सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा तीनको अन्तिम परीक्षा सकिएको थियो। दुई दिनपछि म र मेरो काका चैत ८ गते पाल्पा रामपुर जान बस चढ्यौं। मलाई लिन ठूलो मामा आउनुभयो। म मामाघर गएँ।
मेरो मामाघरको गाउँको नाम खाेटाङ हो। अनि मरो काका भने रामपुर जानुभयो। मामाघरमा दुई तीन दिनपछि मेरो सानो मामा र ठूलीआमाको छोरा नवीन दादा काठमाडौंबाट आउनुभयो। उहाँहरु आएपछि झन् रमाइलो भयो।
मामाघरमा गएको माघमा बिजुली जोडेको रहेछ। सानो मामाले काठमाडौंबाट टिभी ल्याउनुभयो। त्यो रात हामीले टिभीमा चलचित्र 'झोला' हेर्यौं। आफ्नै आमालाई वन मान्छे भनेर डराएको हेरेर म पनि डराएँ।
दुई सातापछि माथिल्लो घरको मामाको छोरा दुर्गा दाइ पनि कावासोतीबाट आउनुभयो। दुर्गा दाइ पाँच कक्षामा पढ्नुहुन्छ। मेरो भाइहरू पूजन, सुविन र दुर्गा दाइसँग रमाइला खेलहरू खेल्यौं। हामी कहिले बन्दुकबाजी (दाउरालाई लिएर बन्दुक बनाएर खेलिने खेल) खेल्यौं। लुकामारी अनि चोर-पुलिस पनि खेल्थ्यौ।
मैले र दुर्गा दाइले ढुङ्गाको खिचडी शीर्षकमा नाटक खेलेका थियौँ। नाटक गर्न हामीलाई सानो मामाले सहयोग गर्नुभएको थियो। नाटकमा कन्जुस बुढीको भूमिका गरेकी थिएँ। दादा बटुवा बन्नुभएको थियो।
ममाघरमा काँक्रो रोप्ने बेला भएको थियो। काँक्रो फलेको थियो। मलाई काँक्रो खान खुब मन पर्छ। म त्यहाँ पुग्दा मकैका बोटहरू मेरो घुँडाजत्तिकै भइसकेका रहेछन्। मामा, माइजु, हजुरबा, हजुरआमा सबैले मकै गोड्नुभयो। मैले पनि सानो कोदालीले मकै गोडे। दुई सातापछि मेरो घरको हजुरआमाले मलाई फोन गरेर बोलाउनुभयो। मलाई पनि हजुरबा हजुरआमा भेट्न मन लागेका थियो। मलाई मामाले रामपुर लगिदिनुभो। तीन चार घण्टा जति हिँडेर रामपुर गएँ।
घरमा गाइको बाच्छी रहिछ। हजुरआमाले मेरो जन्म दिनकै दिन जन्मेकी भन्नुभयो। मेरो र बाच्छीको जन्मदिन एउटै हो। म बाच्छीसित खेल्न खोज्दा नजिक गएपछि बाच्छी डराएर पछाडि सर्थी। तर भोलिपल्टदेखि बाच्छीले छुन दिन थाली। मैले बाच्छी छुन जाँदा गाई मसँग रिसाएर मलाई रिसले र्हेर्दै हान्न तन्किन्थ्यो।
दुई तीन हप्तापछि हाम्रो घरमाथिको चौतारीमा बिरालोले म्याउँ म्याउँ गरेको सुन्यौं। मेरो काकाले विरोलोको सानो बच्चो घरमा ल्याउनुभयो। मैले यसलाई ङ्याउरो भन्दा रहेछन् भन्ने थाहा पाएँ। उसलाई हामीले पाल्न थाल्यौं। मैले त्यस छाउरोलाई माम, दूध दिएँ।
खाई सकेपछि छाउरोसँग म डोरी समाउने खेल्थेँ। छाउरोलाई मैले दिएको डोरी छोप्न खोज्दै दौडिन्थ्यो र डोरी समाउँथ्यो। यसो गर्दा गर्दा छाउरोले आफ्नो सिकार आफैं खोज्न थाल्ने रहेछ। यो कुरा मलाई हजुरआमाले भन्नुभएको हो।
खानामा त्यसले दूध भातभन्दा मोही भात खान खुब मनपराउँथ्यो। मैले र काकाले त्यसको लागि बस्ने सानो घर बनाईदियौं। उसको आमा कता गई होला, थाहै भएन। ऊ दिउँसो सुतिरहन्थ्यो। बेलुकातिर उठेर किरा फट्यांग्रा छोपेर खान्थ्यो। मलाई हजुरबाले विरालो काठमाडौं लजाऊ है भन्नुहुन्थ्यो तर मैले ल्याउन भने पाइनँ किनकि म मामाघरबाट सोझै काठमाडौं आइसकेँ।
मेरो काकाले मेरो लागि धेरै खेलौनाहरू बनाइदिनुभएको थियो। त्यसमध्ये मलाई धनुष खेल्न निकै रमाइलो लाग्यो। मैले मेरो अगाडि कुनै सामान राखेर त्यसलाई धनुषले ढलाउन पनि सिकेँ।
त्यसको एक हप्तापछि मलाई लिन मेरो ठूलो मामा आउनुभयो। फेरि म मामाघर गएँ। मामाघर जाँदा यसपटक नयाँ कुरा देखेँ। बाख्री व्याएको रहेछ। एउटा पाठो अनि अर्को पाठी जन्मेका रहेछन्। त्यो पाठोलाई मेरो हात टोकेर खेल्न खुब मनपर्थ्यो। पाठोले आफैं खानेकुरा खान्थ्यो तर पाठीचाहिँ अलि सानो थियो। खानेकुरा पनि खाँदैनथ्यो।
पाठोले जन्मेको पाँच दिनबाटै मकैको पात खान थाल्दो रहेछ। दुवै मुने आगो निभेको चुल्होको छेउमा गएर बस्थे। किन त्यसो गरेको होला भनेर हजुरबालाई सोधे। ती त न्यानो हुन त्यसो गरेका पो रहेछन्।
म मामाघरमा बस्दा बस्दै धानको बिउ राख्ने बेला पनि भएको थियो। धानको बिउ राख्न खेतका झार उखेलेर फाल्नुपर्ने रहेछ। त्यसपछि पानी लगाएर गोरूले जोतेर खोक लगाउनुपर्दो रहेछ। हिलो माटोमा माथिबाट बिउ छर्ने हो रहेछ। त्यसको दुई तीन दिनपछि बिऊ उम्रिन थाल्यो। यो देखेर मलाई रमाइलो लाग्यो।
गाडी नचलेकोले काठमाडौं जान सकेकी थिइनँ। म बिहान-बेलुकी बाबाआमासँग फोनमा कुरा गर्थे। मेरो आमा (ममीले)मेरो अनलाइन पढाइ छुटेको छ भन्नुहुन्थ्यो तर मलाई त पढाईभन्दा गाउँमै रमाइलो लागेको थियो।
मामाले मलाई तनहुँको खैरेनीटारसम्म मोटरसाइकलमा ल्याइदिनुभयो अनि मेरो बाबाको साथीको कार चढेर असार १६ गते काठमाडौं आएँ। यहाँ आएर गत सातादेखि अनलाइन कक्षा पढ्न थालेकी छु।
(रूबी पंगेनी अक्षरा स्कुल, काँडाघारी काठमाडौंमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)