सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसका कारण हामी कतै हिँडडुल गर्न सक्दैनौँ। यसले गर्दा स्कुलहरू बन्द भएका छन्। स्कुल बन्द भएको पनि तीन महिना भइसकेको छ। भौतिक दूरी कायम गर्नु पर्ने यस अवस्थामा अनलाइनको धेरै आवश्यकता हुँदो रहेछ।
कोरोना भाइरसले गर्दा मानिसहरू घरमा बसेका छन्। इन्टरनेट सुविधा भएका मानिसले घरैबाट काम गरेका छन्। घरमा बसेर काम गर्न नसक्ने र शारीरिक श्रम गर्नुपर्ने मानिसलाई महामारीको बेला निकै कष्ट भएको छ। ज्याला मजदुरी गर्ने मान्छे, तरकारी बेच्ने मान्छे र दिनभर काम गरेर खाने मान्छेलाई अहिले निकै समस्या भएको छ।
महामारीका बेला हामी घरभित्र बस्छौं। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरू काम गरिरहेका हुन्छन्। डाक्टरहरू आफ्नो स्वास्थ्य र परिवारको साथ नभनी जनताको सेवामा लागिरहेका हुन्छन्। उनीहरू चाहेर पनि घरमा बस्न पाउँदैनन्। अहिले इन्टरनेटको सुविधा भएकाले विद्यालयहरू बन्द भए पनि हाम्रो पढाइ रोकिएको छैन।
स्कुल नगई घरै बसेर शिक्षकसँग सिधै कुराकानी गरेर पढ्ने मौका हामीले पाएका छौं। नेपालका धेरै ठाउँमा इन्टरनेटको सुविधा छैन। त्यहाँका स्कुलहरू बन्द हुँदा विद्यार्थीहरूले पढ्न पाएका छैनन्। सरकारले उनीहरूलाई पनि पढ्ने मौका मिलाइदिनु पर्छ।
म आफ्नो स्कुललाई धन्यवाद दिन चाहन्छु। हाम्रो स्कुलले अनलाइन कक्षा सुरू गर्यो। हामीले अनलाइनबाट पढ्न र साथीहरूसँग छलफल गर्न पाएका छौँ। इन्टरनेटको चमत्कारका कारण अहिले हामी विश्वको खबर तुरून्तै थाहा पाउछौं। इन्टरनेटको बेफाइदा नि हुन्छ। जस्तै: कुनै मानिस दिनभर साथीहरूसँग अनलाइनमा गफ गरिरहेको हुन्छ।
यसो गर्दा उनीहरूको आँखा बिग्रिन्छ। कोहीकोही झुटो खबर पठाइरहेका हुन्छन्। त्यही भएर साथीहरू, दाइदिदी वा शिक्षकहरूलाई भन्न चाहन्छु कि, अनलाइनले राम्रो गरे राम्रो र नराम्रो रूपमा प्रयोग गरे नराम्रो हुन्छ।
सबैले राम्रो काममा इन्टरनेटको प्रयोग गरौं। महामारीका बेलामा यसको झनै आवश्यकता पर्ने भएकाले अनावश्यक रूपमा इन्टरनेटको प्रयोग नगरौं।
(आकेसकुमार मण्डल बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)