सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बाबामामुसँग विद्यालय छुट्टी भएको बेला घुम्न खुबै रमाइलो लाग्छ। कोरोना रोग नफैलियोस् भनेर नेपालका सबै विद्यालय पनि गत चैत ५ गतेबाट बन्द भएपछि मलाई पनि ओखलढुंगा जाने अवसर मिल्यो।
मेरो बाबा ओखलढुंगामै जन्मनुभएको र उतै पढ्नुभएको रे। पहाडको गाउँ जाँदा खुबै रमाइलो हुने रहेछ। वसन्त ऋतु भएकाले हामी गाउँमा पुगेको समयमा काभ्रोको पात झरेर रूख नै नांगाे भएको रहेछ। हामी त्यहाँ बस्दा बस्दै काभ्रो र अरू रूखमा पालुवा पलाउन सुरु भयो। हामी उस्तैउस्तै उमेरका केटाकेटी मिलेर काभ्रोको कलिलो कोपिला कस्तो होला भनेर खाँदै थियौं। हजुरआमाले देख्नुभएछ। त्यस्तो कुरा खाँदा पेट बिसन्चो हुने कुरा हजुरआमाले हामीलाई सम्झाउनुभयो।
लाली गुँरास फुल्ने समय भएकाले हामी वनमा गएर गुँरास टिप्ने र फूलसँगै बसेर फोटो खिच्दा निकै रमाइलो भयो। गुँरासको रूख अत्यन्तै कमजोर हुने भएकाले रूख चढेर फूल टिप्दा निकै होशियारी गर्नुपर्ने रहेछ। कटुस चिलाउने र बकाइनोको रूखमा पनि यही समयमा नयाँ पालुवा पलाउने रहेछ।
गाउँको वास्तविक जीवन कस्तो हुने रहेछ भनेर थाहा पाउन आफैं गाउँ गएर बसेपछि साँच्चै थाहा हुने रहेछ। मलाई हजुरबुवा हजुरआमाले ढिकी कुट्न र जाँतो पिँध्न पनि सिकाउनु भयो। गाँउमा ढिकी-जाँतो, गोठ जस्ता कुरा प्रशस्तै पाइने भए पनि आजकाल ढिकी-जाँतोको चलन विस्तारै हराउन थालेको कुरा हजुरआमाले भन्नुभयो।
म एक दिन गाउँकै सुस्मा दिदीसँग हर्राबाेटे खेतमा बाख्रा चराउन जाँदा कति रमाइलो भएको थियो। बाख्रा चराउने ठाउँ जंगल काटेर जानु पर्ने भएकाले स्यालले बाख्राको पाठा खाने डर हुन्छ भनेर दिदीले भन्दा त मेरो पनि डरले सातो उडेको थियो। स्याल छट्टु हुने भएकाले मान्छे देख्ने बित्तिकै भागिजान्छ नि भनेर दिदीले मलाई सान्त्वना दिनु भएपछि अलि ढुक्क भए। बाख्रा चराउन जाँदा नजिकैको गहिरे खोलामा बाख्रा पानी खाना जाँदा रहेछन्।
पहाडको खोला एकदमै भिरालो ठाउँबाट बग्ने भएकाले छङछङ गरेको कति मिठो आवाज आउने रहेछ। खेतमा बाख्रा चराउँदै गर्दा दिदीले मलाई बेथुको साग टिप्न सिकाउनु भयो। दिदी र मैले साग टिपेर घर लिएर आउँदा घरका मान्छे खुसीले दंग पर्नुभएको थियो। गाँउमा त भैंसीको दूध दही मोही पनि कति मीठो हुने रहेछ। हामीले सिस्नु भन्ने पोल्ने सागको तरकारी पनि पकाएर खायौं। माटोको घरमा दाउराको आगोमा पकाएको भात र तरकारीको स्वाद पनि निकै फरक हुने रहेछ।
गाउँका मान्छेहरूले त कति धेरै काम गर्नुहुने रहेछ। ठूलो डोकामा घाँस दाउरा बाेकेको देखेर कसरी बाेक्न सकेको होला जस्तो लाग्यो मलाई। वरिपरि जसको घरमा पुगे पनि के खाने भनेर सोधिसोधि मीठो कुरा खान दिनुहुन्थ्यो।
लकडाउन सुरू भएपछि हामीले गाउँमा पनि धेरै हिँड्न पाएनौं। सुरूसुरूमा उकालो-ओरालो हिँड्न निकै गाह्रो हुने भए पनि विस्तारै बानी भएपछि सजिलो हुने रहेछ। गाउँमा खुला ठाउँ धेरै हुने भएकाले खेल्न कुद्न निकै रमाइलो हुने रहेछ।
(स्नेहा खनाल एभरेष्ट स्कुल, मिवाछें भक्तपुरमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)