सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सेतोपाटी केटाकेटीका कुरा स्तम्भमा यो मेरो दोस्रो लेख हो। यसअघि जेठ १५ मा मेरो पहिलो लेख प्रकाशित भएको थियो। हामी बालबालिकाका लेख रचनालाई स्थान दिएकोमा नेपालको डिजिटल पत्रिका सेतोपाटीलाई धेरै धन्यवाद दिन चाहन्छु। यसबाट हामीले नेपाली भाषा सिक्ने र लेख्ने अवसर पाएका छौं।
म बंगलादेशको ढाकामा बस्छु। बंगलादेशमा लकडाउन भएको तीन महिना पुग्न लागेको छ। यस अवधिमा मैले अनलाइनबाट सम्पूर्ण कक्षा लिएँ। मैले कक्षा ४ सम्म सुकेधाराको बाग्मती उच्च माध्यमिक विद्यालयमा पढेको हुँ। अहिले बंगलादेशको ढाकामा मेरो कक्षा ५ को पढाइ पूरा भएको छ। रिजल्टको प्रतीक्षामा छु।
मैले पढ्ने अन्तर्राष्ट्रिय विद्यालय भएकाले यसका सम्पूर्ण कक्षाहरू अङ्ग्रेजी भाषामा हुन्छन्। भाषा कक्षामा अङ्ग्रेजीबाहेक फ्रेन्च र बाङ्लाको पढाइ हुन्छ। विद्यालयमा मैले नेपाली भाषा पढ्न पाउँदिन। मैले कक्षा ४ सम्म विद्यालयमा मेरो नेपाली किताब पढेँ। बंगलादेश आएपछि मैले विद्यालयमा नेपाली पढ्न नपाएपछि आफैं आफ्नो भाषा पढ्नुपर्छ भन्ने लाग्यो। तीन वर्षपछि नेपाल फर्किनु छ। त्यसपछि मैले नेपालको विद्यालयमा पढ्नुपर्छ। त्यसैले मलाई नेपालको विद्यालयमा पढ्न गाह्रो हुने कुराले बेला बेला सताउँछ। यो बारेमा बाबा, आमा, दिदी र मेरो बिचमा पनि पटक पटक छलफल हुने गरेको छ।
नेपाली भाषामा म कसरी राम्रो हुने भन्ने कुरामा हामी माझ छलफल हुँदै थियो। हामीले ७ र ८ को नेपाली किताब मात्र ल्याएका थियौँ। बाबाले इ-पुस्तकालयमा नेपालका विद्यालयस्तरका सबै पाठ्यपुस्तक रहेको कुरा पत्ता लगाउनुभयो। त्यति मात्र होइन कक्षा ५ को मेरो नेपाली किताब आइप्याडमा डाउनलोड गरिदिनुभयो। मलाई 'के खोज्छस् आँखो' भने झैं भयो। डिजिटल पढ्दा अक्षर केरमेट भएर नबुझिने चिन्ता नहुने र रङ्गिन चित्रहरू पनि। कति राम्रो पढ्न मन लाग्ने किताब।
त्यसपछि मैले प्रत्येक रात सुत्नुअघि एक घण्टा नियमित आमासँग कक्षा ५ को मेरो नेपाली पढ्न थाले। किताब पढिसकेँ। त्यसपछि प्रश्न-उत्तर, शब्द-अर्थ र व्याकरण पनि पढेँ। यसले मलाई मेरो स्तरअनुसारको नेपाली भाषा, शब्द, संस्कृति र अनुशासन जान्न सजिलो भयो। नेपालीका किताब पढ्दा मलाई नेपाल गएझैँ हुन्छ। नेपालको संस्कृति भुल्न दिँदैन। अझ यसमा भएका विभिन्न कविता र कथाले हामीमा नेपालीपनको सञ्चार नै गरिदिन्छ।
कक्षा ५ को नेपाली किताबमा कविशिरोमणि लेखनाथ पौड्यालले लेख्नुभएको नैतिक दृष्टान्त कविताका केही पङ्क्ति मैले कण्ठस्थ पारेको छु। यसको भाव पनि बुझेको छु। आफ्नो जीवनमा लागू गर्ने सङ्कल्प पनि गरेको छु। मलाई सारै राम्रो लागेका पङ्क्तिहरू निम्न छन्।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ।
दूध पान गरी सर्प खालि विष बगाउँछ।।
आहा! कस्तो राम्रो भावको कविता। मलाई यो कविता किन मन पर्छ भने यसको प्रथम पङ्क्तिमा अति राम्रो कुरा छ र दोस्रो पङ्क्तिमा त्यसै कुराको उदाहरण छ। यो कविता पूरै पढ्यो र राम्ररी मनन गर्यो भने यसले हाम्रो जीवन नै बदलिदिन्छ। कवितामा धेरै ठूलो शक्ति हुँदो रहेछ भन्ने मैले थाहा पाएँ। यस्तै कविताबाट हामीलाई नैतिक शिक्षा पनि प्राप्त भइरहेको छ। हामीले जति जाने पनि नैतिक शिक्षा र अनुशासन बुझ्न सकिएन भने हामी असल बन्न सक्दैनौं। त्यसैले यस्ता कुराहरू मलाई पढ्न धेरै राम्रो लाग्छ।
हामी संसारको जुन कुनामा बसे पनि हामीले नेपाली भाषा र संस्कृति भुल्नु हुँदैन। आफ्नो भाषामा पढ्न र लेख्न नसके हामीले आफ्नो देशलाई बुझ्न सक्दैनौं। अरूले भनेको कुराभन्दा आफूले आफ्नै भाषामा पढेर प्राप्त गरेको ज्ञान धेरै राम्रो हुन्छ। विदेशमा बसे पनि समय मिलाएर आफ्नो भाषा बाबा, आमा, दिदी र दाइसँग पढौं। पक्कै पनि यो हामीलाई भविष्यमा काम लाग्छ।
यस फुर्सदको समयमा कम्प्युटरमा गेम खेलेर वा मोबाइल फोनमा खेलेर मात्र समय खेर नफालौं। नेपालमा बस्ने बालबालिकाले नेपाली भाषा पढिरहनु भएकै छ। विदेशमा बस्ने हामी बालबालिकाले पनि आफ्नो भाषा र संस्कृतिको बारेमा पढौं। भोलिका लागि सक्षम नागरिक बन्न आफूलाई तयार राखौं। नेपाली भाषा र संस्कृतिको जगेर्ना गरौं।
अन्त्यमा, घरमा सुरक्षित बसौं। नेपाली भाषा र संस्कृतिका किताब पढौं भनेर बिदा लिन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)