सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
त्रासै त्रास र कहिले नटुङ्गिने
आश बोकेर बसेकी माइली
भन्दैछे भगवान् छन् र
भगवानले लीला गर्छन्
गुजुल्टिएका समयलाई स्विकारी
विजय हासिल गर्छु भन्दै छन्
साइँला दाइ
र लगाउँदैछन् खुकुरीमा धार
भिन्न जिन्दगी जिउने रहर र
जीवनबाट मुक्ति पाइने
डरलाई फिर्फिरेसँगै उडाइ
बाढीले बगाएको बगरमा
धान रोप्ने योजना
बनाउँदै छन् किसान
अनि सोच्दैछन्
एकदिन पक्कै हरियो हुनेछ जीवन
देशको विषम परिस्थितिमा
आफ्नै खुन बेचेर पनि
नुन किन्न सकिरहेको छैन मजदुर
बरू भन्दैछ नुनै नखाए पनि
कसैको अगाडि झुकाउदिन शिर
मलाई मेरो स्वाभिमान प्यारो छ
स्वास्नीको अनुहारमा घामको
विकिरण देखिँदासमेत
उज्यालो ल्याउने आशले बिर्खे दाइ
हरेक दिनरात
मेसिन बन्ने तयारीमा छन्
उता हर्के दाइ
हातेमालो गर्दै गीता, बाइबल, त्रिपिटक
उभिएका छन् सङ्कटको सामनामा
एउटै लाइनमा र
मागिरहेछन् जिन्दगी नामको बरदान
रगत पसिना बगाउने
सिपाहीको वीरताको गाथा सुन्दा
कथा जस्तै लाग्न सक्छ
त्रास, पराजयलाई मुठ्ठीमा कुल्चिएर
हिँडाइको गति बढाउने भाइचारा देख्दा
लाग्छ प्रहसन भइरहेछ
लाग्दैछ यो समय
कुर्सीको मोहमा बसेकाहरू
बगेर जाऊन् नदीसँगै
अनि बगरमा रहेका उदास प्रजाले
पाउने छन् नदी पार गर्न
अग्रपंक्तिमा उभिनेछन् देशका सिपाहीहरू
घाउमा मलम लगाउने छन् स्वास्थ्यकर्मीहरू
सु-समाचार मात्रै लेख्ने छन् पत्रकारहरू
र जहिल्यै समयलाई दोष दिनेहरू
आफैँ पाखा लागेपछि
बन्नेछ फराकिलो मौनताको आँगन
र नाच्नेछन् विजयोत्सवमा सारा जनहरू
र अझै सुन्दर देखिने छ
मेरो देशको मुहार
(प्रसिदिका लम्साल हेटौंडामा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)