछि स्कुलका धेरै टिचरहरू, मेरै कक्षामा पढ्ने साथीहरू तथा स्कुलका दादादिदीहरूले पनि मेरो लेख पढ्नु भएको रहेछ। लेख पढेर मलाई सबैले बधाई दिनु भएको थियो। सबैले तारिफ गरेको सुन्दा आफैंलाई मैले निकै ठूलो काम गरेको जस्तो महशुस भएको थियो। अझै केहि लेखौं लेखौं लाग्न थाल्यो। त्यसैले मैले यो लेख्ने प्रयास गरेकी हुँ।
मेरो पहिलो लेख लेख्दाको रमाइलो अनुभव सबैमा बाँड्न र म जस्तै अरू साथीहरूलाई पनि लेख लेख्न प्रोत्साहित गर्न समेत पुनः यो प्रयास गर्दैछु।
मेरो कोशिशलाई सफल बनाउन लेख प्रकाशित गरिदिएर पाठकहरू माझ पुर्याएर मलाई समेत परिचित गराई अझ धेरै लेख्न उत्साहित गरी सहयोग गरिदिएकोमा सेतोपाटीलाई हृदयदेखि नै धन्यवाद।
म जस्तै साना साथीभाइलाई पनि आफ्नो अनुभव, आफूले सुने-जानेका लेख, कथा, कविताहरू लेखेर पठाएर आफ्नो प्रतिभा प्रस्तुत गर्न समेत अनुरोध गर्छु।
सेतोपाटीले हामी केटाकेटीको कुरालाई अगाडि आउने मौका दिएर हामीले लेखेका लेख-रचना प्रकाशित गरेर हाम्रो प्रतिभालाई पाठक माझ पुर्याउन सहयोग गर्छ। पुनः धन्यवाद सेतोपाटी, हामीलाई फक्रने मौका दिएकोमा।
(सम्राज्ञी खत्री भ्याली भ्यू स्कुल पुरानो बानेश्वर, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)