सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यति लामो समयसम्म विद्यालय नगई बसेको पहिलो पटक हो। विद्यालय जान नपाउँदा नरमाइलो त लाग्ने नै भयो। यसमा हामीले गुनासो गर्ने ठाउँ पनि त छैन। कोरोना संक्रमण बढिरहेको छ। त्यसैले अझै केही समय हामीलाई सजिलो हुँदैन होला।
अघिल्लो लेखमा मैले कसरी मेरो फुर्सदको समय बिताउँदै छु भन्ने लेखेको थिएँ। त्यस बेला पढ्न बाँकी रहेका किताबमध्ये अरू चार वटा किताब पढेँ। ती किताबमा विज्ञान, कथा र उपन्यास लगायत थिए। तिनीहरूबाट मैले विज्ञानका नौला विषय बारे जानकारी पाएँ। कथा र उपन्यासबाट ज्ञानी र मेहनती हुनुपर्छ भन्ने शिक्षा पाएँ। मलाई ‘संगत’ र ‘सुरूङको बाटो’ उपन्यास मन पर्यो।
मलाई यति लामो समय सम्म घरमै बस्नुपर्ला जस्तो लागेको थिएन। तर कोरोना भाइरस त संसारभर फैलिरहेको छ। नेपालमा पनि यसको प्रभाव दिनदिनै बढिरहेको छ। यो कहिले नियन्त्रण हुने हो थाहा छैन। यसको औषधि बनाउन वैज्ञानिकहरू अनुसन्धान गर्दैछन् तर कहिले बन्छ थाहा छैन। औषधि चाँडै बन्यो भने त सबैलाई राम्रो हुन्थ्यो। त्यो औषधि नेपालमा कहिले आइपुग्ने होला?
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले हामीलाई विद्यालय जान दिएको छैन। लामो समय विद्यालय नजाँदा विद्यार्थीको पढाई बिग्रन्छ भनेर मेरो विद्यालयले अनलाइन कक्षा सुरू गर्यो। साथीहरू र सरमिससँग भेट हुने भो भनेर म निकै खुसी भएँ। साथीहरूसँग भेट नभएको धेरै भएको थियो। पहिलो पटक सबै साथी र सरम्यामलाई कम्प्युटरको स्क्रिनमा देख्दा निकै खुसी लाग्यो। सबैजना घरमै बसेर एक अर्कासँग कुरा गर्न पाइने। लामो समयसम्म अलग्गिएका हामी त्यसरी भेट हुँदा धेरै खुसी भयौं।
आहा! विज्ञानले पनि कस्तो कस्तो सुविधा दिएको। प्रविधिको प्रयोगले मानिसलाई निकै फाइदा हुँदो रहेछ भन्ने लाग्यो।
अनलाइन कक्षाले हामीलाई पढाइ निरन्तरता दिन सहयोग भयो। हामीलाई सरमिसले पाठ्यपुस्तकको अधारमा पढाउने भएकाले पढाएको बुझ्न सजिलो छ। दिएको गृहकार्य समयमै गरेर मोबाइलबाट सरमिसलाई पठाउँदा रमाइलो लाग्छ। सरमिसले पनि तुरून्तै चेक गरेर गल्ती भए सुझाव दिनुहुन्छ। मेरो एक जना मिस पोखरामा हुनुहुन्छ। उहाँले त्यहीबाट हामीलाई पढाउनुहुन्छ। कस्तो सजिलो! जहाँबाट पनि पढाउन मिल्ने।
हामीलाई सरमिसले विभिन्न क्रियाकलाप गरेर त्यसको फोटो पठाउन लगाउनुहुन्छ। त्यस्ता काम गर्दा रमाइलो हुन्छ। हामीले अस्ति विभिन्न प्रकारका बिरूवाहरू रोपेर त्यसको फोटो पठायौं। तर स्कुलमा सबै साथीसँग खेल्दै पढेको जस्तो हुँदो रहेनछ। साथीहरूसँग दौडँदै, खेल्दै, सँगै बसेर खाँदै, नजानेको कुरा एक अर्कालाई सोध्दै, सरमिससँग सोध्दै पढेको जस्तो हुँदैन रहेछ।
मलाई अहिले थाहा भयो पढ्ने भनेको किताबको पाठ पढ्ने र गृहकार्य गर्ने मात्र होइन रहेछ। पढाइ भनेको त साथीहरूसँग कुरा गर्दा सिक्ने, खेल्दा सिक्ने, हिँड्दा डुल्दा सिक्ने र देखेर सुनेर सिक्ने पनि हो रहेछ। हामी स्कुलमा हुँदा कहिले जावलाखेलको चौरमा खेल्न जान्थ्यौं। पुस्तकालय जान्थ्यौं। कम्प्युटर ल्याब र विज्ञानको प्रयोगशाला पनि जान्थ्यौं। कहिलेकाहीँ गीत गाउने र नाच्ने पनि गर्थ्यौं। सरमिससँग विभिन्न ठाउँ घुम्न जान्थ्यौं। त्यसबाट पनि धेरै सिक्ने अवसर प्राप्त हुन्थ्यो।
अहिले चाहेर पनि ती क्रियाकलाप गर्न सकिँदैन। आशा छ केही समयपछि कोरना नियन्त्रण भयो भने फेरि त्यस्तै रामाइलो गर्दै पढ्न पाइएला।
अनलाइन कक्षाका पनि विभिन्न समस्याहरू हुँदा रहेछन्। कहिले बत्ति हुँदैन, कहिले इन्टरनेट। सबैको घरमा ल्यापटप वा मोबाइल हुँदैन। सरमिसकोमा पनि त्यस्तै समस्या हुन्छ र हाम्रो पढाइ नै रोकिन्छ। एउटै घरमा ३/४ जना विद्यार्थी छन् भने कसरी पढ्छन् होला? सबैलाई ल्यापटप वा मोबाइल कसरी पुग्छ होला?
मेरा केही साथी पनि बिदा भयो भनेर गाउँ गएका थिए। उनीहरू पनि अनलाइन कक्षामा आउन सकेका छैनन्। उनीहरुको पढाइ छुट्यो। धेरै समयसम्म कम्प्युटर वा मोबाइल हेर्दा टाउको, आँखा दुख्ने र एकै ठाउँमा बसिरहँदा जीउ दुख्ने हुन्छ। हामी अहिले दिनको तीन घण्टा जति अनलाइन कक्षा पढ्छौं। त्यसपछि गृहकार्य गर्न पनि कम्प्युटर वा मोबाइल हेर्नु पर्छ। यसले पछिसम्म पनि असर पार्छ होला।
मलाई अनलाइन कक्षा पढ्दै गर्दा गाउँघरका विद्यार्थीको याद आयो। दुई वर्षअगाडि मेरो बाबा हुम्लाको चंखेली भन्ने ठाउँ जानुभएको थियो। मैले बाबाबाट हुम्ला नेपालको विकट ठाउँ रहेछ भन्ने थाहा पाएँ। गाडी, हवाइजहाज हुँदै तीन दिन हिँडेर पुग्न सकिन्छ रे। त्यहाँ कुनै पनि सुविधा पुगेको छैन रे। विजुली, टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजन केही पनि छैन रे। त्यहाँको एउटा स्कुलको फोटो हेरेकी थिएँ। स्कुलको अवस्था पनि राम्रो थिएन। किताब, कापी पनि कहिल्यै समयमा पुग्दैन रे। कति बालबालिकाको घरमा त खानेकुरा पनि हुँदैन रे। लाउने लुगा पनि हुँदैन रे।
उनीहरू खाना नपाएर कमजोर र बिरामी हुन्छन् रे। त्यहाँका विद्यार्थी कसरी पढ्छन् होला? उनीहरूलाई अनलाइन कक्षाको बारेमा के थाहा होला? स्कुलले पढ्ने वातावरण कसरी मिलाउँछन् होला? मलाई अहिले उनीहरुको सम्झना आइरहन्छ। मलाई पनि पछि त्यो ठाउँ हेर्न जान र त्यहाँका बालबालिकाको केही सहयोग गर्ने इच्छा छ।
म दुई वर्ष पहिले बाबासँग रामेछापको शैलुंङ, दोरम्भा, खाँडादेवी, मन्थली र लिखुतामाकोशी गएकी थिएँ। शैलुङ त मलाई धेरै मन पर्यो। मैलै त्यति धेरै गुँरास फुलेको पहिलोपटक देखेको, कस्तो रामाइलो लागेको थियो। मन्थलीको आइसक्रिम कस्तो मीठो थियो। मैले त्यहाँका स्कुल देखेकी थिएँ।
त्यहाँ हाम्रो स्कुलमा भएजस्तो कुनै सुविधा थिएन। कक्षाकोठा पनि राम्रो थिएन। बिजुली पनि राम्रो थिएन। हामी त्यहाँ हुँदा फोन पनि राम्रोसँग लाग्दैन थियो। इन्टरनेट त झन आउदैन थियो। त्यहाँका बालबालिकाले कसरी अनलाइन कक्षा पढ्छन् होला? उनीहरूलाई शिक्षकले कसरी पढाउँछन् होला?
मलाई त हामीजस्तो सुविधा पाउने बालबालिका थोरै छन् जस्तो लाग्छ। हाम्रो देशमा गाँउमा बस्ने मानिसहरू धेरै छन्। त्यहाँका बालबालिकासँग सहरको यस्तो सुविधा हुँदैन। हामी सहरमा बस्नेहरू भाग्यमानी छौ। त्यसैले हामीले पाएको अवसरको सदुपयोग गर्नुपर्छ। आफ्नो मात्र होइन अर्काको पनि भलो हुने काम गर्न सक्नुपर्छ।
गाउँका बालबालिका लागि भनेर सरकारले रेडियो र टेलिभिजनबाट कक्षाहरू सञ्चालन गरिरहेको छ। युट्युबमा पनि त्यस्तो पाठ पाइन्छ। म पनि समय मिलाएर त्यस्तो भिडियो हेर्छु। त्यसबाट मलाई थप ज्ञान प्राप्त हुन्छ। मलाई विज्ञान विषय पढाएको भिडियो खुब मन पर्यो।
कोरोनाबाट संक्रमित हुनेको संख्या दिनदिनै बढेको बढ्यै छ। कहिले नियन्त्रण हुने हो, कसैलाई थाहा छैन। यो नियन्त्रण नभएसम्म विद्यालय खुल्दैन। हामीले अझै केही समय घरमै बस्नुपर्ने हुन्छ। घरमै बसेर पढ्नुपर्ने हुन्छ। संक्रमण फैलिदै जाँदा हामी बालबालिकालाई झनै जोखिम हुन्छ रे। त्यसैले अझै सतर्क र सुरक्षित रहनु पर्छ।
(अभिप्षा पोख्रेल फ्यूचर स्टार्स हाई स्कुल, जावलाखेलमा कक्षा ६ अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)