सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी रूपमा आकार बढाउँदै गएको छ। यस भाइरसले लाखौंको ज्यान लिइसकेको छ। यसबाट नेपाल पनि प्रभावित बनेको छ।
२०७६ साल चैत्र ११ गतेदेखि कोभिड १९ को रोगथामका लागि नेपालमा लकडाउन लागु भएको छ। हामी लकडाउनमा बसेको तीन महिना भएको छ। यसले केही असहजतासँगै केही अति नै रमाइला अनुभव पनि दिएको छ। जुन विषयमा म चर्चा गर्न गइरहेको छु।
पहिला म नियमित विद्यालय जान्थेँ। बिहान घरबाट ८ बजे विद्यालय निस्किन्थेँ। दिउँसो ४ बजे आउँथे। घरमा एक छिन खेल्ने र टिभी हेर्ने गर्थेँ।
त्यसपछि होमवर्क गर्ने, खाने र सुत्ने गर्थेँ। परिवारसँग त्यति धेरै रमाउन पाउने समय हुँदैनथ्यो। शनिबार पनि बाबाममी सबै जना व्यस्त हुनुहुन्थ्यो। समयको अभावले मलाई मन भए पनि यस्तो समय मिलेको थिएन।
जब लकडाउन सुरू भयो मलाई मजा अनि अनौठो लाग्यो। पहिले जस्तै स्कुल जान परेन। ममीबाबालाई पनि काममा जान परेन। उहाँहरूसँग सँगै खाने, बस्ने र रमाइलो गर्न पाए। मेरो बाबाममीका रामाइलो पक्षबारे बुझ्न पाएँ।
उहाँहरूले सुनाउनु भएका कथा, कविता र रमाइला गीतले समय सजिलै कटाए। उहाँहरूले चित्र बनाउन, भाषण गर्न र कविता लेख्न सिकाउनु भयो।
मैले अभ्यास गर्दा लेखेको एउटा कविताको अंश:
कस्तो यो कोरोनाको महामारी
चारैतिर फैलिएको छ मनपरी
कोही कता कोही कता
रूने बेग्लाबेग्लै
आफ्नाबाट टाढिएर
बस्ने एक्लाएक्लै
सधैं यसको डरमा अब वाँच्ने कसो गरी?
पछि हामी हट्ने होइन भिडौं जसो गरी।
यस्तै नयाँ-नयाँ विषयमा सृजना गर्न पाउँदा मलाई खुसी लाग्यो। मैले केही किताब पनि पढेँ, सुनेँ। मुनामदन, विमोचन, डग एण्ड क्याट वेर फ्रेण्ड्स नामक अङ्ग्रेजी किताब पनि पढेँ। थप दुइटा रोचक स्टोरी 'द मदर ट्रेटर' र 'बोर्न अ क्राइम' सुनेँ।
'द मदर ट्रेटर' मा देश भक्त आमाले आफ्नो देशद्रोही छोरालाई मारेकि छिन्।अर्को स्टोरी 'बोर्न अ क्राइम' मा काला जाति हेपिएको विषयमा लेखिएको छ।
म भान्सामा पनि समेल भए। घरमा मिठोमिठो परिकार बनाएको मैले हेरें। सरसफाइमा पनि मैले जिम्मा लिएर काम गरेँ। कोठाको बेड मिलाउने, बारबार छोइरहने सामानलाई कोरोनाको जोखिम हटाउन साबुनपानीले पुछने गरे। यसमा पनि रमाइलो भयाे।
मेरो परिवारमा बाबाममी, दिदी, म र मेरो प्यारी बहिनी बस्छौं। म प्राय: बहिनीसँग रमाउन पाएको थिइनँ। स्कुल जाने बेलासम्म उनी सुतेकी हुन्थिन्। स्कुलबाट आउँदा पनि सुतेकी हुन्थिन्। रमाइलो गर्ने, खेल्ने मौका नै मिलेको थिएन। लकडाउनको बेला घोडाचढी, स्ट्याचु-ओभर, लुकामारी, रेसलिङ खेल खेले। नानी धेरै रमाइली रहिछिन्। अलिअलि झ्याल्ली पनि रहिछिन्। हाहाहा।
घरमा परिवारसँग बस्दा रमाइलो भए पनि मेरो पढाइ के हुने भन्ने चिन्ता आएको छ। साथीभाइको याद आएको छ। सँगै खाने खेल्ने साथीसँग फेरी कहिले भेट होला जस्तो भएको छ। हाल मेरो स्कुले अनलाइन क्लास चलिरहेको छ। यसले लामो समयदेखि रोकिएको पढाइ निरन्तर भएको छ। भर्चुअल क्लास नै भए पनि साथीभाइसँग सँगै भएजस्तो लागेको छ।
असारबाट लकडाउन खुकुलो बनेको छ। हामी पनि हल्का सुरक्षित हुँदै डुल्न थलेका छौं। बाबाममी पनि अफिस जान लाग्नु भएको छ। योसँगै कोरोना सर्तकता बढाउँदै गएका छौं। तर मानिसहरू सडकमा बिना सुरक्षा हिँडिरहेको देखेको छु। सामाजिक दुरी कायम गरेको पाएको छैन। पसलमा भिडभाड देखेको छु।
अचम्म यो लागेको छ की कोरोना संक्रमण सकिए जसरी मानिस हिँडेका छन्। दैनिक व्यवहार चलाउन सजिलो बनाउन मात्र पो लकडाउन खुकुलो बनाएको हो। यस्तो कुरा सबैले नबुझे काठमाडौंमा पनि कोराना संक्रमण बढ्ने हो की भन्ने लागेको छ।
कोरोना बढ्दै गए मेरो विद्यालय कहिले निरन्तर होला? स्कुलका ती दिन कहिले आउला सोचिरहेको छु।
(प्रज्वल शाही विद्या संस्कार स्कुल, जोरपाटी काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)