सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसको कारणले हाम्रो जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ। आज मेरो देश लकडाउनमा छ। पिँजडाको चराजस्तै हामी नेपाली थुनिन बाध्य छौं।
रोगको चिन्ता, भोकको चिन्ता र हामी विद्यार्थीलाई त झन् पढाइको चिन्ताले यो कलिलो मगजमा अमिट छाप पारेको छ। विद्यालयको आँगन, गुरूगुरूआमाको साथ र साथीभाइको मायालाई अनलाइन कक्षाले प्रतिस्थापन कदापी गर्न सक्दैन। तर नहुनुभन्दा भएकै बेस भनेझैं शिक्षा आर्जनको प्रक्रियालाई आज इन्टरनेटले सहयोग पुर्याइरहेको छ।
केही महिनाअगाडिसम्म म बिहान सबेरै उठेर विद्यालयको पाठ तयार गरेर, झोलामा किताब-कापी मिलाएर दस बजे विद्यालय पुग्ने तयारी गर्थे। हरेक चालीस मिनेटमा कक्षा सकिँदा अनि पिरियडपिच्छे पाले दाइले घन्टी बजाउँदा मेरो मन चार कहिले बज्ला भनेर निकै उत्सुक हुन्थ्यो। आमाले टिफिन बक्समा के खाजा राखिदिनुभयो होला भनेर एघार बजेदेखि म खाजाको घण्टी पर्खिरहन्थें। चार बजेपछि घर आएर पुनः खाजा खाएर गृहकार्य गर्थें। अनि चौरतिर खेल्न निस्कन्थेँ। आजकल मेरो दैनिकी बदलिएको छ।
विद्यालय जानु पर्दैन भन्ने कुरा मेरो मस्तिष्कमा छापिएर होला, हिजोआज म सबेरै उठ्न सक्दिनँ। किताब-कापी र कलमको सट्टा मेरो हातमा मोबाइल र ल्यापटपले अधीन जमाउन थालेका छन्। अस्तिसम्म मोबाइल चलाउँदा गाली गर्ने मेरी आमा आज मलाई छिटोछिटो ल्यापटपको अगाडि बस्न लगाउनु हुन्छ। विद्यालयहरू ज्ञानको भोकलाई अनलाइन कक्षामार्फत मेटाउन उत्सुक देखिन्छन्।
विद्यार्थीको मानसपटललाई अनि स्वास्थलाई भने अनलाइन कक्षा पाच्य देखिँदैन। केही दिनको अनलाइन कक्षाको बसाइपछि मैले आँखा, दिमाग अनि सिंगाे शरीर नै थकित महशुस गरिसकेको छु। किताबका पानापाना पल्टाउनुपर्ने र कलमलाई समाएर कापीमा अक्षरहरू पोख्नुपर्ने मेरा हातहरू आजकल ल्यापटपको किबोर्डमा शब्द पोख्न थालेका छन्।
कुनै विषय पढाउँदा शिक्षकसँग विद्यालयमाझैं दोहोरो वार्ता गर्न सहज नहुँदा ज्ञान आर्जनको प्रक्रिया अधुरो रहेको मैले अनुभव गरेको छु। कहिलेकाहीँ बत्ती र इन्टरनेटको समस्याले कक्षामा समावेश हुन नपाउँदा खिन्न महशुस हुन्छ। यति मात्र होइन, इन्टरनेट र विद्युतीय उपकरणको पहुँचमा नभएका मेरा केही साथी आजको परिस्थितिमा शिक्षाको ज्योतिबाट बन्चित छन्।
विद्यालयमा हुँदा नेपाली विषयमा गुरूआमाले लय हालेर सबैलाई कविता भन्न लगाउनु हुन्थ्यो। आज घरभित्र एक्लै गाउनुपर्दा पढाईप्रतिको उत्सुकता केही पछाडि सरेको छ। जे जस्तो भए पनि विद्यालयले अनलाइन कक्षाबाटै ज्ञान बाँड्न कोशिस गरेको छ। गुरूगुरूआमाहरू हाम्रा निम्ति लागि पर्नु भएको छ। जसोतसो यसैलाई स्वीकार्नु आजको आवश्यकता बनेको छ। हिजो जसरी पंख फिजाउँदै उड्न नसके पनि भोलि पुनः उड्ने आशमा वर्तमानलाई घरै बसी सजाउनु पर्छ।
धन्यवाद।
(विमर्श कंडेल बाल प्रभात बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)