सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरा परिवारमा बिबिसी सुन्न र कान्तिपुर, सेतोपाटी तथा अन्य खबर अनलाइन हेर्न कुनै साइत पर्खनु पर्दैन। बाबा र आमाले बेलुका ८ बजेको टेलिभिजनमा आउने समाचार हेर्न दादा र मलाई बोलाई हाल्नु हुन्छ।
कतिपय समाचार त मैले बिहानै फेसबुकमा हेरिसकेका बासी समाचार पनि हुन्छन्। कोरोना भाइरसले गर्दा लकडाउन सुरू भयो तर मैलै लकडाउनको राम्रो सदुपयोग गरेँ। त्यसैले, म साथीहरूलाई पनि ह्यापी लकडाउन भन्छु। घरमा बस्दा सुरूमा मैले केही अचम्मका चलचित्रहरू हेरेँ।
त्यसमध्ये एउटा 'काराभान' पनि हो। काराभान हेर्दा मेरो मन भक्कानिएर आयाे। किनभने काराभानका नाइके थिन्लेको डोल्पाको घर मेरा बुबाले किन्नु भएको थियो। मेरा बाबा डोल्पामा स्टेशनरी तथा पाठ्य सामग्रीहरूको व्यापारी हुनुहुन्थ्यो। अहिले पोखरामा 'नमस्ते पोखरा स्टेशनरी' छ।
विद्यालय खुल्ला र जाउँला भन्दा ह्यापी लकडाउन त झन् थपियो। फेसबुकमा अरूको मात्र कति हेर्ने भनेर आफैं टिकटिकबाट अभिनय थालेँ। तर यसलाई धेरै राम्रो गर्न आमा, सानीमा, दादा र बाबाले ठूलो हौसला र साथ दिन थाल्नुभयो। म पनि के कम! मैले पनि सुरू गरेँ फेसबुकमा लाइक सेयर र कमेन्ट आउने कामहरू।
मैले युट्युबमा विश्वका अच्चम खालको भिडियोहरू हेरेँ। हाम्रो देशचाहिँ किन गरिब भयो होला?
अरू देशचाहिँ किन धनी भए होलान् भनेर सोच्दै थिए। मैले सपना देखेँ। सपनामा मैले पोखराको फेवातालमा माछापुच्छ्रे आकारको ९९६ मिटर अग्लो रिसोर्ट बनाएको रहेछु। अनि डोल्पा जिल्लामा सबै जीव-जनावरको जीवन चक्रसहितको विश्वको सबैभन्दा ठूलो चिडियाखाना बनाएको रहेछु। अनि चितवनमा विश्वको सबभन्दा अग्लो सगरमाथा मल बनाएको रहेछु। जहाँ १२ महिना हिउँ परेको आभास हुने अनि अन्डर ग्राउण्ड एयरपोटमा जहाज पार्किङ गरी विश्वका धनी मानिस आउनु भएको रहेछ। त्यसपछि अमेरिकाका राष्ट्रपति आएर 'अल आर फ्याबुलस' (कल्पनाका स्वर्गहरू जसलाई विपना बनाउन सकिन्छ) भन्नु भएछ। म झसंग बिऊँझी हालेँ।
मैले सन्देशमूलक भिडियोहरू पनि बनाएकी छु। जम्मा २५ वटा जति शिक्षामूलक फेसबुक बनाएकी छु। तडकभडक भन्दा पनि व्यवहारिक कुरा जोड दिएकी छु। फेसबुकमा राख्ने विषयहरू छान्दा के कुरा विचार गर्छु भने बाबाआमा र सानीमासँग गफ गर्ने मान्छेहरूले के कुरा बढी गरिरहेका हुन्छन्।
अस्ति नै प्रधानमन्त्री ओलीले कोरोनाको उपचारमा नुन, बेसार र अदुवा खानुपर्छ भन्नु भयो। मैले यसै विषयलाई लिएर नुन, बेसार र अदुवा नै औषधि हुन भने किन अरू कुरामा १० अर्ब खर्च गरेको त, १० अर्बको नुन, अदुवा र बेसार जन्तालाई राहत बाँडेको भए भइजान्थ्यो नि। लकडाउन नै गर्नु नपर्ने थियो भनेकी थिए।
मैले भ्रष्टाचार विरोधी विषयहरूमा बोल्न थाले। त्यसपछि त कतिपयले बच्चाको दिमागमा पनि राजनीति, भ्रष्टाचार जस्ता नराम्रो कुरा कलिलै उमेरमा सिकाउने भनेर मेरो बारेमा कमेन्ट आयो। बालबालिका पो हुन त। यस्ता यावत कुराहरू सिकाउनु हुँदैन भनेर कमेन्टको बाढी नै आयो। बाबाआमालाई पनि कस्तो परिवार होला बच्चालाई यस्तो सिकाउने भनेर कमेन्ट गरे। फेरि मैले सोचेँ हामीलाई सधैं पढ् लेख मात्र, राजनीतिको कुरा गर्नु हुँदैन भन्ने।
धनी मानिसचाहिँ अमेरिका युरोप जाने, अलि पैसा नभएका मानिसचाहिँ खाडीमा जाने र अरू मानिस नेपाल भएका कर्मचारी पुलिस आर्मी हुने। अनि सोझा नेपालीलाई झुक्याएर पुरानो मान्छेले देश चलाएपछि कसरी बन्छ त नयाँ नेपाल? हामीले पढेर विदेश भाँडा माझ्न जाने होइन की नेपालमा नै स्वाभिमानी हुनुपर्छ। अनि मात्र देश बन्छ।
मलाई अमेरिकाबाट समेत अंकलले 'फ्रेन्ड रिक्वेस्ट' पठाउनुभयो। मैले छोरो परदेश गएको र घरमा सासू-बुहारीले पाएको दुःखका बारेमा नै ४ जनाको भूमिका खेलेर बनाएको नाटकलाई पनि धेरैले मन पराइ दिनुभयो। यसलाई राष्ट्रिय बाल प्रतिभा पुरस्कारका लागि पठाउन खोजेकाे थिएँ तर समय ढिला भइसकेको रहेछ। मैले कतिपय साथीलाई थोरै भए पनि राहत होस् भनेर कक्षा तीनको नेपाली र गणित पनि पढाउन सुरू गरेँ।
व्यापार कसरी गर्ने? ग्राहकहरूसँग कसरी र कस्तो व्यावहार गर्नु पर्छ? ई-सेवाले कसरी काम गर्छ भन्ने पनि सिकाए। मैले १ मिनेटमा कसरी पढेका सबै कुराहरू सम्झन सकिन्छ जस्ता धेरै भिडियो बनाएको छु। हजुरहरूलाई पढ्न बाेर लाग्न पनि सक्छ। मनमा धेरै कुरा भएकाले मन उकुसमुकुस भएको छ। विस्तारै लेखेर पठाउने प्रयास गर्ने नै छु।
डोल्पाको कहालीलाग्दो गरिबी देखेर होला, सधैं बाबाले मलाई भन्नुहुन्छ, 'संसारभरि कै सबै मानिस एउटै हुन्। जसले राम्रो अवसर पायो उसको जीवन राम्रो बन्छ। जसले राम्रो अवसर पाएन उसको जीवन सधै दु:खमा बित्छ। त्यसैले, सबै मान्छे र जीव जन्तुलाई भगवानका उत्तम सृजना नै मान्नु पर्छ। सबैसँग राम्रो व्यावहार गर्नु, सहयोग गर्नु पर्छ।'
फेसबुक अभिशाप हो कि बरदान मलाई थाहा छैन। केहि हाम्रा शुभेच्छुकहरूले व्यक्तिगत रूपमा भन्दा बाल क्लब खोलेर सामाजिक सेवा गर्न वा अरू बालबालिकाकाे हितमा काम गर्न राम्रो हुन्छ भन्नुभयो। त्यसपछि मैले पनि गण्डकी बाल क्लब नाममा दर्ता गराउन लागेकी छु। बाल क्लबका विधान, उद्देश्य र कार्यक्रम पनि साथीहरू बाबाआमा लगायतकाे सल्लाहअनुसार नै बनाएका छौ। अमेरिकामा बस्ने अंकलहरू पनि सल्लाहकार बसिदिनुभएको छ।
अब विषयवस्तु तिर जाऊँ।
४/५ महिना अगाडि म हाम्रै स्टेसनरी पसलमा बसिरहेकी थिएँ। दुई जना म जस्तै सानो कक्षामा पढ्ने साथीहरू आउनुभयो। कापीहरू किन्ने भन्नुभयो। पहिला त मैले धेरै मूल्य पर्ने कापीहरू देखाएँ। उहाँहरूले मूल्य सुनेर केही अप्ठ्यारो माने जस्तो लाग्यो। फेरि मैले सस्तो मूल्यका कापी देखाएँ। त्यो पनि उहाँहरूले किन्न सक्नुभएन। अनि मैले तपाईहरूका बाबाआमा के-के काम गर्नु हुन्छ भनेर सोधेँ।
उहाँहरुले भन्नुभयो- बाबाआमा नै हुनुहुँदैन। अरूकोमा बस्छौं।
उहाँहरू कापी नलिई जानुभयो। मलाई त्यो पीडाले न दिनको भोक न रातको निन्द्रा बनाउन थाल्यो। मैले मेरा बाबाआमाले टिका लगाएर दिनुभएको दक्षिणा संकलन गरेकी थिएँ। मैले उहाँहरूलाई त्यही पैसा दिनुपर्छ भनेर सोचेको थिएँ। फेरि मलाई धेरै पैसा बनाएर अरू धेरै जना साथीलाई पनि दिन मन लाग्यो।
अब आफैंले मेरा साथीहरूलाई सहयोग पुर्याउन व्यापार गर्छु भन्ने सोचेँ। बाबाआमासँग सल्लाह गरेँ। अनि त्यो दक्षिणाको पैसाले मास्क मगाइदिनु भनेँ। बाबाले मगाइदिनुभयो। मास्क नै मैले किन रोजेँ भने अहिले कोरोनाको सबैतिर डरैडर छ। कोरोनाको शत्रु भनेकै मास्क हो। मास्क फेरि सफा-सस्तो-सजिलो सहज सबैलाई चाहिने सानो र सरल हुन्छ। यतिखेर त मास्कले मान्छेको कोरोनाबाट ज्यानै बचाउने ठूलो औषधि पनि हो नि। अथवा मैले कोरोनाबाट बच्ने औषधि बेच्दैछु।
म सामान सस्तोमा पनि दिन्छु। समाजिक सेवा पनि हुने र नाफाले स-साना साथीहरूलाई सहयोग गर्ने उद्देश्यले हाम्रो पसलको अगााडि पोखराको बिरौटाको चौतारीमा मास्क बेच्न थालेकी छु। अहिले तीन दिनमा जम्मा ६ हजारको बिक्री गरेँ। श्री शंखबहादुर लामा अंकलले भक्तपुरबाट रू १००० को, तितिक्षा फाउन्डेशन काठमाडौंले रू १५०० को, निर्मला मानन्धर दिदीले रामेछापबाट रू २०० को र सुस्मा बाँस्कोटा दिदीले कलैयाबाट रू ५०० को, ईश्वरप्रसाद सुवेदी म्याग्दी ताकमबाट विद्यालयका लागि रू १६०० को मास्क अनलाइनबाट किनिदिनुभयो। उहाँहरूलाई धेरै धन्यवाद।
मास्कहरू पनि राम्ररी नै बिक्री भइरहेको छ। हामीले कामको पूजा गर्नु पर्छ र गरी खान लाज मान्नु हुँदैन भन्ने सिकाउन पनि मैले यो काम गर्ने साहस गरेँ। काम गर्न लाज र डर मान्नु हुँदैन। यदि लाज र डर लाग्छ भने एउटा अंग्रेजी उखान सम्झनु पर्छ।
त्यो हो, 'इफ आइ वेयर दियर' अथवा कसैलाई देख्दा वा भेट्दा के सोच्नु पर्छ भने यदि म उसको ठाउँमा भइदिएको भए।
मैले लकडाउन र अरू कारणले साह्रै अप्ठ्यारोमा परेका साथीहरूलाई निः शुल्क पेन्सिल, डट र कापी उपलब्ध गराउनेछु। म जस्तै अरू हुनेखाने साथीहरूले पनि यस कार्यमा 'सोलिडारिटी' जनाइ दिन निवेदन गर्छु।
मेरो फेसबुक पेज हेरेर मलाई अगाडि बढ्न र सर-सल्लाह दिनु हुन समेत अनुरोध गर्छु।
धन्यवाद।
(प्रेन्सा रेग्मी शिशु निकेतन उच्च मा. वि, पोखरा, बिरौटामा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)