सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले अहिले नेपाल लगायत विश्वका करिब २ सय १३ वटा देशमा संक्रमणको प्रकोप फैलाएको छ। यसलाई थप भयावह हुन नदिन नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन हालसम्म कायमै छ।
लकडाउनका कारणले अत्यावश्यक सेवाबाहेक सामान्य जिवनका यावत गतिविधि निर्वाधरूपमा चल्न पाएका छैनन्। यसका कारण विद्यालयका गतिविधि र विद्यार्थी पनि प्रभावित हुने कुरा अनौठो रहेन। हामी विद्यार्थी विद्यालय गएर सैद्धान्तिक तथा व्यवहारिक ज्ञान आर्जन गर्न पाएका छैनौं। तर पनि अधिकांश विद्यालयले अनलाइनका माध्यमबाट आफ्ना गतिविधिसँग विद्यार्थीलाई जोड्ने र थप शैक्षिक हुन नदिनतर्फ प्रयासरत छन्।
अनलाइन कक्षा धेरै विद्यार्थी साथीका लागि सम्भव नहुन सक्छ। भौतिक पूर्वाधार र स्रोत साधनको पँहुचको अभावका कारणले। त्यसैले, नेपाल सरकारले नेपाल टेलिभिजन र रेडियो नेपालको माध्यमबाट पनि शिक्षण सिकाईका क्रियाकलापलाई अगाडि बढाएको छ। यी र यस्तै अन्य माध्यमाबाट मात्र अध्ययनलाई अगाडि बढाउँदा सिकाईले गतिशिलता, प्रभावकारीता र सान्दर्भीकता नपाउन सक्छ। त्यसैले, हामी विद्यार्थीले पनि समय सदुपयोग गरी औपचारिक तथा अनौपचारिक ज्ञानका स्रोतहरू समेटिएका अन्य पाठ्यपुस्तक खोज गरी पढ्ने, घरायसी व्यवहार, सामाजिक मूल्य मान्यता, संस्कार र प्रचलनका कुराहरू अभिभावकको सामिप्यताबाट आर्जन गर्ने गर्नुपर्छ।
लकडाउनमा घर बाहिर निस्कन नपाउँदा हामीमा सिर्जना हुन सक्ने नकारात्मक विचार, तनावलाई सही व्यवस्थापन गरी सकारात्मक उर्जामा परिणत गर्न पनि विद्यालयका पाठ्यपुस्तक, बाल साहित्यका किताबहरू, उपन्यास, कथा इत्यादी स्वःअध्ययन गर्ने, शारीरिक व्यायम गर्ने र घरायसी क्रियाकलापमा सरिक हुने गर्नुपर्छ। जसबाट समयको सही व्यवस्थापन, तनाब व्यवस्थापन, ज्ञानआर्जन, शारीरिक स्फूर्ति तथा मानसिक सन्तुष्टि प्राप्त गर्न सक्छौं।
यदि हामी अनलाइन कक्षामा मात्र भर पर्यौं, यसलाई अन्तर्क्रियात्मक बनाउन सकेनौं, औपचारिक स्मरणको माध्यममा रूपान्तरण गर्न सकेनौं भने विद्यालयको नियमित संचालनपछि आफूँलाई त्यसपछिको परिस्थितिमा समायोजन गर्न मुस्किल पर्न सक्छ। कोभिड १९ को औषधि आविष्कार हुन समयमा सकेन भने स्थिति झन् भयावह हुने, लकडाउन लम्बिन सक्ने, यसका नकारात्मक प्रभावहरूले समस्त मानव समुदाय नै प्रभावित हुन सक्ने अवस्था सहजै अनुमान लगाउन सकिन्छ। यस्तो विषम परिस्थितिमा सबै भन्दा बढी प्रभावित हुने भनेको हामी जस्ता बालबालिका र वृद्धवृद्धाहरू नै हो।
तसर्थ, यस्तो परिस्थितिमा पनि सिकाईलाई अगाडि बढाई आफ्नो शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको लागि हामी हाम्रो स्वःअध्ययनका माध्यममा भर पर्दा अत्युत्तम हुन्छ।
यस कठिन परिस्थितिमा हामी तमाम विद्यार्थीमध्ये कसैको घरमा विजुलिको पहुँच नुहन सक्छ त कसैकोमा इन्टरनेट र कम्प्यूटर जस्ता डिभाइसहरूको। यस विकराल अवस्थासँग जुध्ने उत्तम अस्त्र भनेको नै घरमा बसी स्वःअध्ययनका सामग्रीको प्रयोग गर्नु हो। विद्यालय र सरकारले आफ्नो तर्फबाट सक्ने प्रयास गरिरहेका छन् जुन कुरा प्रशंसनीय छ। तर परिस्थिति सरकार र विद्यालयको नियन्त्रण बाहिर पुगेमा हाम्रो भविष्यको अन्तिम जिम्मेवारी हामी आफैँमा रहन्छ। तसर्थ, उचित प्रकारका पाठ्यसामग्री घरमै स्वःअध्ययन गरी समयको फाइदा उठाउनुपर्छ।
घरमा इन्टरनेटको उपयोग गरी सिकाइसँग सामाग्री भएका अडियो भिडियो सामग्री खोज र अध्ययन गर्ने, आफ्नो सिकाइसँग असम्बन्धित सामग्रीसँग सरोकार नराख्ने हो भने हामीलाई हाम्रो शैक्षिक यात्रामा कुनै कठिनाइ हुँदैन।
प्रत्येक चुनौतीले अवसरलाई साथमा लिएर आएको हुन्छ। अहिले हामीसँग कोराेना भाइरसले विषम चुनौती खडा छ। यस चुनौतीलाई अवसरमा बदल्न शिक्षण सिकाई क्रियाकलापमा सुचना तथा संचार प्रविधिको उपयोग गर्ने, अदृश्य ज्ञानका सागरमा पहुँच पुर्याउने र त्यसैबाट दीक्षित हुने अवसर प्राप्त भएको छ। जसका लागि हामीमा अथक प्रयास, धैर्य र संयमताको जरूरत छ।
(सुयोग सुवेदी बुढानिलकण्ठ स्कूलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)