सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गत चैत ११ गतेबाट गरिँदै आएको लकडाउन पनि झन्डै तीन महिना पुग्न लागिसकेकाे छ। अहिले लकडाउन खुकुलो बनाएसँगै त्रास झन् बढेको छ।
सुरूमा त देशमा एक/दुई जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। बिस्तारै कोरोनाको महामारीको अन्त्य होला नि भन्ने आशा मनमा थियो। तर बिडम्बना, आजकल दिन प्रतिदिन बढ्दो कोरोना संक्रमणसँगै देशमा ८ हजार बढी कोरोना संक्रमित भइसकेको छ। कतिको त मृत्यु पनि भइसकेको र दिनदिनै सयौं संक्रमण देखिएको अवस्थामा पक्कै पनि सशंकित हुनु स्वाभाविक पनि हो।
लकडाउन खुकुलो भएर अन्य क्षेत्रहरू खुले पनि शैक्षिक संस्था बन्द भएकाले म जस्ता लाखौं बालबालिकाको घरभित्रै दिनहरू बितिरहेका छन्। घरबाहिर अनावश्यक निस्किनु पनि भएन। घर बसे पनि अनलाइन वा दूरशिक्षा प्रणालीमार्फत पढाइलाई म जस्ता बालबालिकाले असार १ गतेदेखि निरन्तरता दिइरहेका छन्। घरभित्र बसिराख्दा हामी जोकोहीलाई दिक्क लाग्नु कुनै नौलो विषय होइन।
हामीले आफूलाई सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउने हो भने सजिलै दिनहरू बिताउन सक्छौं। हामी डराएर मात्र बस्नु हुँदैन घरमै बसे पनि समयको सदुपयोग गर्नु पर्छ। सचेत र सजग पनि अवस्य रहनुपर्छ। बाहिर निस्कँदा मास्क र स्यानिटाइजरको प्रयोग र समयसमयमा साबुनपानीले हात धुने जस्ता अपरिहार्य कुराको पालना त सबैले गर्नुपर्छ।
कसैलाई सिर्जनात्मक क्रियाकलापका बारेमा जिज्ञासा जाग्न सक्छ। त्यस्ता क्रियाकलाप भन्नाले आफूलाई मनपर्ने कुनै विषयमा आफ्नो समय सिर्जनात्मक रूपमा बिताउनु हो भन्ने म ठान्छु। मैले पनि यस महामारीको समयमा विभिन्न अनलाइन कार्यक्रममा सहभागी भएर आफ्नो समय बिताइरहेकी छु। अनलाइन पत्रिकामा आफ्ना लेख लेख्दै, अनलाइन वादविवादमा भाग लिँदै, विभिन्न विषयका अनालाइन कोर्स गर्दै मेरो समय बितिरहेको छ।
कोरोना कहरमा नयाँ प्रविधि सिक्ने मेरो रहर भने पक्कै पूरा भएको छ। परिवारसँग बसेर पुराना चलचित्र हेरेर मनोरञ्जन गर्ने अवसर पनि महामारीले जुटाइदिएकाे छ। म जस्तै धेरै जनाले आफ्नो समय यस्तै क्रियाकलापमा बिताइरहनु भएको छ होला। हैन र?
अन्त्यमा , बढ्दो कोरोनाको प्रकोपसँगै बढ्दै छ डर पनि। त्यसैले, महामारीको अवस्था रहुन्जेल सुरक्षित रूपमा घरभित्र बस्नुबाहेक कुनै विकल्प हामीसँग छैन। रोग लागेपछि पछुताउनुभन्दा अहिले नै सतर्क रहनु है।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)