सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
२०७६ चैत ९ गते आइतबार म मेरो आमासँग काठमाडौंबाट मामाघर आएँ। मेरो मामाघर तनहूँको म्याग्दे १ गुणादीमा पर्छ। हामी यति अवधिसम्म बस्नुपर्छ भन्ने लागेको थिएन।
विद्यालय बन्द भएपछि एक हप्ताको लागि आएको हौँ। यहाँ बस्दा ८० दिन भन्दा बढीको लकडाउनमा परियो। यहाँ त सबै सुविधा छ। इन्टरनेट घरमै छ, वरपर मामा, साथीहरू छन्। घरमै बुवा सानीआमाका छोराछोरी छन्। मलाई भने घरको यादले सताइरहन्छ। घरका दादादिदीको याद आइरहन्छ।
घरि टिभि हेर्छु, घरि ट्याब चलाउछु। घरि बाहिर खेल्छु। मेरो मन किन आत्तिरहन्छ?
लकडाउनले गर्दा मामाघरमा यति लामो समय बस्न पाइएको छ। न पढाइको पिर छ। दूध, दही, घ्यू, अर्गानिक तरकारी, आफ्नै खेतको धानको चामल सबै खान पाइएको छ। मकै पाक्न थालेका छन्। कहिले पोलेर, कहिले उसिनेर, कहिले भुटेर खान पाइएको छ। मैले जे भने आमाले त्यही पकाइदिनु भएको छ। कहिले रसबरी बनाउँछौ, कहिले कुराउनी, कहिले समाेसा, कहिले चटपट, आदि कुरा बनाएर खाएका छौ। पौडी खेल्न, मौरीको घारबाट आफैँ मह काढेर ताजा मह खान पाएको छु। तर म कहिले घर जाने होला भनेर आत्तिएको छु।
मेरो कपाल बढेको छ तर काट्न पनि मन लागेको छैन। यहाँको साथीहरूसँग किताब मागेर ल्याएको छु। त्यही घरीघरी पढ्छु, लेख्छु, हस्तलेखन गर्छु। मेरो दैनिकी यस्तै छ। सबै कुरा कहिले ठीक हुन्छ तर कहिले साथीहरूसँग भेट्न पाइन्छ? कहिले पढ्न पाइन्छ? समाचार सुन्दा पनि अत्यास लागेर आउँछ।
(अर्पण भट्टराई फ्लोरोसेन्ट स्कुल, काठमाडौंमा कक्षा ६ मा अध्ययनत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)